झापा । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ को वडा कार्यालय भवन निर्माण गर्दा चरम लापरबाही गरिएको पाइएको छ ।

बुद्धशान्ति गाउँपालिकाको २ नम्बर वडा कार्यालय निर्माण सम्पन्न भएको २ वर्ष नबित्दै चर्किन थालेपछि भवन निर्माणमा चरम लापरबाही भएको रहस्य बाहिर आएको हो ।

भाडाको भवनमा कार्यालय सञ्चालन गर्दै आइरहेको बुद्धशान्ति गाउँपालिकाको २ नम्बर वडा कार्यालयले अहिले आफ्नै ७० लाखको लागतमा नवनिर्मित एक तले पक्की भवनबाट वडा कार्यालयको सेवा प्रवाह गर्दै आइरहेको छ ।
तर, वडा कार्यालय सञ्चालनमा आएको दुई बर्ष पुरा नहुँदै अहिले चिरा चिरा हुँदैं चर्कीन थालेपछि स्थानीबासीले समेत भवन निर्माण गुणस्तरीय नभएको बताएका छन्,।

स्थानीय स्तरबाटै निर्माण उपभोक्ता समिति गठन गरि उक्त समिति मार्फत निर्माण सम्पन्न गरिएको वडा कार्यालय २०७७ साल असार २९ गते तत्कालीन वडा अध्यक्ष दिलिप कुमार श्रेष्ठ, गाउँपालिका अध्यक्ष रमेश भुजेलसंगै स्थानीय जनप्रतिनिधिहरुको उपस्थितिमा संघिय सांसद् पवित्रा निरौला खरेलले उद्घाटन गरेकी थिइन् ।

तामझामका साथ भव्य समारोहका बिच उद्घाटन गरिएको वडा कार्यालय अहिले चर्कीन थालेपछि ठेकेदार र प्राविधिकको कार्य सम्पादनमा समेत प्रश्न उठेको छ भने कार्यालय भित्र बसेर काम गर्न जोखिम रहेको जनप्रतिनिधिहरुले बताएका छन्,। उनिहरुले पटकपटक सम्बन्धित निकायमा खबरदारी गरेपनि कुनै निकायले पनि छानबिन नगरेको गुनासो गरेका छन्,।

वडा कार्यालयले उपभोक्ता समिति मार्फत भवन बनाउन समिति गठन गरेको थियो । तर, उपभोक्ता समितिले एकमुष्ट भुक्तानी गर्ने गरी बुधबारेका झलेन्द्र श्रेष्ठको टिमलाई भवन निर्माणको जिम्मा दिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष पुष्प भण्डारीले जानकारी दिए ।

यस्तै सोही भवनको गुणस्तरका बिषयमा तत्कालीन भवन निर्माण समितिका सचिव अमिर कुमार श्रेष्ठलाई प्रश्न गर्दा भवन निर्माण स्थल पैनि भएको स्थल रहेकाले भवन भासिएका कारण यस्तो समस्या आएको हुनसक्ने बताउँदै गुणस्तरमा प्रश्न गर्न मिल्ने ठाउँ नरहेको बताए ।

स्टमेट अनुसार काम गर्नुपर्ने भनी ठेकेदारलाई भवन निर्माणको सम्पूर्ण जिम्मा दिइएको बताउँदै उपभोक्ता समिति र अनुगमन समितिले आवश्यक समन्वय मात्र गरेको जनाएको छ । समितिका अनुसार भवन जिर्ण हुनुमा ठेकेदार झलेन्द्र श्रेष्ठ र बुद्धशान्ति गाउँपालिकाका इन्जीनियर बिक्रम दाहालको गल्ती भएको पाइन्छ ।

नयाँ भवना आफ्ना वडाबासीलाई सेवा प्रदान गर्न पाइयो भनेर दंग भएपनि अहिले कतिखेर दुर्घटना हुन्छ भन्ने त्रास बढेको जनप्रतिनिधिको भनाइ छ । यस भवनको सम्पूर्ण जिम्मा अब अघिल्लो कार्यकालको जनप्रतिनिधि, ठेकेदार र गाउँपालिकाका इन्जीनियरले लिनुपर्ने समेत उनीहरुको भनाई छ ।

दैनिक सयौँको संख्यामा भिडभाड हुने वडा कार्यालय जस्तो संवेदनशिल क्षेत्रलाई कमाइखाने भाँडो बनाएर मापदण्ड विपरीत कमसल सामग्री प्रयोग गर्नेलाई क्षतिपूर्ति तिराउँदै कानुनी दायरामा ल्याउनुपर्ने स्थानीय बासिन्दा हरिराज कडरियाले बताए ।

यश विषयमा भवन निर्माण अनुगमन समितिका सदस्य बालचन्द्र सुवेदीलाई हामीले प्रश्न गर्दा आफुहरुले प्राविधिक कुरा नजानेको र पटकपटक प्राविधिकहरुलाई खबरदारी गरेको भएपनि अहिले भवनको अवस्था जीर्ण बनेकाले छानबिन गरि आवश्यक कदम अगाडि बढाउनुपर्ने बताए ।

भवन निर्माणताका बोलपत्र आह्वान नगरि भवन हतारहतार सिलान्यास गरिएको र २ वर्ष नबित्दै भवन चर्किएको स्थानीय दुर्गा कुईकेलले बताए । भवन निर्माणमा कमसल सामग्री प्रयोग भएको र कस-कसको मिलेमतोमा के -के भएको छ भन्ने छानबिन गरी सेवाग्राही समेत असुरक्षित भएकोले यसको दोषीलाई कारबाही गर्नुपर्ने अधिकांश स्थानीय बासिन्दाको माग छ।

Facebook Comments Box