काठमाडौं,२ मंसिर । त्रिवि खेलमैदानमा भर्खरै सम्पन्न एकदिवसीय क्रिकेट शृङ्खलाको उपाधि नेपालले जित्न सफल भएको छ।

यसअघि सोमबार भएको पहिलो खेलमा युएईसँग८४ रनको हार बेहोरेको नेपालले बुधबार भएको दोस्रो खेल ३ विकेटले जित्न सफल भएको थियो ।

आज भएको निर्णायक खेलमा आशिफ शेख र ज्ञानेन्द्र मल्लको शानदार व्याटिङसँगै नेपालले युएईसँगको एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलामा जित हासिल गरेको छ । नेपालले आजको खेलमा युएईलाई ६ विकेटले पराजित गर्दै पहिलोपटक घरेलुु मैदानमा उपाधि हात पारेको हो ।

आज सम्पन्न तेस्रो तथा निर्णायक एकदिवशीय अन्तर्राष्ट्रिय खेलमा युएईले दिएको १७७ रनको लक्ष्य ४०.१ ओभर खेल्दै नेपालले ४ विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि ओपनर आशिफ र तेस्रो नम्बरमा ब्याटिङ गरेका ज्ञानेन्द्रले अर्धशतकीय योगदान गर्दै नेपाललाई उत्कृष्ट जित दिलाउन सफल भए ।

अर्का ओपनर अर्जुन साउद ९ रनको व्यक्तिगत स्कोरमा आउट हुँदा नेपालले १० ओभरमा २४ रन बनाएको थियो । त्यसपछि आएका ज्ञानेन्द्रले आशिफसँग मिलेर दोस्रो विकेटका लागि १२२ रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए । ज्ञानेन्द्रले ७३ बलमा ७ चौका र ३ छक्कासहित ६४ रन बनाएर आउट भएका थिए।

एकदिवशीय अन्तर्राष्ट्रियमा पाँचौं अर्धशतक बनाएका आशिफ ८८ रनमा अविजित रहे । उनले ११९ बलमा १२ चौका प्रहार गरे । कप्तान रोहितकुमार पौडेलले १० रन बनाए ।

युएईले आठ जना बलर प्रयोग गरेको थियो । आयान खान र हजरत विलालले १–१ विकेट लिए ।

यसअघि आयान खान र हजरत विलालले अन्तिम विकेटका लागि ८३ रनको अविजित साझेदारी गरेपछि टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित ओभरमा ९ विकेट गुमाएर १७६ रनको योगफल खडा गरेको थियो ।

खराव सुरुवात गरेको युएईमाथि नेपालका बलरहरुले दवाव राखेका थिए । ३१.१ ओभरमा ९३ रनको स्कोरमा नवौं विकेट गुमाएको युएईलाई एक सय रनको योगफल बनाउन पनि कठिन हुन थालेको थियो ।

तर, आठौं नम्बरमा आएका आयन खान र एघारौं नम्बरमा आएका हजरतले पूरा ओभर खेलेर युएईलाई सम्मानित अवस्थामा पु¥र्याए ।

आयनले ६३ बलमा खेलेर ७ चौका र १ छक्कासहित ५४ रनको अर्धशतकीय पारी खेले । हजरतले ५४ बलमा २० रन बनाए ।

अन्तिम विकेटका लागि यो साझेदारी इतिहासकै चौथो सर्वाधिक साझेदारी हो । सन् १९८४ मा भिभियन रिचर्ड र माइकलले वेष्ट इण्डिजका लागि इंग्ल्याण्डविरुद्ध अन्तिम विकेटमा १०६ रनको कीर्तिमानी साझेदारी गरेका थिए ।

यसअघि सुरुवाती तीन विकेट सस्तैमा गुमाएको युएईका लागि रोहन मुस्तफाले २४ तथा अलिसन शराफुले ३३ रन जोडे । यी दुईले चौथो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए ।

७ जना बलर प्रयोग गरेको नेपालका लागि गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले २–२ विकेट लिए । सोमपाल कामी र ललित नारायण राजवंशीले समान १–१ विकेट लिए ।

grace