विर्तामोड ,१८ भदौ । झापाको विर्तामोड स्थित मनमोहन अस्पतालल असुरक्षित प्रसूति गराएको र बच्चाको मृत्यु भएको भन्दै तोडफोड भएको छ।

मेचीनगर नगरपालिका वडा नं १५ कि बिना खनाल भदौ १५ गते प्रसूति गराउनका लागि विर्तामोड स्थित मनमोहन अस्पतालमा भर्ना भएकी थिइन् । सोही दिन बेलुका करिब ६ बजे अस्पताल प्रसूति विशेषज्ञ डा. एकराज गौतमको उपस्थिति बेगर नै उनलाई त्यहाँका नर्स तथा सरसफाइका कर्मचारीले जबरजस्ति प्रसूति गराएका थिए ।

बिरामी र बच्चाको अवस्था जटिल भएपछि डा. गौतम आएर थप उपचार गरिएको बिरामीका आफन्तको आरोप छ । प्रसूति गराएपछि गम्भीर अवस्थामा रहेका बच्चालाई मनमोहनले बिएण्डसी अस्पताल रेफर गरेको भए पनि बच्चाको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको हो ।

चिकित्सकको उपस्थिति बेगर जबरजस्ति प्रसूति गराएकाले बच्चाको टाउकोमा गम्भीर असर परेकाले मृत्यु भएको आरोप लगाउँदै खनालका आफन्त तथा छरछिमेकीहरुले मनमोहन अस्पताल तोडफोड गरेका हुन् ।

मनमोहन अस्पतालका निर्देशक रोमनी भट्टराईले नर्मल डेलिभेरी गराउँदा जटिलता आएकाले बच्चाको मृत्यु भएको बताएका छन् ।
बिरामीका आफन्तले चिकित्सक बेगर प्रसूति गराउँदा घटना भएको बताइरहँदा भट्टराईले चिकित्सकले नै प्रसूति गराएको दाबी गरेका छन् । अहिले घटनास्थलमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको र पीडित परिवार र अस्पताल बिच सहमति भएको प्रहरीले जानकारी दिएको छ।