Purbi Garjan

अनुभूतिका पानामा प्युठान 

Advertisement

–दीपेन्द्रसिंह थापा

उत्सुकताको आभास मात्र पनि आफैँमा रमाइलो कुरा । नपुगेको, नघुमेको ठाउँमा हुने कार्यक्रमको निम्तो कसलाई पो विशेष नलाग्ला र ? छुट्टै आकर्षणले रङ्गिइदिन्छ मन । यस्ता अवसरलाई सकेसम्म नगुमाउन पाए हुन्थ्यो लाग्छ मलाई पनि । साहित्य परिषद् प्युठानको निमन्त्रणा यस कारण विशेष थियो मेरा लागि । हत्तपत्त जाने निर्णय गरिहालेँ । 

 बडादसैँको पूर्व सन्ध्या । काठमाडौँबाट रोल्पाका लागि हिँडेको रात्रि बसमा खचाखच थिए यात्रु । पर्वको रमझमले तानेको मन । कसको अनुहारमा झल्किएको थिएन र घर पुग्ने हतारो ? उनीहरूका संवाद र सुसाइ नै अर्कै । सबै सबै देखिन्थे आफ्नै आफ्नै आत्तुरीमा, आफ्नै आफ्नै उमङ्गमा । उज्याला अनुहारहरूले भरिभराउ यही बसमा चढेर म प्युठानतर्फ हुइँकिएँ, असोज ९ गते साँझ । मेरो सन्दर्भमा यो साहित्यिक कार्यक्रम त केबल एउटा बहाना । मुख्य ध्येय घुम्नु नै थियो । कारण भनिसकेँ, मेरो यो पहिलो प्युठान यात्रा । 

 त्यही कार्यक्रममा सहभागी हुन हिँडेका थिए, मजस्तै अन्य केही निम्तालुहरू पनि । यस्ता साथीहरू कोही काठमाडौँबाट र कोही मुग्लिङबाट जोडिएका थिए यात्रामा । मेलापात, यात्रा, उत्सव, जहाँ पनि परिचित पात्रहरू भेटिनु आफैँमा सुखद कुरा । यस्तोमा थपिँदै जान्छ अझै असली मज्जाको रङ । समीर सिंह, भावेश भुमरी र आविष्कार कला । यी तिनै जना प्युठानी प्रतिभाको साथ पाउनु एउटा अर्को संयोग । उनीहरूले यात्रामा राम्रो सहजीकरण गरे, आयोजकका तर्फबाट ।

 लामो दुरीको यात्रा । हुइँकिरहन्छ बस एकतमासले । एकरसताको कैदी भइरहँदा कसलाई पो पट्यार नलाग्ला र ? समय कटाउने बहाना नै सही, बेलाबेलामा हामी मज्जैले गफिन्छौँ । ठट्टा र हाँसो त झन् पट्यार हटाउने ओखती । जे होस्, रुचि मिल्ने साथीहरू सँगै हुँदा लामो यात्रा पनि पट्यारलाग्दो नहुने रहेछ ।

 दाङको भालुबाङ, त्यसको केही पर ददेरी । हो, त्यहीँबाट सुरु हुन्छ प्युठानी परिदृश्य । रातभर निरन्तर यात्रा । बिहानतिर मात्र हामीले प्युठानको भूमिलाई स्पर्श गर्न सकेका थियौँ । हाम्रो गन्तव्य उन्मुख भूगोलको एकापट्टि मोहडा । त्यसको पनि अलिकति साक्षात्कार । तर अनायासै मनमा उज्यालोको आभास छिरिसकेको थियो । बिहानी घामका कलिला किरणहरूसँगै प्युठानी परिवेशमा रम्न थाले आँखाहरू । रातभरिको यात्राको थकान पनि सायद गायब हुने कोसिसमा थियो । प्रकृतिको कञ्चन सुगन्ध नै त्यस्तै । बाङ्गे साल भन्ने ठाउँ कटेपछि माडीको तिरैतिर बसको यात्रा अगाडि बढ्दै गयो । प्राकृतिक दृश्यहरूमा नजरलाई एकाकार गराउँदै गन्तव्यतर्फ गतिशील भइरह्यो यात्रा ।

