झापा,०२ साउन । सरकारले स्वास्थ्य बिमामार्फत भुक्तानी गर्नुपर्ने रकम नदिएपछि प्रदेश १ का तीन ठूला अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेका छन् ।

आजबाट झापाको बिएण्डसी, विराटनगरको नोबेल मेडिकल कलेज र मोरङको बुढीगंगामा रहेको विराट मेडिकल कलेजले स्वास्थ्य बिमा कार्यक्रम अन्तरगतका सबै सेवा बन्द गरेका हुन् । तीन वटै अस्पतालले बिमा कार्यक्रम बन्द गरेको सूचना आइतबार नै जारी गरेका छन् । तीन अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम अन्तरगत १ अर्ब ४५ करोड रकम भुक्तानी पाउन बाँकी रहेको बताएका छन्,।

सरकारले ‘२०७९–८० को बजेट वक्तव्य मार्फत स्वास्थ्य बिमा कार्यक्रम २०७९ साउन १ गतेबाट सरकारी र सामुदायीक स्वास्थ्य प्रदायक संस्थाबाट मात्रै उपलब्ध गराउने गरी पारित गरेको भन्दै स्वास्थ्य बिमा सूचारु हुने वा नहुने कुनै सूचना प्राप्त नभएकाले अन्योलको परिस्थितिम अर्काे सूचना नभएसम्मका लागि स्वास्थ्य बिमा अन्तरगतको विरामीहरुले प्राप्त गर्दै आउनु भएको आकस्मिक, बहिरङ्ग (ओपीडी) र अन्तरङ्ग सेवाहरु श्रावण १ गते रातको १२ बजेदेखि स्थगन गरिएको नोबेल अस्पताल बिराटनगरले विज्ञप्तिमार्फत उल्लेख गरेको छ।

सरकारले प्रतिपरिवार वार्षिक ३५००/- रुपैयाँ लिएर स्वास्थ्य बिमा गरी परिवारका पाँच जना सदस्यलाई वार्षिक १ लाख रुपैयाँ बराबरको निःशुल्क उपचारको व्यवस्था मिलाउँदै आएको भएपनि अस्पताल लाई समयमा भुक्तानी नदिँदा यसको सास्ती जनताले भोग्नुपरेको छ ।