मेचीनगर,१६ भदौ । झापाको मेचीनगर वडा नम्बर १० लालपानीमा पाहुना आएका एक पुरूष झुन्डिएको अवस्थामा मृत फेला परेका छन्,।

इलामको मुर्तिडाँडा घर भएका अन्दाजी ४० वर्षीय प्रदिप आचार्य नाम गरेका व्यक्ति नाताले मामा पर्ने स्थित ज्ञानु पाैडेलकाे घरमा हिजो (मंगलबार ) साँझ पाहुना आएकाे मृतक आचार्यका आफन्तले जानकारी दिए ।

हिजो साँझ पाहुना आएका मृतक आचार्य आज बिहान साेही घरमा आइरनकाे तारमा झुन्डिएको अवस्थामा मृत फेला परेपछि आफन्त आक्रोशित बनेका छन्,। घटनास्थलमा मृतक आचार्यकाे शव सोफामा घुँडा टेकेकाे र नाकबाट रगत चुहेकाे अवस्थामा फेला परेको थियो ।

मृतक आचार्य र घरधनीबीच आर्थिक कारोबार रहेको र आचार्य छोरालाई विद्यालय भर्नाकाे लागि पैसा आवस्यक परेका कारण पैसा उठाउन आएको पारिवारिक स्राेतले पुर्विगर्जनलाई जानकारी दियो ।

मृतक आचार्यका छाेराले भर्खरै एसईई पास गरेर बिराटनगरमा ११ कक्षामा भर्ना हुने तयारी गरिरहेका थिए । आर्थिक लेनदेनका कारण आचार्यकाे हत्या भएको भन्दै घरमुली ज्ञानुकाे शरीरमा पनि सामान्य चोटपटक रहेको र यो घटना आत्महत्या नभएर हत्या भएको परिवारकाे आरोप छ ।

अहिले घटनास्थलमा प्रहरीले सिल गरेकाे र बाक्लो मात्रामा सुरक्षाकर्मी तैनाथ गरेको छ । मृतकका आफन्त बाटोमा आउँदै गरेका कारण लास उठाउन समय लाग्ने देखिएको छ । पोस्टमार्टम रिपोर्ट पछि मात्रै घटनाको सत्यतथ्य पत्ता लाग्ने प्रहरीले जनाएको छ ।