युद्ध बाध्यता हो !!!

तिमी चित्त बुझाएर बस भन्छौ
तर म किन चित्त बुझाउन सक्दिन ?
यन्त्रवत चलिरहेका मेरा मांशपिण्डहरु
यहि त जान्न उद्धत छन……

किन एकाएक
हठात गर्हौं बस्तु , म भित्रको म लाई
रोलरले पेलेझैं पेलेर अगाडि बड्छन
सत्ताको क्षुब्द सारहिन कथ्य
मेरो बिभोरतालाई
रगतले लतपत पारीदिन्छन
मलाइ किन कहिलै चित्त बुझ्दैन
किन म युद्धलाइ बाध्यता देखिरहेको छु ……?

मेरो मग्नता
गरिबहरुको जिवनको सकस
रक्त मिश्रीत आंशुधाराहरु
गाढा रातको कम्पयमान चीत्कार
अपरिमित दुखका लप्काहरुलाई
किंचित सुखको आशा जगाएर
अकिन्चन तन्मयता खेलाउछन
ब्यबहारमा कतै खुलाउछन
यहि त यहाँ ,
सत्ताका काला बिरालाहरु
यसैलाइ अक्षम्य अपराध भनेर
आफ्ना अवांचित कामहरुलाइ क्षम्य मानिरहेका छन
कंन्चटमा पेस्तोल राखेर मलाइ
क्षम्य ठान्न लगाइरहेका छन
म कसरी सक्छु
हो म कसरी सकौंला
कोहि भोकले दाप्सिएर मरिरहेको छ
कोहि हिराले ढाकिएका छन
मलाई चित्त बुझ्दैन
त्यसैले होला
म युद्धलाइ बाध्यता देखिरहेको छु……!

बुद्धलाइ उभ्यांउछन यहाँ
शहिदहरुलाइ पनि चोक चोकमा ठड्याउछन
सपनाका फुर्काहरु झुण्डाएर
शान्तिका पुराणहरु भट्याउछन

सत्ता कति भंयकर बनेको छ
मलाइ पनि बुद्ध र शान्ती
सहिद र क्रान्ती
जनादेश र मतादेश
आजको दिनमा यहि ब्यपार हो
यतिबेला यहि धनी बन्ने होड हो
हतकडि भिराएर, अभियोग लगाएर
भन्न लगाउछन, मान्न लगाउछन
खै म कसरी मान्न सक्छु
कसरी त्यस्तो ठान्न सक्छु

छाप्रामा बसेर तितो आँसु निलिरहेको
फुटपाथ संग मीत लगाइरहेको
अस्पतालमा चिच्याइरहेको
छाती पिटि पिटि रोइरहेको
त्यो समुदायले
सत्ताको कायादानको पगरि लगाएर
पुलकित बन्न सकोस
धनी बन्ने होडमा दौड लगाउन सकोस
घांटिमा पासो लगाएर
सत्ताले दास बनाइरहेका
आधुनिक दासहरुले जीवन पाउन सक्छन
अंह म मान्न सक्दिन
सत्ताका जबरजस्ती थोपरिएका क्षोबहरुलाइ
हो, त्यसैले म
यतिबेला युद्धलाई बाध्यता देखिरहेको छु …….!

हो यहि युद्धलाइ
अनन्त शान्तिको सुचक देखिरहेको छु
भोकै राखेर शान्ती अलाप्न लगाउने
फुट्पाथमा राखेर शान्ती कहन लगाउने
सत्ताका जबरजस्तिका बन्दुकहरु
यतिबेला मेरो छातिमा दागिएका छन
म यसलाइ शान्ती भन्न सक्दिन
गरिबिले नदिमा हामफालिरहेका जनता सम्झिएर
म यसलाइ शान्ती ठान्न सक्दिन
अंह, मेरो चित्त बुझ्न सकेको छैन
त्यसैले म युद्धलाइ बाध्यता देखिरहेको छु…….!

०७७/०५ /०१ खांदवारी हिरासत