विराटनगर ,२२ साउन। नेत्र विक्रम चन्द “विप्लव ” सहितका दर्जनौं नेताकार्यकर्ता हरुलाई पक्राउ पुर्जी जारी गरिएको विरोधमा नेपाल कम्युनिस्ट पार्टी सहित चार कम्युनिस्ट पार्टीले संयुक्तरुपमा बिराटनगरमा प्रदेश स्तरीय बिरोध प्रदर्शन गरेका छन् ।

प्रदेश नम्बर १को राजधानी विराटनगर स्थित हनुमान मन्दिरबाट शुरु भएको र्‍याली सहितको विरोध कार्यक्रममा भेला भएका नेताकार्यकर्ताले राष्ट्रघाती एमसीसी र एसपीपी सम्झौता खारेजी, नागरिकता बिधेयककाे खारेजी, पेट्रोलियम पदार्थ लगायत अन्य सामग्रीमा भएको मूल्यबृद्धी खारेजी र विप्लव लगाएतका नेताहरुलाई जारी गरेको पक्राउ पुर्जी फिर्ता गर्न माग गर्दै नाराबाजी सहित बजार परिक्रमा गरी ट्राफिक चौकमा गएर कोण सभामा भ्ला भएका थिए।

उक्त कोणसभालाई नेपाल कम्युनिस्ट पार्टीका मोरङ्ग जिल्ला सेक्रेटरी देब गुरुङ, बैज्ञानिक समाजवादी पार्टीका तर्फबाट लक्ष्मण न्यौपाने लगायतले सम्बोधन गरेका थिए। कोणसभामा बोल्दै मोरङ सेक्रेटरी गुरुङले आफ्नो पार्टी हरेक राष्ट्रघातका विरुद्ध संघर्ष गरिरहेकाले दलालहरु अतालिएर पार्टीका नेताकार्यकर्तालाई पक्राउ पुर्जी जारी गरिएको भन्दै उक्त पक्राउ पुर्जीबारे सरकार गम्भीर नबने राज्यले ठुलो मूल्य चुकाउनुपर्ने उद्घोष गरे।

उनले राष्ट्रघाती एमसीसी र एसपीपी सम्झौताले नेपालको राष्ट्रिय स्वाधीनतामा गम्भीर रूपमा संकट निम्ताउने काम हुँदा समेत सत्ता सञ्चालकहरु जनतालाई ढाँटेर लुट मचचाइरहेकाे आरोप लगाए।

राज्यले दोहोरो चरित्र देखाइरहेको बताउँदै जस्तो सुकै चुनौती आए पनि आफूहरु सामना गर्न तयार रहेकाले नेपाल कम्युनिस्ट पार्टीलाई कमजोर नआँक्न उनले चेतावनी दिए। राज्यले नेपाल कम्युनिस्ट पार्टीसँग भएको तिन बुदे सहमति कार्यन्वयन गर्नुको सट्टा पक्राउ पुर्जी जारी गर्नुले सत्ता सञचालकहरुले देशमा शान्ति नचाहेको नेता गुरुङले बताए ।

त्यस्तै बैज्ञानिक समाजवादीका नेता न्यौपानेले राज्यले नेपाल कम्युनिस्ट पार्टीसँग गरेको सहमति अनुसार जेलमा रहेका नेताकार्यकर्तालाई रिहाइ गर्न माग गर्दै सरकार जनता प्रति उतरदायि नबनेको आरोप लगाए। उनले दलाल संसदीय व्यवस्थाले देश र जनताको हित गर्न नसक्ने बताउँदै देशमा मंहगी, कालो बजारी ,भ्रष्टाचार बढ्दै गएको र यसले देशको अर्थतन्त्र समेत नाजुक अवस्थामा पुगेको उल्लेख गरे।

पछिल्लो समय विप्लव निकट नेकपा सहित चार कम्युनिस्ट पार्टीले संयुक्तरूपमा संघर्ष गर्दै आइरहेको छ।