दमक। वामपन्थी, जनवादी कलाकारहरुले शुरु गरेको राष्ट्रका लागि संगीत अभियात्राको टोली झापा आइपुगेको छ । चर्चित जनवादी गायक, गायिक तथा अभिनयकर्ता, नृत्यकारहरु सम्मिलित संगीत अभियात्राको नेतृत्व वरिष्ठ जनवादी गायक जीवन शर्माले गरेका छन ।
मंगलबार साँझ दमक आइपुगेको सो टोलीले दमकको सी भान्सा घरमा वामपन्थी एकतामा जोड दिँदै जनजागरणात्मक गीत तथा अभिनय प्रस्तुत गरेको हो । गायक ओम श्रेष्ठ, उदय श्रेष्ठ, उदय रिमाल, नारायण शर्मा, उदय रिजाल लगायत एक दर्जन बढी कलाकारहरुले जनवादी गीत संगित प्रस्तुत गरेका छन ।
सो टोलीले आउँदो २५ चैतमा विर्तामोडमा बृहत कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रममा जनाइयो । त्यसअघि सो टोलीले सुखानी स्मृति पार्क, इलामको फिक्कल लगायतका ठाउँमा पनि कार्यक्रम गर्ने जनाइएको छ । गत चैत ४ गते सुदुरपश्चिमको धनगढीबाट शुरु भएको सो संगित अभियात्रा आगामी ५ वैशाखमा काठमाडौंमा पुगेर समापन हुने जनाइएको छ । समापनमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्र विक्रम चन्द विप्लव लगायतका कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुको समेत उपस्थिती रहने कार्यक्रम रहेको नेकपाका केन्द्रिय सदस्य सुमनसिंह सी ले जानकारी दिए ।

Facebook Comments Box