 स्वर्गद्वारी, प्रसिद्ध एक पर्यटकीय गन्तव्य । यसको फेदीतिर रहेछ भिङ्ग्री बजार । आउजाउ गर्ने यात्रु र स्थानीयलाई खाना खाजा खुवाउन तल्लीन सानो सानो बजार । रोल्पा जाने बसबाट बिहान १० बजे यहीँ ओर्लियौँ हामी । प्युठान साहित्य परिषद्का अध्यक्ष नवराज आचार्य हामीलाई पर्खिँदै रहेछन् । उनले खानपिन र केही समय आराम गर्ने प्रबन्ध मिलाए, त्यहीँको एक होटेलमा । स्वस्थ, स्वादिष्ट खाना अनि स्वच्छ, शीतल परिवेशको सुस्ताइ । तन र मन दुबैमा महसुस भयो, भरपुर ताजापन । त्यति भएपछि घुमफिरमा किन ढिलाइ ? हामी लाग्यौँ सारीतर्फ ।

 स्थानीय क्षेत्रमा गुड्ने बसबाट हामी गयौँ, अलि अगाडिसम्म । नजिकै देखियो, आफ्नै निरन्तरताको लयमा मग्न मस्त माडी नदी । उसको सङ्गीतमा अलिअलि ज्यान हल्लियो झोलुङ्गे पुलबाट पारि तर्दा । एकै छिन हिँडेपछि हामी एउटा रमाइलो ठाउँमा पुग्यौँ । त्यो ठाउँको नाम सारी । आहा, कस्तो गज्जबको भू बनोट दृश्य ! कलात्मक आकृतिका माटोका ढिस्काहरू रहेछन् त्यहाँ, अनगिन्ती । मूर्त, अमूर्त अनेक बुट्टा र कलाले सजिएका । कुनै कुनै शिव लिङ्गजस्ता, कुनै कुनै चाहिँ घोप्टो पारी राखिएका ठुला ठुला थुन्से, डोका र सोलीजस्ता । टाढाबाट झट्ट हेर्दा मन्दिरै मन्दिरका लहरजस्ता देखिने । रातो माटोका ढिस्काढिस्किीभित्र धेरै ओटा खोच र सुरुङहरू पनि बनेका रहेछन् । एरात्तै, प्रकृतिका कलाकारिता पनि कस्ता कस्ता ! यहाँका दृश्यले रोचक अनुभूति गराए । 

 पेसाले इन्जिनियर पनि हुन्, युवा स्रष्टा आविष्कार कला । उनीसँगै थिएँ म । कुराकानीका क्रममा उनीसँग पनि सारीको विषयमा सोधेँ मैले । ‘माटोलाई पानीले क्षयीकरण गर्दा अनौठो किसिमले बनेका भू आकृतिहरू हुन् यी’, उनले भने, ‘पछिल्लो समय यसलाई हेर्न आउने पर्यटकहरू बढ्न थालेका छन् । यस्तो प्राकृतिक बनोटकै कारण यो ठाउँ प्युठानको एउटा पर्यटकीय गन्तव्यका रूपमा चिनिन थालेको छ ।’ 

 मनको एउटा छेउमा प्रश्न उब्जिन्छ, यी माटोका आकृतिहरूलाई वर्षौंवर्षपछि पनि यस्तै रूपमा देख्न पाइएला कि नपाइएला ? समय समयमा हुने पानीको क्षयीकरणको असर त हाम्रो अनुमानभन्दा टाढाका कुरा । के थाहा, भविष्यमा यी आकृति अझै फरक रूपमा पो देखिएलान् कि ? अथवा, यी आकृति नै हराएर यहाँको हालको परिचय नै मेटिन पो सक्छ कि ? रहस्यकै गर्भमा छ, यी भू बनोटका भविष्य । हुन त परिवर्तनशीलता नै समयको विशेषता । कसैले चाहेर वा नचाहेर रोकिने भए पो । 

