झापा , ३ मंसिर । यतिबेला संघ र प्रदेश सभाको निर्वाचनले देशभरको माहोल बेग्लै बनेको छ। सँधै राजधानी केन्द्रीत हुने नेताहरु यतिबेला गाउँ -गाउँमा पुगेका छन्,। पाँच वर्षसम्म संसदको भत्ता पचाएर न्याउरो र ख्याउटे अनुहार सहित मनभित्र पछुतो र केही पन्ना झुठा आश्वासनका घोषणापत्र बोकेर घरदैलोमा पुगेका छन्, हजुर नमस्कार भन्दै ।

जब जब चुनाव आउँछ, तब तब दलका नेताहरू लाज पचाएर गाउँबस्तीभित्र छिर्छन्, र विकास र समृद्धिका कुरा भन्दा बढी विपक्षी दललाई गालिगलौज गर्नमै ब्यस्त हुन्छन् । झट्ट सुन्दा हो कि जस्तै लाग्नेगरी चिल्ला भाषण गर्छन्, र उ तल्लो तहमा रहेका गरिब, मजदुर र भूमिहीन सुकुम्बासी बस्तीमा पसेर नोकरी, शिक्षा, स्वास्थ्य र लालपुर्जाको आशा देखाइदिन्छन्।

वर्षौंदेखि स्थानीय सरकारको धाक र धम्कीमा बाँचेका ती निमुखा बर्ग नेताका झुठा आश्वासनलाई पत्याउँछन्,र भोट दिन्छन् ,। तर विडम्बना चुनाव जितेको महिना दिनमै हातमा लालपुर्जा नभएर सुकुम्बासीका छाप्रा भत्काउन डोजर आइपुग्छ । कयौं सुकुम्बासी बस्ती नेताहरुको नजरमा सहरका दाग जस्तो हुनपुग्छन्, र तिनै सुकुम्बासीका बस्ती भु-माफियाको प्लटिङ बन्छ।

यतिबेला तिनै बस्तिमा नेताको लाईन छ । खानेपानी, बिजुली नपाएका सुकुम्बासी बस्तिमा सबै ल्याइदिने वाचा गरिरहेका छन्,। मोटर नपुगेको ठाउँमा सडक बनाउने कसम खान्छन्। खोलामा पुल हाल्नेदेखि लिएर सिँचाइ , नि:शुल्क शिक्षा रोजगार को आश्वासन त हरेक उम्मेदवारका मुखमै झुन्डिएका छन्।

फोस्रा आश्वासनकै भरमा झापाका हजारौं सुकुम्बासीहरुले कयौंपटक विभिन्न राजनीतिक दलका नेतालाई चुनाव जिताएर पठाए तर विडम्बना त्यसको बदलामा उनिहरुले कयौंपटक स्थानीय सरकार र प्रशासन सँग झैझगडा र प्रतिकार गरिरहनु परेको छ।

उनिहरुका बस्ती भत्काउन कयौंपटक डोजर प्रयोग भएको छ। त्यो अवस्थामा न उनिहरुलाई कोहि नेताले चिन्छ न त स्थानीय प्रशासनले ।

झापा मात्रै नभएर नेपालका धेरै कुना कन्दराहरूका बासिन्दा सधैं भोट बैंक बन्न बाध्य छन्। अझ सुकुम्बासी समस्याको अन्त्य गर्न बनेको राष्ट्रिय भुमि आयोगका अध्यक्ष नै झापाका विभिन्न सुकुम्बासी बस्ती तथा क्षेत्रमा पुगेर फलानो नेतालाई भोट नदिए जमिन पाउँदैनौ भन्दै सुकुम्बासी धम्क्याइरहेका छन्,। जहाँ अभाव छ, त्यही ठाउँ र समुदायलाई नेता र उम्मेदवारहरूले आश्वासन बाँड्ने यो पुरानो शैली यसपटकको निर्वाचनमा पनि देखिएको छ। सधैं कुनै न कुनै आस देखाउँछन् अनि भोट माग्छन्। जिते वा हारेपछि उनीहरूलाई त्यहाँका बासिन्दाको कुनै मतलब हुँदैन।

झापाको दमक , मेचीनगर, शिवसताक्षी, भद्रपुर लगायतका विभिन्न स्थानमा रहेका सुकुम्बासीहरुलाई २०७४ को निर्वाचनमा लालपुर्जा दिने आश्वासन दिएर भोट पाएका नेताहरुले चुनाव जितेको केही महिना नबित्दै सुकुम्बासी बस्तीमा कतै डोजर चलाए त कतै अज्ञात रुपमा सुकुम्बासीका टहरा दनदनी आगोमा बले ।

विडम्बना राज्यले उनिहरुको गाँस, वास, र कपासको व्यवस्था गरिदिनुपर्ने कानुनी कुरा रहेपनि उनिहरुको विषयमा कुनै सत्तासीन राजनीतिक दल चुइँक्क बोलेनन्, बरु रमिता हेरिरहे।

झापा उसैपनि पटकपटक सत्तामा बसिरहने राजनीतिक दल तथा पहुँचमा रहेका नेताहरुको जिल्ला हो । यश ठाउँबाट निर्वाचन जितेकाहरू पहुँचवाला नै हुन्, जो पटकपटक मन्त्री देखि प्रधानमन्त्री सम्म भइसकेका छन्। तर, यहाँका गरिब, मजदुर र सुकुम्बासीहरुले फोस्रा आश्वासन र चोट बाहेक अरु केही पाएनन्,। केवल सुकुम्बासीहरु भोट बैंक भइरहे। नेताहरूले उनिहरुलाई भोट बैंक भन्दा माथि कहिल्यै ठानेनन् , । यसपटक पनि नेताहरुले उनिहरुलाई विभिन्न आश्वासन बाँडिरहेका छन्,। अब पनि नेताको फोस्रा आश्वासन र धम्की सहिरहने हो भने सुकुम्बासी बस्तिमा डोजर र आगलागी भैरहने निश्चित छ । गरिब सुकुम्बासी जनतालाई यसपटक सवक सिकाउन जरुरत छ।

grace