शिवगञ्ज । शिवसताक्षी नगरको त्रिभुवन मावि कुनै बेला जिल्लामै कहलिएको नाम हो । तर, आजभोलि त्यही विद्यालय को बेहाल छ । त्यसको मुख्यकारण हो, सरोकारवाला निकायको उदासीनता ।
त्रिभुवन माविका लागि हिउँद, बर्खा दुवै याम अक्करिलो बनेर आउँछ । यसरी नै बितेको दशक माथी भइसक्यो । पानी पर्न थाल्यो कि विद्यार्थीलाई कक्षा कोठासम्म जान नै सकस हुन्छ । घुँडाघुँडासम्म पानी छिचोलेर कक्षा कोठामा विद्यार्थी पुग्नु पर्ने वर्षो देखिको बाद्यता छ । ‘हिउँदमा विद्यालयको छाना छिचोलेर शीत छिर्छ, बर्खामा घाम,’ शिक्षक रामचन्द्र फुँयालले भने ।
सो विद्यालयका विद्यार्थीले सोमबार कष्टपुर्ण ढंगले जिर्ण कक्षा कोठामा प्रथम त्रैमासिक परिक्षा लेखिरहेका थिए । विद्यालयको छानो जीर्ण छ, कतिपय भवनको त छानो नै छैन । खिया लागेर मक्किसकेको छ । जस्तापात (टिन) ले घाम, पानी र शीत केही नै छेक्दैन । झ्याल ढोकाको अवस्था पनि उस्तै छ । ‘हिउँदमा सिरेटो छिर्छ । बर्खामा पानीको धारो । प्रांगणमा त पोखरी नै जम्छ’ विद्यालयका प्रधानाध्यापक नारायण चापागाईंले भने, ‘यो सास्ती खेपेर कसरी पढाउनु ? कति दिन विद्यालय चलाउनु ?’
पानी पर्न थालेसँगै विद्यालयको पढाइ प्रभावित बन्दो रहेछ । विद्यार्थीले कक्षा कोठामै छाता ओढेर पढ्ने र परिक्षा गरेका रहेछन् । ‘कतिपय विद्यार्थी विद्यालय नै आउन छाडिसके,’ शिक्षक यसै भन्छन् ।
‘हाम्रा लागि त यो कुनै नौलो कुरै होइन, तपाईंहरूलाई अनौठो लाग्न सक्छ, त्यो स्वाभाविक नै हो ।’ विद्यालयको अवस्था सबैलाई थाहा भए पनि सास्ती बेहोर्ने चाहिँ विद्यार्थी र शिक्षक मात्र हुन्,’ अर्का शिक्षक युवराज सेढाईंले भने ।
विद्यालयको कक्षा १ देखि कक्षा ४ सम्मका कोठामा मैदानको पानी सोझै पस्छ । यो पानी आकाश बाट परेको हो । बालकक्षाका विद्यार्थीलाई केही दिन देखि नै केही सुरक्षित र अन्य कोठामा सारेर पढाइ रहेको शिक्षक फुँयालले बताए । बालकक्षा सञ्चालन गरिएका कोठामा पानी जमेको छ । विगत वर्षहरूमा नाली काटेर तथा पाइप लगाएर पानी बाहिर पठाउने गरिएको सो विद्यालयमा यसपटकको बर्खा झन् सास्तीपूर्ण छ ।
सामान्य वर्षामा नै पानी जमेपछि प्रथम त्रैमासिक परीक्षा प्रभावित हुने सम्भावना छ । ‘मौसमको अवस्था हेर्दा परीक्षा गर्न नै कठिन हुने देखिएको छ’ प्रधानाध्यापक चापागाईंले भने, ‘मौसममा सुधार भएन र पानी परिरहृयो भने परीक्षा प्रभावित हुन्छ, कसरी गर्ने भन्ने चिन्ता छ ।’ पटकपटक जानकारी गराउँदा पनि शिवसताक्षी नगरपालिका कानमा तेल हालेर बसेको गुनासो उनको गुनासो छ ।
पढ्न आउने विद्यार्थी मुस्किलले विद्यालयमा आएर छाता ओढेरै भए पनि पढ्ने गरेको तर परीक्षामा त लेख्नुपर्ने भएकाले छाता ओढेर र उभिएर सम्भव नहुने दुःख उनले सुनाए । बर्खा यामभर विद्यालयमा जुत्ता लगाएर र पैन्ट घुँडामाथि नपु¥याई जानसक्ने अवस्था नै नहुने शिक्षकहरू बताउँछन् ।
