झापा, ३१ भदौ (रासस) । प्रदेश नम्बर १ का १४ जिल्लाका नव निर्वाचित जनप्रतिनिधिलाई प्रदेश प्रशिक्षण केन्द्र कलबलगुरी झापाले विद्यमान संबैधानिक तथा कानुनी प्रावधान सम्बन्धी विज्ञहरुबाट धमाधम प्रशिक्षण गराउँदै आएको छ ।
केन्द्रले १४ जिल्लाका जनप्रतिनिधिमध्ये प्रमुख र उपप्रमुखलाई एकै थलोमा राखेर प्रशिक्षण प्रदान गरेको थियो भने हाल वडाध्यक्षहरुका लागि सम्बन्धित जिल्लामै तालिम सञ्चालन गरिरहेको छ ।

केन्द्रका निर्देशक विष्णुकुमार कार्कीले आजदेखि झापामा सुरु भएको कार्यक्रमलाई सम्बोधन गर्दै ११ वटा जिल्लाका वडाध्यक्षहरुलाई यस अघि नै सो तालिम प्रदान गरेको बताउनुभयो । तीन दिनसम्म चल्ने तालिममा जिल्लाका १३१ वटा वडाका वडाध्यक्षहरु सहभागी भएका छन् ।

उहाँले वडाध्यक्षहरुको भूमिका संघीयता कार्यान्वयनमा महत्वपूर्ण हुने हुँदा उनीहरुले गर्ने कामहरुमा कानुनी अड्चनका कारण समस्या नहोस्, काम, कर्तव्य र अधिकार क्षेत्रका बारेमा स्पष्ट भएर काम गर्न सहज होस् भन्ने उद्देश्यले तालिमको आयोजना गरेको बताउनुभयो ।

जन्मदेखि मृत्युसम्मको सिफारिसको जिम्मा वडाध्यक्षलाई हुने भएकाले उनीहरुलाई जिम्मेवार, सामाजिक सुरक्षा, योजना तर्जुमा, कार्यालय व्यवस्थापन, अनुगमन र उपभोक्तासँग गरिने कार्यका बारेमा आवश्यक पर्ने कानुनलगायत १२ वटा विषयवस्तुमा प्रशिक्षण प्रदान गरिने उहाँको भनाई छ ।

जिल्ला समन्वय समिति झापाको संयोजनमा आयोजित कार्यक्रममा १३१ वडाध्यक्षहरुलाई तीन वटा सभाहलमा राखेर प्रशिक्षण भइरहेको छ । जिसस झापाका संयोजक विश्वनाथ बरालले तालिमले जनप्रतिनिधिको व्यक्तित्व विकाससँगै कार्यक्षमतामा समेत बृद्धि गराउने जनाउँदै तालिममा सिकेका कुरालाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

उहाँले तालिमले जिल्लाभरका वडाहरुमा काम गर्ने तौरतरिका र सेवामा एकरुपता ल्याउने विश्वास गर्दै अप्ठ्यारो परिस्थितिमा एकअर्कासँग समन्वय गर्न वडाध्यक्षहरुलाई निर्देशन दिनुभयो । आजबाट सुरु भएको तालिम असोज २ गतेसम्म चल्नेछ । तालिमको सहजीकरण शशी राई, प्रेम राजवंशी, गणेश तिम्सिना र सुमन ढकाल गर्दै हुनुहुन्छ ।
केन्द्रले पछिल्लो समय कर्मचारी, जनप्रतिनिधिलगायतलाई लक्षित गरेर विभिन्न तालिमको कार्यक्रमहरु गर्दै आएको जनाएको छ ।