मेचीनगर,०१ साउन । झापाको मेचीनगर स्थित जोरसिमल चेकपोस्टबाट सशस्त्र प्रहरीले अबैध भारतीय रुपैयाँसहित पाँचजनालाई पक्राउ गरेको छ । धुलाबारीमा सञ्चालित होटल मेची क्राउनले नेपाल भित्र्याउन लागेको प्रतिबन्धित भारतीय रुपैँयासहित पाँच जनालाई शनिबार सशस्त्र प्रहरीले चेकजाँचका क्रममा पाँचलाख एक्काइस हजार भारतीय रुपैँयासहित पक्राउ गरेको हो ।

नेपालकै एकमात्र डिलक्स पाँचतारे होटल मेची क्राउनले रिर्जभ गरेको टोयटा कम्पनीको डब्लु बि ७४ बि एच १६४३ नम्बरको इनोभा कारमा लुकाएर नेपाल भित्राइएको दुई हजार र पाँच सय दरका प्रतिबन्धित नोटसहित भारत असाम तिनसुकिया बस्ने आनन्द कुमार सदेका, प्रमोद जलान, मनोज अग्रवाल, अशोक अग्रवाल र खोरीबारी बस्ने सवारी चालक अभिजीत सिंह पक्राउ परेका हुन् । उनीहरुको साथबाट बरामद गरिएको नगद, सवारीसहित थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाइएको सशस्त्र प्रहरी श्रोतले जानकारी दिएको छ । पक्राउ परेकाहरुको साथबाट प्रतिबन्धित २ हजार दरका एक सय एक र पाँच सय दरका ६ सय अडतिस थान भारतीय रुपैँया बरामद गरीएको प्रहरीले जानकारी दिएको छ ।

यता, आफुले नाकामा सेटीङ गरी नेपाल छिराएको प्रतिबन्धित नोट जोरसिमल चेक प्वाइन्टमा खटिएका प्रहरीले पक्राउ गरेपछि आक्रोसित मुद्रामा चेक प्वाइन्ट पुगेका होटलका सञ्चालक बले भन्ने बलाराम सापकोटाले डिउटीमा खटिएका सशस्त्र प्रहरीलाई धम्काएकाे पाइएको छ। उनले दुईजना पत्रकारलाई आफै भात खुवाएर तिमीहरुको निगरानी गर्न पठाउने भन्दै थर्काएकाे र पावर लगाएर सबै प्रहरीको सरुवासमेत गरीदिने धम्की दिएको एक प्रहरीले बताए ।सापकोटाले डिउटीमा खटिएका प्रहरी कर्मचारीलाई थर्काउदा बिओपी काकडभिट्टाका प्रमुख इन्सपेक्टर प्रेम कुमार राई निरिह भएर होटलका संचालक सापकोटा अगाडी प्रस्तुत भएका थिए । प्रहरीलाई धम्काएको कुरा सापकोटाले भने अस्विकार गरे । उनले धम्काउन नभई बुझ्न मात्रै चेकप्वाइन्ट गएको बताए ।

यस्तै, भारतीय सिमा नजिकै खोलीएको यो पाँचतारे होटलले पटक-पटक गलत धन्दा चलाउँदै आएपनि काँकरभिट्टा नाकामा खटिएका प्रहरी कर्मचारी मूकदर्शक बन्ने गरेका छन् । होटलले विभिन्न बहानामा भारतबाट भाडामा सामान ल्याउने र भन्सारमा कम मुल्याङ्कन गरी सोही बराबरको धरौटी मात्रै राखेर भारतीय अबैध सामान यतै राख्ने गरेको समेत स्रोतले बताएको छ ।