नवलपरासी ,०२ साउन। खेती लगाउने समयमा पानी नपरेपछि नवलपरासीका किसानले स्थानीय जनप्रतिनिधिलाई हात बाँधेर मन्दिर लगेका छन्।

पश्चिम नवलपरासीमा २१ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको र समयमै रासायनिक मल समेत नपाएर आजित बनेका किसानले पानी समेत नपरेपछि पानी पर्ने विश्वासमा उक्त कार्य गरेका हुन्,।

नवलपरासीको सरावल गाउँपालिकाका अध्ययक्ष सुखाडीप्रसाद चौधरीले गाउँका गन्यमान्य , जनप्रतिनिधि र कर्मचारीलाई बाँधेर मन्दिर लगेर स्वच्छ मनले पूजाअर्चना गरे भगवान् खुसी भएर पानी पार्ने विश्वासमा यस्तो गरिएको बताए। उनले भने, ‘जब साउनमा पानी पर्दैन, तब स्थानीयले अगुवालाई बाँधेर मन्दिरमा लगेर हिलो छ्याप्ने प्रचलन छ। अगुवाले स्वच्छ मनले पूजा गरेमा पानी पर्ने विश्वासमा छ।’

तीन दिनसम्म पूजा अर्चना गरी अन्तिम दिन गाउँका अगुवालाई बाँधेर बालबालिकासहित मन्दिरमा पूजाअर्चना गर्दा भगवान् खुसी भएर पानी दिने जनविश्वास रहँदै आएको छ ।अन्तिम दिनमा महिलाले हलो जोत्ने, बालबालिकालाई हिलो पानीमा खेलाउने, अगुवालाई हिलो छ्याप्ने जस्ता परम्परा कायम छन्।

पानी समयमा नपरेका कारण अधिकांश जमिन फुटेर चिरा परेको र पानी पर्ने जनविश्वासका साथ उक्त कार्य गरेको किसानहरूले बताए ।