तनहुँ ,३१ भदौ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको ११औं केन्द्रीय समितिकाे बैठक तनहुँमा हुने भएपछि पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ सहितका सबै केन्द्रीय सदस्यहरू तनहुँको बन्दिपुर पुगेका छन् ।

केन्द्रीय समिति बैठक बन्दिपुर स्थित माउन्टेन रिसोर्टमा भोलिदेखि सुरु हुने र बैठक असोज ७ गतेसम्म सञ्चालन हुने पार्टी स्रोतले जानकारी दिएको छ।

बैठकमा केन्द्रीय समितिका ७६ जना सदस्य सहभागी हुने छन् । सो रिसोर्टमा केन्द्रीय सदस्य सहित नेताहरुको सुरक्षाको लागि पार्टीका पूर्वजनमुक्ति सेनाका सदस्य र युवाहरु गरी १ सय ५० जना बस्ने छन् ।

नेपाल कम्युनिस्ट पार्टी माथि राज्यले लगाएको प्रतिबन्ध फागुन २१ मा फुकुवा भएसँगै पहिलोपटक सबै केन्द्रीय नेताहरू एकै ठाउँमा भेला भएका छन्,। साेहि कारण पनि नेकपाका नेता तथा कार्यकर्ताले यो बैठकलाई विशेष चासोको रूपमा लिएका छन्,।

बैठकले पार्टीको अबको कार्यदिशा , एजेन्डा लगायतका विषयमा छलफल हुने र हालसम्म सरकारले तीन बुँदे सम्झौता अनुरूप काम नगरेको र अझै सयौं नेताकार्यकर्ता जेलमा रहेकाले यसको विषयमा पनि पार्टीकाे केन्द्रीय बैठकबाट आधिकारिक धारणा आउने पार्टीका कार्यकर्ताकाे आशा रहेको बुझिएको छ।