 सारीको सौन्दर्यमा भुल्दा दिन ढल्किन लागेको पत्तो पाइएन । आकाशमा एक जुवा घाम बाँकी थियो होला, हामी त्यहाँबाट फर्किँदा । यो कलामय भू बनोट दृश्य अवलोकनपछि स्वर्गद्वारीतिर लागियो । मनोरम दृश्यमा रम्ने र त्यहीँको धर्मशालामा एक रात बिताउने व्यवस्था मिलाएको रहेछ आयोजक संस्थाले । प्युठानका केही साहित्यकार र साहित्यानुरागीहरू पनि भेटिए भिङ्ग्रीमा । त्यहाँबाट १४ किलोमिटर उकालो बाटो यात्रा गर्नुपर्ने स्वर्गद्वारी पुग्न । त्यसका लागि हामी बसमा अगाडि बढ्यौं । बसको यात्रा त्यति सहज रहेनछ । केही पर पुगेपछि जिपबाट यात्रा गर्नुपर्ने भयो । रक्तिम परिवारका दुई जना कलाकारहरू पनि थिए म चढेको जिपमा । उहाँहरूले गरिब, मजदुरका जीवन भोगाइ र उन्मुक्तिका जोसिला गीत गाउँदा चालकले पनि जोसिएर गाडी बत्ताएको भान हुँदै थियो । मनमा लाग्यो, यस्ता गीत गाइएको र त्यस्तै विचारको जगमा राजनीति गरिएको पनि दशकौँ बितिसक्यो तर गरिखाने जनताका हालत चाहिँ आज पनि किन ज्युँका त्युँ ?

 गीतको रन्कोमा रम्दै उकाली र घुम्तीहरू पार भए । झमक्क अँध्यारो हुँदा स्वर्गद्वारीको डाँडामा पुगियो । सिँढीहरूबाट केही बेर उकालो चढ्न अझै बाँकी नै थियो । त्यहाँको दृश्यमा रमाउँदै २ हजार १ सय २१ मिटर उचाइमा रहेको स्वर्गद्वारी आश्रममा पुगियो । त्यहाँ पुगेपछि झनै चङ्गा भयो मन । 

 सात्त्विक तर स्वादिष्ट । यही नै स्वर्गद्वारी आश्रमको भोजनको विशेषता । आनन्दले पेट पूजा गरियो, आश्रममै । त्यहाँका धर्मशालामा सुत्ने व्यवस्था पनि रहेछ । सामूहिक सुताइका लागि त्यहीँको एउटा ठुलो कोठा रोज्यौँ । निद्रा नपरुन्जेल गफ त चल्ने नै भयो । प्युठानका पूर्व शिक्षक देवेन्द्रकुमार रिजाल पनि हामीसँगै थिए, त्यस रात । गफ गर्न सिपालु मान्छे । कुराको प्रसङ्ग जोड्दै झुसिल्किराबाट पुतली भएपछि धरातल बिर्सिएका केही राजनीतिकर्मीका बेथितिमाथि दोहोलो काढे ।  जाने भ्याएसम्म हास्यव्यङ्ग्यका बिम्ब पस्किन बाँकी राखेनन् उनले । नहाँस्ने को पो थिए र त्यहाँ ? सबै पेट मिची मिची हाँसे, उनका कुराले । गुञ्जायमान बनिरह्यो कोठा निकै बेर । गफमा भुल्दाभुल्दै राती कति बेला निदाइयो, पत्तै पाइएन । 

 बिहानै उठेर चारैतिरका दृश्यलाई अवलोकन गर्न व्यस्त भएँ म । आँखै अघिल्तिर टल्किरहने सेता हिमाल । डाँडाकाँडा र हरिया जङ्गल सबै छ्याङ्ग देखिने । मनमा लाग्यो, प्रकृतिको यही सौन्दर्यबाट प्रभावित भएर नै महाप्रभु नामका एक तपस्वी यहाँ आएर बसेका थिए होलान् । खासमा उनले तपस्या स्थलका रूपमा रोजेपछि थप परिचित बनेको हो, यो ठाउँ । 

 स्वर्गद्वारी डाँडाबाट केही पर एउटा गुफा रहेछ । बिहान हामी डुल्दै पुग्यौँ त्यहाँ पनि । हरियालीयुक्त परिवेश । चाँप, लालीगुराँस, बाँझ आदिका रूखहरू जताततै । रूखका बोटहरू छिचोलेर नजर डुलाइरहेँ केही बेर । जताततै रमणीय दृश्य । यस्ता डाँडाका टुप्पामा पुग्दा कसको पो मन नरमाउला र ?

