मेचीनगर,१७ भदौ । झापाको मेचीनगर—१० लालपानिमा पाहुना आएका इलामका प्रदिप आचार्यको रहस्यमय मृत्युको घटनाका विषयमा आवश्यक अनुसन्धान र सोधपुछका लागि प्रहरीले ४० वर्षीय एक महिलालाई नियन्त्रणमा लिएको छ ।

इलाम नगरपालिका—१० मूर्तिडाडाका ४० बर्षीय प्रदिप झापाको मेचीनगर—१० लालपानिस्थित नातामा मामा पर्ने ज्ञानु पौडेलको घरको कोठामा आइरनको तारमा झुण्डिएको अवस्थामा बुधबार विहान फेला परेका थिए ।

घटनाको प्रकृति हेर्दा आचार्यको आत्महत्या नभएर हत्या भएको हुन सक्ने भन्दै मृतक आचार्यका परिवारले इलाका प्रहरी कार्यालय धुलावारीमा किटानी जाहेरी दिएका थिए। जाहेरी परेपछि हिजो साँझ नै ४० वर्षीया महिलालाई आवश्यक अनुसन्धान र सोधपुछका लागि नियन्त्रणमा लिएकाे प्रहरीले जानकारी दिएको छ ।

हाल ती महिलालाई इलाका प्रहरी कार्यालय धुलावारीमा राखिएको र आज अदालतबाट म्याद थप गरेर आवश्यक प्रक्रिया अघि बढाईने प्रहरीले जनाएको छ । मृतकका परिवारले प्रदिप आचार्यको आत्महत्या नभइ हत्या भएको आरोप लगाएका छन् । आफन्त तथा परिवारका सदस्यहरुले घटना सम्बन्धमा शीघ्र अनुसन्धान गर्दै सत्यतथ्य बाहिर ल्याउन माग गर्दै घटनास्थलमा विरोध प्रदर्शन गरेका थिए । घटना सम्बन्धमा अनुसन्धान सुरु भइ सकेको झापा प्रहरीले जनाएको छ । यद्यपि पोष्टमार्टम्को रिपोर्ट आएपछि मात्र घटनाका बारेमा जानकारी दिने प्रहरीको भनाई छ ।

मृतक प्रदिप आचार्य मंगलबार साँझ नाताले मामा पर्ने ज्ञानु पाैडेलकाे घरमा पाहुना आएका थिए। मृतकका परिवारका अनुसार उनिहरूबीच आर्थिक लेनदेन रहेकाे पाइएको छ । मृतक प्रदिप आचार्य पाैडेलकाे घरमा हिजो बुधबार बिहान आइरनकाे तारमा साेफामा घुँडा टेकेकाे र नाकबाट रगत चुहिएको अवस्थामा मृत फेला परेका थिए ।