झापा,०३ असोज । विश्व शान्तीको कामना गर्दै इलामका एक युवाले मेची– महाकाली ह्विल चेयर यात्रा आरम्भ गरेका छन् । इलाम नगरपालिका वडा नम्बर ८ का २५ बर्षिय सन्देश रम्तेलले आठौं संविधान दिवसको अवसर पारेर सोमबार नेपालको पूर्वी नाका काँकरभिट्ट स्थित मेची पुलबाट आफ्नो “मेची– महाकाली ह्विल चियर” यात्रा आरम्भ गरेका हुन् ।

मोटरसाईकल दुर्घटनामा परी बिगत दुई बर्षदेखि शारिरीक अशक्त बनेका रम्तेलले ह्विल चेयरको सहायतामा मेची– महाकाली यात्रा तय गरेका हुन् । नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक उत्तिर्ण गरेका रम्तेलले दैनिक ६० देखि ८० किलो मिटर यात्रा गर्ने गरी करिब दुई हप्तामा आफ्नो मेची– महाकाली ह्विल चेयर यात्रा सम्पन्न गर्ने जानकारी दिए ।

पछिल्लो समय मानिसमा मानवता हराउदै गएको र मानव मानव बिच द्धन्द बढीरहेको बताउँदै उनले मानव शान्तीको सन्देश फैल्याउन आफुले मेची– महाकाली ह्विल चेयर यात्रा गरेको बताए।

मेची– महाकाली यात्रा सम्पन्न पश्चात लगत्तै विश्व यात्रामा निस्कने रम्तेलले जनाएका छन् । उनले बुद्ध जन्म भूमिको माटो लिएर विश्व शान्तीको सन्देश फैल्याउन आफुले विश्व यात्रा तय गरेको बताए ।

मेची– महाकाली यात्रा पश्चात भारत, बंगलादेश, थाइल्याण्ड, मलेसिया, म्यानमारलगायतका देशको भिषा आइसकेको बताउँदै रम्तेलले यीनै देशबाट आफ्नो विश्व ह्विल चेयर यात्रा अगाडी बढाउने जनाए ।

यात्रा सुभारम्भ कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेती, महिला नेतृ रेणुका डागी, सुरक्षा कर्मी, सञ्चारकर्मीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थित रहेको थियोे ।