 प्रभातकालीन घुमफिर र चियापानपछि बिहान १० बजे स्वर्गद्वारीकै सभा हलमा प्युठान साहित्य उत्सवको उद्घाटन भयो । गीतसङ्गीत, कला, साहित्यका विविध रङ र रसहरूको इन्द्रेणी । यसैले त उत्सवमय बन्ने हो, कार्यक्रम । हेमराज आश्रम र लक्ष्मी रिजालका गीतले मन्त्रमुग्ध बनायो । निकै मिहिन भावमा प्रस्तुत भएका थिए गीति बिम्ब । काठमाडौँ, दाङ, रोल्पाबाट आएका र स्थानीय केही साहित्यकारहरूबाट रचना वाचन भए । स्वर्गद्वारी आश्रमका बटुकहरूले पनि सुनाए आफ्ना कविताका लय । नेपाली साहित्यका गुरु द्वय गोपीन्द्र पौडेल र गितु गिरी, साहित्यकार प्रमोद प्रधानलगायतले पनि साहित्यका विविध पक्षबारे बोले । एकदम सुन्दर कुरा । लाग्छ, सबै सबैतिर यसै गरी मौलाउँदै जानुपर्छ प्राज्ञिक उन्नयनका आयाम । 

 कार्यक्रम तालिकामा भोलिपल्टको कार्यक्रम थियो, ओखरकोटमा । त्यसका लागि स्वर्गद्वारीको कार्यक्रम सकेर हामी बास बस्न मच्छीतिर लाग्यौँ । हरिया जङ्गल र पहाड । खोला अनि बेसीतिरका उर्वर फाँट । अझ झिमरुक खोलाको त प्युठानमा आफ्नै जीवन्त चिनारी नै छ । खेतका गराहरूमा पहेँलपुर भएर झुलिरहेका धानका बाला त्यसको एउटा आकर्षक प्रमाण । यस्तै यस्तै दृश्यहरूमा आँखाहरू नाचिरहे यात्रामा । 

 कहिलेकाहीँ मलाई आफ्नै जिन्दगीको यात्राजस्तै लाग्छ, पहाडी बाटोको यात्रा । कतै उकालो, कतै ओरालो । कतै अप्ठ्यारा भू बनोट, कतै सजिला सतह । भेटिइरहने साना ठुला घुम्तीहरू त्यस्तै । 

 पक्की र कच्ची दुबै खाले रोडका यात्राको अनुभव गराउँदै बसले हामीलाई मच्छी पुर्यायो , झम्के साँझ हुनै लाग्दा ।

 मच्छीमा हामी फरक फरक घरमा बाँडिनुपर्ने भयो, बास बस्न । संयोगले म एक भद्र मानिसको घरमा परेछु । उनको नाम राजेन्द्रविक्रम ंिसंह । कुराकानीका क्रममा थाहा भयो, नेता मोहनविक्रम सिंहका आठ दाजुभाइमध्ये उनी सातौँ नम्बरका भाइ । बाफरे, आठ जना दाजुभाइ ! जेठा, माइला, साइँला, काइँला, ठाइँला, अन्तरे, जन्तरे र कान्छा । यसमध्ये उनी जन्तरे । अझ दिदीबहिनी कति होलान् ? यति धेरै सन्तान जन्माई हुर्काइ गर्नु अबका मान्छेका लागि सम्भव पनि नहोला कि जस्तो लाग्छ मलाई । यस्ता आमाबुबाका कथा व्यथा सुन्दा अनौठो लाग्ने समय छ अहिले । 

 पारिवारिक आत्मीयताको आभास पाइयो, मच्छीको सिंह निवासमा । केही बेर व्यक्तिगत जीवनका उकाली ओरालीसम्मै पुगेर कुराकानी गरियो । गजबसँग भावनाको नाता जोडियो बास बस्न पुगेको यो घरमा । छोटै भए पनि बिर्सन नसकिने कुरा भए, यी जन्तरे काकासँग । 

 प्युठान पुगेको तेस्रो दिन । निलो आकाशमुनि छरिँदै थिए घामका कलिला किरण । बिहान सात बजे बसमा चढेर मच्छीबाट ढाँड, आहाल खोला हुँदै हामी ओखरकोटको उकालो चढ्यौँ । सात किलो मिटरको उकालो र घुम्ती बाटो । डाँडाकाँडा, हरियाली र गाउँ बस्ती नियाल्दै पुगियो ओखरकोटको प्रवेशद्वारमा । धेरै ओटा सिँढीहरू पार गरेपछि टुप्पोमा केही समतल भाग भेटियो । त्यहीँ रहेछ, एउटा निकै पुरानो इतिहासको साक्षी ओखरकोट ।

रमाइला दृश्यावलोकनसँगै केही बेर साङ्गीतिक र साहित्यिक कार्यक्रम भयो त्यहाँ । त्यो अग्लो र सुन्दर थुम्को आफैँ एउटा भव्य काव्यजस्तो लाग्यो मलाई । गायकहरूले गाए जागरणका गीत । कविहरूले सुसेले कविताका बिम्ब । यति भएपछि सायद सम्बोधन पुग्यो कि, डाँडाको त्यो जिउँदो जाग्दो उचाइलाई ? 

