उदयपुर ,३० बैशाख । मतपत्र लुट्ने प्रयास गरेपछि प्रहरीले गोली चलाउँदा उदयपुरको कटारी नगरपालिका-१० सोरुङ्गछविसेमा एक युवाको घटनास्थलमा नै मृत्यु भएको छ। प्रहरीले चलाएको गोलीबाट घरमा बसिरहेका १३ बर्षीय मन श्रेष्ठ समेत घाइते भएका छन्, उनको खुट्टामा गोली लागेको छ भने दलका कार्यकर्ताले ढुंगामुढा गर्दा एक जना प्रहरी घाईते भएका छन्।

प्रहरीकाे गोली लागेर मृत्यु हुनेमा स्थानीय १९ बर्षिय नविन कटुवाल रहेका छन्। उनको छातिमा गोली लागेको छ। प्राप्त जानकारी अनुसार मृतक विप्लवका कार्यकर्ता समेत हुन्,। मृतक विप्लवका स्वतन्त्र उम्मेदवार गौरबहादुर कटुवालका भतिजा हुन्,। वाहिरबाट ढुंगामुढा प्रहारगर्दा प्रहरी जवान विष्णु तामाङ्ग घाईते भएका छन्। उनको टाउकोमा चोट लागेको छ भने घाईतेलाई उपचारका लागि कटारी ल्याईदैछ।

काङ्ग्रेस कार्यकर्ताले धाँधली गरी फर्जी मत खसाल्न लाग्दा रोक्नेक्रममा विवाद सृजना भएपछि प्रहरीले गोली चलाएको घटनाका प्रत्यक्षदर्शीले बताए।

मतपेटिका लुट्ने प्रयास भएपछि ‘स्थितीलाई नियन्त्रणमा लिन मतदान स्थल सुरक्षार्थ खटिएका नेपाल प्रहरीको टोलीले गोली फायर गरेको हो।’ कालिका मावि सोरूङ छविसे मतदान केन्द्रमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा ४ जना प्रहरी र ८ जना म्यादी प्रहरी गरी जम्मा १२ जना रहेका थिए।

त्यसैगरी प्रहरी निरीक्षकको कमाण्डमा मोबाइल गस्ती र बाहिरी भागमा नेपाली सेनापनि रहेको जिल्ला प्रहरी कार्यालयका एसपी सुबासचन्द्र वोहोराले बताए। प्रहरीले एसएलआरबाट ४ राउण्ड र थ्रिनटथ्री राईफलबाट ४ राउण्ड गरी जम्मा ८ राउण्ड गोली फायर गरेको जनाएको छ। कटारी–१० मा वडाध्यक्षका लागि नेकपा एमालेबाट क्षेत्रबहादुर खड्का, कांग्रेसबाट बलबहादुर कार्की, नेकपा एकिकृत समाजबादीबाट लेटनारायण श्रेष्ठ र स्वतन्त्रबाट गौरबहादुर कटुवाल उम्मेदवार रहेका छन्।