मेचीनगर, ३ असोज । झापाको मेचीनगर स्थित काकडभिट्टा नाकाबाट प्रहरीकै सेटिङमा दैनिक रुपमा भारततर्फ सुपारी तस्करी भैरहेकाे पाइएको छ। सिमा सुरक्षाका लागि भन्दै खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको सेटिङमै खुलेआम सुपारी तस्करी हुने गरेको तथ्य फेला परेको छ।

सिमानाकामा खटिएका प्रहरी र तस्करहरूको सेटिङमा अहिले पुर्वी नाका काकडभिट्टाबाट दैनिक रुपमा भारततर्फ अवैध सुपारी निकासी हुने गरेको पाइएको हो ।

विभिन्न मुलुकहरुबाट नेपाल भित्रिएको सुपारी अबैध रुपमा भारततर्फ निकासी भैरहँदा समेत सम्बन्धित निकायले यसतर्फ चासो नदिएको पाइएको छ। अघिल्लो महिना सम्म मोरङबाट तस्करी भैरहेको सुपारी प्रहरीले पक्राउ गरेसँगै अहिले झापाको पुर्वी नाकाबाट खुलेआम तस्करी हुने गरेको छ। अघिल्लो महिना विराटनगर महानगरपालिका–१८ बाट अवैध सुपारी बोकेको आठ वटा भारतीय नम्बर प्लेटका ट्रक नियन्त्रणमा लिए सँगै हाल झापाको पुर्वी नाका सञ्चालनमा आएको पाइएको छ।

नेपालमा भन्दा भारतमा सुपारीको मूल्य प्रतिकिलो झण्डै १ सय रुपैयाँ बढी छ। भारतमा सुपारीको माग अत्यधिक रहेका कारण अबैध रुपमा भारततर्फ सुपारी तस्करी हुने गरेको हो । राजस्व समेत छली गर्दै पुर्वी नाकाबाट दैनिक रुपमा सुपारी तस्करी बढेसँगै सिमा सुरक्षामा खटिएका सुरक्षाकर्मी माथि प्रश्न उठेको छ। यसअघि रातिको समयमा हुने गरेको सुपारी तस्करी चाडपर्व नजिकिँदै जाँदा दिउँसै हुने गरेको छ।

गत साउन महिनामा एक सातामा प्रदेश १ का विभिन्न स्थानबाट ठूलो मात्रामा सुपारी बरामद भएसँगै रोकिएको सुपारी पुनः अबैध रुपमा भारततर्फ निकासी हुन थालेकाे हो । प्रहरीको सेटिङबिना कुनै हालतमा सुपारी तस्करी हुन नसक्ने र अहिले सेटिङ मिलाएर सुपारी तस्करी भैरहेको स्थानीय वासिन्दाको आरोप छ।

सुपारी तस्करीमा महिला मात्रै नभएर अपांग व्यक्तिहरुकाे समेत प्रयोग हुने गरेको पाइएको छ। नेपाल तथा भारतका महिलाहरुले शरिरका विभिन्न भागमा पोको पारेर प्रहरीकै सेटिङमा तस्करी हुनुले सुरक्षा निकायमाथि समेत गम्भीर प्रश्न खडा भएको छ।