काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य तथा उपत्यका व्युरो इन्चार्ज कृति सीले आफ्नो पार्टीले राजनीतिक मोर्चा जितेको ठोकुवा गरेका छन् । नेकपा काठमाडौं उपत्यका व्युरोसहित तीन वटा व्युरोले संयुक्त रुपमा आयोजना गरेको राजनीति तथा वैचारिक प्रशिक्षण कार्यक्रमको अध्यक्षता गर्दै कृतिले पहिलो आवधिक योजनामा राजनीतिक मोर्चा जितेको ठोकुवा गरेका हुन् ।

उनले समाजवादी मोर्चा बनाएर पार्टीले राजनीतिक मोर्चा जितेको भएपनि सङ्गठन र संघर्षमा कमजोर भएको बताए । ‘हामीले राजनीतिक मोर्चा जितिसकेका छौं । अब संगठन र संघर्षको मोर्चा जित्नुपर्ने छ ।’, उनले भने, ‘त्यसको मुख्य नेतृत्व उपत्यका र यस आसपासका जिल्लाहरुले लिनुपर्छ ।’

साम्राज्यवाद मडारिए आएको बताउँदै त्यसका विरुद्धमा लड्न केन्द्रीय राजधानीमा रहेका नेता कार्यकर्ताले पहलकदमी लिनुपर्नेमा जोड दिए । ‘क्रान्ति पुरा गर्ने कार्यभार केन्द्रीय राजधानीको छ, पार्टीले अगाडि सारेको नीति कार्यान्वयन गर्ने जिम्मेवारी पनि हाम्रो काधमा छ ।’, उनले भने, ‘त्यही भएर तपाईं हामी संघर्ष र संगठनमा जोड दिएर अगाडि बढौं । क्रान्तिलाई सम्पन्न गरौं ।’

कार्यक्रममा नेकपा महासचिव विप्लव सीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा उपत्यका व्युरोसहित पूर्वी ताम्सालिङ, पश्चिम ताम्सालिङ र जवस मोर्चामा कार्यरत जिल्ला कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन पूर्वी ताम्सालिङ व्युरो इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य विकल्प सीले गरेका थिए भने प्रशिक्षणमा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरुलाई पश्चिम ताम्सालिङ व्युरो इन्चार्ज तथा पार्टीका पोलिटब्युरो सदस्य आजद सीले स्वागत मन्तव्य मार्फत स्वागत गरेका थिए । कार्यक्रममा नेकपा स्थायी समिति सदस्य विषम सी, शिलु सी, शुशील सीले प्रशिक्षण मन्तव्य राखेका थिए ।

अतिथिको रुपमा नेकपाका पोलिटव्युरो सदस्यहरु माइला सी, चिरन सी, आस्था सी लगायत थुप्रै केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box