 भुरेटाकुरे राजाहरूका समयका कुरा । यो कोटमा राजाको दरबार थियो रे । पछि परस घर्ती क्षेत्रीले हमला गरी यो राज्य कब्जा गरेको भन्ने सुन्न पाइयो, सिद्धिमान जिसीबाट । उनी यसै क्षेत्रका एक ज्येष्ठ नागरिक । त्यही समयको भनेर कोटमा सुरक्षित राखिएका केही हतियार अझै देख्न सकिन्छ । 

 त्यो भव्य थुम्कोबाट फर्किने क्रममा ढाँडमा रोकियौँ हामी, केही बेर । ढाँड अर्थात् ढुङ्गैढुङ्गाले भरिएको ठाउँ । अनेक आकार र आकृतिका ढुङ्गाहरू । ‘रक गार्डेन’ भन्ने गरिन्छ अचेल यस्ता ठाउँलाई । प्रकृतिका सिर्जना न हुन् । कहिलेकाहीँ यस्ता फरक पृष्ठ पढेर पनि त रमाउन सकिन्छ । 

 ओखरकोटबाट ओर्लियौँ फेरि मच्छीमा नै । ढिलासुस्ती गरिएन त्यहाँ, खाना खाउन्जेल मात्र रोकियौँ । त्यसै दिन पुग्नु थियो खलङ्गा । मच्छीबाट बिदा भई त्यतै लागियो । लगभग डेढ घण्टाको बसको यात्रा । हामी प्युठानको सदरमुकाम खलङ्गा पुग्दा दिउँसोको ४ बजिसकेको थियो । जिल्ला समन्वय समिति, प्युठानका प्रमुख धर्मबहादुर जिसीलगायत केही खलङ्गावासीबाट त्यहाँ पुगेका हामी सबैलाई स्वागत गरियो । 

 पन्चै बाजा र लाखे नाच । रमाइला गीत र नृत्य । खलङ्गाको कार्यक्रममा स्थानीयले सक्दो सांस्कृतिक रङ र रौनक देखाए । पाहुना बनेर पुगेकाहरूको प्रस्तुति त छँदै थियो । 

 दिन ढल्किसकेको थियो, कार्यक्रम सकिँदा । कहाँ जान भ्याइनु अन्त ? त्यस रात खलङ्गाकै होटेलमा बिताइयो । 

 खलङ्गा पुग्नु र मल्ल रानी नघुमी फर्किनु ! के यो सुहाउने कुरा हो र ? अहँ, होइन । भोलिपल्ट बिहान सबेरै उठियो । नउठेकालाई उठाइयो । सुर कसिसकेपछि केको बियाँलो ? फटाफट अघि सारिहाल्यौँ पाइलाहरू ।

 जनश्रुतिमा बाँचेकी पात्र, मल्ल रानी । प्राचीन समयमा उनकै दरबार रहेको रमणीय थुम्को छ, खलङ्गा माथितिर । उकालो लाग्दै गयौँ हामी । अहिले यो ठाउँ मल्ल रानी डाँडाका नामले चिनिन्छ । त्यही डाँडाको टुप्पोलाई ताकेर हामी हिँड्दै गयौँ । 

 खलङ्गाबाट करिब ४० मिनेटको हिँडाइपछि पुगियो, थुम्काथुम्कीकी रानीजस्तै मल्ल रानीमा । नामजस्तै सुन्दर ठाम । प्युठानको एउटा पर्यटकीय गन्तव्यको चिनारी बनाएको छ यो थुम्कोले पनि । टुप्पातिर केही समतल भाग पनि रहेछन्, साना साना घाँसे मैदानजस्ता । यहाँबाट धेरै डाँडाकाँडा र बेसीका भूभाग मज्जाले देखिँदा रहेछन् । स्वच्छ, शान्त र शीतल परिवेश । सिर्र सिर्र बहने हावा । बिहानै यहाँ डुल्दा र दृश्यावलोकन गर्दा मनमा गहिरो आनन्द महसुस भयो । 

