मेचीनगर,२५ मंसिर । झापाको मेचीनगर वडा नम्बर -६ स्थित लक्ष्मिटाेल निवासी ४० वर्षीय मृगौला पीडित मानबहादुर सुवेदी र उनकाे परिवारले उपचार खर्चको लागि सहयोगकाे अपिल गरेको छ। दुबै मृगौला खराब भई उपचारको क्रममा रहेका मानबहादुर सुवेदी(राकेश) को जीवन बचाइदिन अनुरोध गर्दै पीडित परिवारले सहयोगकाे अपिल गरेको हो ।

लामो समयदेखि चालकको रूपमा काम गर्दै आएका सुवेदीको परिवारको आर्थिक अवस्था कमजोर रहेका कारण मृगौला प्रत्यारोपण गर्न समस्या भएको र उपचारमा संलग्न डाक्टरका अनुसार उनको दुई महिनाभित्रै मृगौला प्रत्यारोपण गरिसक्नुपर्ने मानबहादुरकि श्रीमती बबिता सुवेदिले जानकारी दिइन् ।

विगत ४ महिनाअघि स्वास्थ्यमा समस्या आएपछि उपचारका लाग विराटनगर स्थित नोवेल अस्पताल पुगेका मानबहादुरकाे दुबै मृगौला फेल भएको पत्ता लागेको थियोे । त्यसपश्चात सुवेदीकाे परिवारले उनको उपचारका लागि काठमाडौं स्थित टिचिङ अस्पतालमा उपचार गराइरहेको र हालसम्म ११ लाखभन्दा बढी खर्च भैसकेको आज पत्रकार सम्मेलनमार्फत परिवारले जानकारी दियाे ।

मृगौला पीडित सुवेदीकी पत्नि बबिता सुवेदीका अनुसार पारिवारिक आर्थिक स्थिति कमजोर रहेको र अहिलेसम्म ऋण गरेर उपचार गराइरहे पनि अब कुनै विकल्प नरहेका कारण सहयोगको आह्वान गर्नुपरेको बताइन् । मृगौला पीडित मानबहादुरकाे कमाइमा गुजारा चलाउँदै आएको सुवेदी परिवार कमाउने मान्छे नै अस्वस्थ भएपछि यतिबेला संकटमा रहेको छ ।

चालक पेशाबाट मानबहादुरले पाँच जनाको परिवार पाल्दै आएपनि उनी आफैं बिरामी परेपछि उनलाई बचाउन सबैले सहयोग गरिदिनका लागि मानबहादुरकी श्रीमतीले अपिल गरेकी छिन्,। मानबहादुरकाे परिवारमा २ छोरी १ छोरा सहित पाँच जना रहेका छन्,।

पीडित मानबहादुरकाे स्वास्थ्य अवस्था जटिल बन्दै गएकाे र उनका बुवा ललितबहादुर सुवेदीले मृगौला दिने तयारी गरिएपनि प्रत्यारोपणका लागि २० लाखभन्दा बढी रकम आवश्यक हुने हुँदा सबैले सकेको सहयोग गरिदिनुहुन परिवारले अपिल गरेको छ । हाल पीडित मानबहादुरकाे मेचीनगर नगरपालिकाकाे सहयोग र समन्वयमा मेची अञ्चल अस्पताल भद्रपुरमा डायलासिस भइरहेको छ ।

मानबहादुरकाे उपचारमा आर्थिक सहयोग गर्न देश तथा विदेशमा रहेका सबै सहयोगीहरुमा मानबहादुर सुवेदीको नाममा रहेको सिद्धार्थ बैंकको खाता नम्बर ०२२१५२०८७०१ मा रकम जम्मा गरिदिन परिवारले सबैमा सार्वजनिक अपिल गरेको छ ।

परिवारको तर्फबाट मानबहादुर बचाउ अभियान सञ्चालन गर्दै आर्थिक संकलन गर्न आर्थिक सहयोग संकलन समिति बनाउने तयारी गरेको र सोको लागि सहयोग गरिदिनसमेत सामाजिक अभियन्ता तथा सहयोगीहरुमा परिवारले अनुरोध गरेको छ ।