झापा । झापाको गौरादहमा आफ्नै छिमेकीको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । गौरादह-७ तामाङचोक बस्ने ३५ वर्षीया सुमित्रा मुर्मूको छिमेकीको कुटाइबाट मृत्यु भएको हो ।

बुधवार राति ९ बजेको समयमा स्थानीय ४५ वर्षीय मेघराज दर्जीले मुर्मूलाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए । राति मेघराज दर्जीले आफ्नो घरमा चामल चोरिरहेको अवस्थामा मुर्मुले फेला पारेकी थिइन् ।

पक्राउ गर्न खोज्दा चोरीमा संलग्न दर्जीले मुर्मूलाई संवेदनशील अंगहरुमा मुक्का र लात प्रहार गरी घाइते बनाएर भागेका थिए ।
घाइते मुर्मूलाई छिमेकीले आम्दा अस्पताल दमक पुर्‍याएका थिए । उपचारका क्रममा हिजो दिउँसो १ बजे मुर्मूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकका आफन्तहरूले हिजो अस्थायी प्रहरी चौकी जुरोपानीमा उजुरी दिएपछि हत्यामा संलग्न दर्जीलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box