कालोबजारी नियन्त्रणको माग राख्दै युवा संगठन नेपालले बुझायो देशभर ध्यानाकर्षण पत्र

प्रविण अधिकारी
झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले पछिल्लो समय बढ्दै गएको कालोबजारी, महंगी, अखाद्य वस्तुको खुलेआम बिक्रीवितरण र बजारमा कृतिम अभाव सृजना गर्नेहरुलाई कारवाहीको माग गर्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
युवा संगठन नेपालले आज झापा सहित देशभरका प्रमुख जिल्ला अधिकारीलाई पाँच बुदे ध्यानाकर्षण पत्र बुझाउँदै कृतिम अभाव सृजना गर्नेलाई कारवाहीको माग गरेको हो ।

चाडपर्वको मुखमा व्यापारीहरुले अस्वभाविक मुल्यबृद्धि गरेको, कृतिम अभाव सृजना गरेको र कालोबजारी फस्टाएको भन्दै युवा संगठनले सरकारको ध्यानाकर्षण गराएको संगठनका पुर्वी कमाण्ड इन्चार्ज सुवास सीले बताए । उनका अनुसार पुर्वका झापा, मोरङ, इलाम, पाँचथर, ताप्लेजुङ , सुनसरी , संखुवासभा , भोजपुर, उदयपुर, धनुषा, सर्लाही,महोत्तरी लगायतका जिल्ला र देशभरका विभिन्न जिल्लाका संयोजक तथा अध्यक्षहरुले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएका छन् ।
पछिल्लो समयमा मौलाउदै गएको महंगी, कालोबजारी, अखाद्य बस्तुको बिक्रीबितरण र कृतिम अभावले चरम सिमा नाग्दै गएको भन्दै ध्यानाकर्षण गराएको हो । ‘खाद्यान्न बस्तुहरु लुकाई कृतिम अभाव सृजना गर्नु, राज्यद्वारा निर्धारित गरिएको मुनाफा २० प्रतिशत भन्दा कैयौं गुणा मुनाफा लिनु तथा म्याद सकिएका अखाद्य बस्तुहरुको बिक्रीबितरण गर्ने कार्य भैरहेको अवगत गराउँदै ध्यानाकर्षण पत्र बुझाइएको हो ।

चाडपर्वको अवसर पारेर यस्तो गतिविधि अझै बढ्ने देखिएकोले यस्ता अनैतिक गतिविधि गर्नेहरुलाई नियन्त्रण र कार्बाही गरि जनतालाई सहज वातावरण सृजना गर्न ध्यानाकर्षण गराइएको युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन सीले बताए ।
मौजुदा राज्यका नियम कानुनहरुलाई लागू गराउनु, साना ठुला उद्योग कलकारखाना तथा व्यापार व्यवसायिहरुलाई नियमन र नियन्त्रण गर्नु यस कार्यालयको प्रमुख दायित्व भएकोले नियमीत रुपमा उक्त कार्य गर्न समेत संगठनले सचेत गराएको छ । ५ बुँदे ध्यानाकर्षण पत्रमा कृतिम अभाव सृजना गर्नेहरुलाई अध्यान, अनुगमन र कार्बाही गरी सहज वातावरण बनाउन, चरम रुपमा मौलाउदै गएको महंगी नियन्त्रण गरि कार्बाही गर्न, अखाद्य बस्तु (म्याद सकिएका गुणस्तरहिन) हरुको बिक्रीवितरण भैरहेको हुँदा उक्त कार्यलाई नियन्त्रण गरि हदै सम्मको कार्बाही गर्न, बस्तुको खरित मुल्यको २० प्रतिशत मुनाफा लिन पाउने राज्यको नियम बिपरित सत प्रतिसत वा सो भन्दा बढी मुनाफा लिने कार्य व्यापक रुपमा बढेकोले उक्त कार्यहरुलाई नियन्त्रण गरि कर्बाही गर्न र यस कार्यालयको अधिकार क्षेत्र भित्र हुने भ्रष्टाचार, कमिसन, सरकारी सम्पत्तिको दोहन, चोरीपैठारी, लागू औषध कारोबार तथा सामाजिक अपराधहरुको नियन्त्रण र कार्बाही गर्न जोडदार माग गरेको छ ।

जवाफमा पुर्वी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले ध्यानाकर्षणका लागि संगठनलाई धन्यवाद व्यक्त गर्दै कालोबजारी, कृतिम अभाव सृजना गर्ने, महङ्गोमा विक्रिवितरण गर्नेलाई कारवाही गरिरहेको र यस्तो खाले गतिविधि भएको जानकारी पाएमा तुरुन्त कारवाही गर्ने आश्वासन दिएको युवा संगठन नेपालका पुर्वी कमाण्ड इन्चार्ज सुवास सीले बताए ।