पेसी सारिएपछी अभ्यास खेल खेल्न सन्दिप भोलि दक्षिण अफ्रिका जाँदै

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख खेलाडी सन्दीप लामिछाने विश्वकप छनोटको अभ्यास खेल खेल्न भोलि दक्षिण अफ्रिका जाने भएका छन् ।
यसअघि अन्य खेलाडी अभ्यास खेलका लागि दक्षिण अफ्रिका प्रस्थान गरिसकेका छन्, भने अदालतले सन्दिपको मुद्दाको फैसला हुने भन्दै सन्दिपलाई विदेश जान रोकिएको भएपनि जिल्ला अदालत काठमाडौंले आगामी पेशी असार २९ गतेलाई सारेपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई भोलि दक्षिण अफ्रिका पठाउने भएको हो।
उनका वकिलहरूले अदालतलाई अर्को पेशी डेढ महिना पछाडि सार्न निवेदन दिएका थिए । अदालतले सो निवेदनलाई स्वीकृत गरेपछि सन्दीप दक्षिण अफ्रिका जाने बाटो खुलेको नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको छ ।
दक्षिण अफ्रिकामा नेपालले चारवटा अभ्यास म्याच खेल्दैछ । त्यसपछि त्यतैबाट जिम्बाबेमा हुने विश्वकपको ग्लोबल क्वालिफायरमा नेपालले भाग लिने छ ।
महत्त्वपूर्ण प्रतियोगितामा सन्दीप छुट्दा नेपालका लागि महँगो पर्न सक्ने भएकाले नेपाल क्रिकेट संघले उनलाई लैजान आवश्यक पहल गरिरहेको थियो ।
क्यानका प्रवक्ता दुर्गाराज पाठकले सन्दीपलाई भाेलि नै पठाउने गरी आवश्यक तयारी गरिएको बताए ।