मेचिनगर, २ असार । चरा खोजकर्ता एवम् संरक्षक देवेन्द्र खरेलले आफ्नो जन्मदिनका अवसरमा चरा संरक्षण एवम् प्रवर्द्धनका लागि सचेतना कार्यक्रम सम्पन्न गर्दै मनाएका छन् ।

हिजो बुधबार खरेलले आफ्नो जन्मदिनको अवसरमा मेचिनगर -४ बाहुणडाँगी स्थित सिमानाकामा रहेको होटल दशगजामा जन्मदिनको अवसरमा चराका विषयमा स्थानीय वासिन्दा र जनप्रतिनिधिहरुका बीच सचेतना कार्यक्रम आयोजना गरेका हुन्।

मचिनगर क्षेत्रमा ३०० भन्दा बढी प्रजातिका चरा फेला पारेका खरेलले केहिदिन अघिमात्र सो क्षेत्रमा दुर्लभ ठुलो बगर बट्टाई चरा फेला पारेका थिए । उनले कार्यक्रम स्थल वरपर पनि विभिन्न जातका चराहरु साथै दुर्लभ ठूलो बगर वट्टाई समेत पाइने भएकाले भविष्यमा यसलाई पनि संरक्षित क्षेत्रको रुपमा विकास गर्न सकिने दावी गरे ।

तस्बिर :देवेन खरेल

मेचीनगर र नेपालकै निम्ती अति संकटापन्न चराहरुलाई पर्यटनसँग जोडेर संरक्षणको पहल गर्न सके आम्दानीको मार्ग प्रशस्त गर्न सकिने र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने खरेलले बताए ।

कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ४ का अध्यक्ष अर्जुनकुमार कार्कीले चरा अभियन्ता खरेलले आफ्नो जन्मदिनमा वन्यजन्तु तथा चरा सम्बन्धी कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिएका छन् । उनले वडा नम्बर ४ मा पाइने दुर्लभ चराहरुको खोजी गरी संरक्षणमा लागि पर्ने बताए ।

समाजसेवी एवम् हात्ती विशेषज्ञ शंकर लुईंटेलको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत दशगजा होटलका सञ्चालक राकेश प्रधानले र सञ्चालन चरा अभियन्ता खरेलले गरेका थिए ।