 मल्ल रानी नजिकैको एउटा गाउँ मरन्ठाना । साहित्यकार भावेश भुमरीको गाउँ । हामीलाई प्युठान घुम्न मेलोमेसो मिलाउने आयोजकमध्येकै एक सदस्य पनि हुन्, उनी । आफूm जन्मेहुर्केको गाउँ कसलाई पो प्यारो नलाग्ला र ? घर गाउँ देखाउन र बिहानको खाजा आफ्नै घरमा खुवाउन चाहे उनले । त्यसका लागि उनी हामीभन्दा पहिल्यै पुगेर तयारी गरिसकेका रहेछन् । भोक लागेको बेला खिर नै खाजा । यो त गज्जब कुरा भएन र ? थपी थपी खाइयो खिर र तरकारी । 

 पहाडको माथितिर भए पनि समतल परेका केही भूभाग । उर्वर र हराभरा उस्तै । मान्छेका मनलाई उज्यालो बनाउन अघिल्तिर मुस्कुराइबस्ने हिमाल । रमाइलो लाग्यो मरन्ठनाको परिवेश । 

 केही समय भुमरीको घरको पारिवारिक आत्मीयतामा रमाएपछि हामी झ¥यौँ खलङ्गा । बाग्दुलामा आयोजित हुँदै थियो अन्तिम दिनको कार्यक्रम । त्यहाँ सहभागिता जनाएर त्यसै दिन काठमाडौँ फर्किने योजना हाम्रो । विलम्ब गर्ने कुरै भएन । सिधै लागियो कार्यक्रम स्थलतिर । 

 प्युठानको एक व्यापारिक केन्द्र बाग्दुला । व्यापारिक चहलपहलमै व्यस्त देखिनु उसको विशेषता । बजार नजिकैको एक विद्यालयको प्राङ्गण भने फरक रौनकमा रम्दै थियो, त्यस दिन । नितान्त कवितामय, सङ्गीतमय र नृत्यमय । उल्लास र आकर्षण नै अर्कै । कला साहित्यका पारखीहरू जम्मा भएका थिए, ठाउँ ठाउँबाट । त्यहाँ जिल्ला स्तरीय कविता प्रतियोगिता पनि हुँदै थियो । प्युठानी प्रतिभाहरू कस्सिएका थिए, कविताका रङ र रस पस्कन । दिनैभर बाग्दुला मुस्कुराइरह्यो सिर्जनाका बान्कीहरूमा ।

 कार्यक्रम सकिने बित्तिकै एक निम्तालुको नाताले विनयी भावमा मैले हात जोडेर भनेँ, ‘यस पटकलाई बिदा पाऊँ प्युठान !’ 

 अनुभूतिका पानामा प्युठानको रमाइलो बोकेर म काठमाडौँ फर्किएँ, रात्रि बसमा सर्रसर्र । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आवास कम्पनीलाई मेयरकाे चेतावनी, जग्गा हस्तान्तरण नगरे हस्तक्षेप गरिने

आवास कम्पनीलाई मेयरकाे चेतावनी, जग्गा हस्तान्तरण नगरे हस्तक्षेप गरिने

मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमख गोपालचन्द्र बुढाथोकीले राष्ट्रिय आवास कम्पनीले मेचीनगर क्षेत्रमा रहेको सार्वजनिक प्रयोजनका ...
बीआरआईबारे भ्रम पार्नु हुँदैन : विप्लव

बीआरआईबारे भ्रम पार्नु हुँदैन : विप्लव

शोभराज बराल काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)बारे भ्रम पार्न दिन नहुने ब...
ताप्लेजुङ : पहिरोले तापेथोक बजार जोखिममा

ताप्लेजुङ : पहिरोले तापेथोक बजार जोखिममा

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको तापेथोक बजार माथिबाट झरेको पहिरोका कारण जोखिम परेको छ । बि...
दुबई सडक दुर्घटनामा परी मोरङकी एक युवतीको मृत्यु

दुबई सडक दुर्घटनामा परी मोरङकी एक युवतीको मृत्यु

झापा । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा सडक दुर्घटनामा परी मोरङकी एक युवतीको ज्यान गएको छ । दुबईको अलुकजमा रहेको सर्भ यु कम...