वि. स. २०२८ सालमा स्थापना भएको सो विद्यालयमा अहिले ३५० जना विद्यार्थी छन् । २०५८ र २०६० सालको तत्कालिन एसएलसी परीक्षामा दुई पटक जिल्ला प्रथम भएको सो विद्यालय बर्खामा पोखरी जस्तै बन्ने गरेको छ । त्यसबेला दुई÷दुईपटक नगद पुरस्कर जित्ने रेकर्ड कायम गरेको विद्यालय अहिले मर्मत सम्भारका लागि बजेटको प्रतीक्षामा छ । यो विद्यालयको बेहाल देख्दा जो कोही पनि अचम्बित हुने गरेका छन् ।
साबिक पाँचगाछी गाविस हाल शिवसताक्षी नगरपालिका–४ ओडारी चोकमा रहेको सो विद्यालय क्षेत्रकै पुरानो हो । अहिले कक्षा १२ सम्म अध्ययन अध्यापन हुने गरेको छ । तर, विद्यालयको बेहाल देखेर विद्यार्थी घटिरहेका छन् । बर्खामा पानीको डुबान र हिउँदमा शीत र सिरेटोका कारण त्यस क्षेत्रका विद्यार्थी अन्य विद्यालयमा अध्ययनका लागि जान थालेका छन् ।
स्थानियका अनुसार यहाँका विद्यार्थी जनआदर्श मावि शिवगञ्ज, बालकल्याण मावि कुञ्जिबारी, अमर मावि बैगुनधुरा र नरेन्द्र मावि सरङपाडासम्म जान थालेका छन् । धेरै अभिभावक त आफ्ना बालबच्चालाई महँगो शुल्क तिरेर निजी विद्यालयमा पढाउन बाध्य छन् ।
सो विद्यालयको मर्मत सम्भारका लागि संघीय सांसद लालाप्रसाद साँवा लिम्बु (एलपी साँवा), निवर्तमान कोशी प्रदेश सांसद झलकसिंह दर्लामी बजेट उपलब्ध गराउने आश्वासन दिए पनि वचन पूरा नगर्दा विद्यार्थी मर्कामा परेका हुन् । शिवसताक्षी नगरपालिका र शिक्षा, युवा तथा खेलकुद विकास शाखाको बेवास्ताका कारण विद्यालयको भविष्य अन्योलमा परेको प्रधानाध्यापक चापागाईंले दुःखेसो गरे । ‘शिवसताक्षीका नगर प्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतवहादुर राई विद्यालय भ्रमणमा आउनु भयो, जानु भयो तर, उपलब्धी तस्विर खिच्ने फेसबुकमा राख्ने बाहेक केही भएन ।’
सांसद एलपी साँवाले पटक–पटक योजना पार्ने आश्वासन दिएर पनि काम नगरेको शिक्षक तथा अभिभावकको आरोप छ । नगरपालिकाले पनि विद्यालयको अवस्थाप्रति नजरअन्दाज गरेको उनीहरूको आरोप छ । नगर सरकार गैरजिम्मेवार हुँदा विद्यालयको दुर्गति भएको स्थानिय अभिभावकले बताए ।
विद्यालयको मर्मत सम्भारका लागि अवसर नजुरेको भने होइन । ‘वडाध्यक्ष हुँदा अधिकचन ताजपुरिया विद्यालय व्यवस्थपन समितिमा थिए । उनले चाहेको भए वडाकै बजेटबाट पनि प्रांगण पुर्ने र विद्यालय मर्मत गर्ने रकम व्यवस्थापन गर्न सक्थे,’ स्थानिय जय नाथ चौधरीले भने, ‘विद्यालयलाई हेर्ने काम उहाँले गर्नु नै भएन ।’ ताजपुरिया सो विद्यालयको व्यवस्थापन समिति अध्यक्ष नै भएको उनले बताए ।
अहिले पनि सोही वडाका वडाध्यक्ष विष्णु प्रसाईं विद्यालय व्यवस्थापन समितिमा छन् । आँखा अगाडि समस्या भए पनि बजेट दिन वडाध्यक्ष प्रसाईंले आनाकानी गर्ने गरेको अभिभावक बताउछन् । यही कारण पनि विद्यालयको दुर्गति भएको अभिभावकको ठम्याई छ ।
सबै तस्विरहरु: पत्रकार विनोद सापकोटा