विनोद सापकोटा
झापा । शिवसताक्षी ४ रङ्गिया थानकी पूजा कुमारी शाहले गएको एसईई परीक्षाको नतिजामा आफू मात्र उत्तीर्ण हुन्छु भनेर सोचेकी पनि थिइनन् । यसै साता मात्र प्रकाशन भएको एसईई परीक्षाको नतिजामा वडा नम्बर ६ को जनआदर्श माध्यमिक विद्यालयबाट परिक्षा दिएका मध्ये आफू मात्र उत्तीर्ण भएको खबर सुन्दा उनि निक्कै दुखी भईन् । ‘सँगै का साथी अनुत्तीर्ण भए । म मात्र उत्तीर्ण । कसरी खुसी हुनु,’ उनले भनिन् ।
पूजा कुमारी संगै अन्य ५० जना विद्यार्थीले वडा नम्बर ७ को व्याङडाडा स्थित भगवती माध्यमिक विद्यालयको परिक्षा केन्द्रबाट एसईईको परिक्षा दिएका थिए । ‘परिक्षा हलबाट बाहिरिदा सबै साथीले आजको परिक्षा राम्रो भयो भनेर प्रतिकृया दिन्थे,’ उनले भनिन् ‘ ‘नतिजा हेर्दा आफैलाई चित्त बुझेको छैन ।’
पूजाले अध्ययनका लागि विद्यालयको समय बाहेक दिनहुँ अतिरिक्त दुई घण्टा मात्र समय निकाल्थिन् । विद्यालयबाट घर फर्किएपछि खाजा खाने, घरको काम धन्दा सक्ने र आमालाई व्यापारमा सघाउने उनको दिनचर्या नै थियो ।
बेलुकाको समय एक घण्टा भित्रमा सरले दिएको गृहकार्य गर्ने र बचेको समय अध्ययनमा खर्चिन्थिन् । बिहान पनि घरको काम धन्दा सकेर एक घण्टा अध्ययन गर्ने बानी बसालेकी थिइन् । बेलुकाको भन्दा विहानको समयलाई उनले बढी महत्व दिने गरेकी थिईन् । उनले वर्षभरिको अध्ययन तालिका यसरी नै बनाएकी थिइन् । उनको मम्मी मञ्जुले भनिन् ‘पढ्न कति रहर गर्थिन् , निन्द्रा पुग्दैन भनेर सुत भन्थे । उनी मैले भनेको टेर्दिनथिन् । कोठामा एक्लै पढिरहन्थिन् । 
नेपाली विषयका राम राय, अङग्रेजी विषयका आशिष राई, नारायण भट्टराई गणित, मङ्गल ताजपुरिया सामाजिक, टिकाराम काफ्ले विज्ञान, पदम भण्डारी ऐच्छिक प्रथम अर्थशास्त्र र हर्क बस्नेतले द्वितीय ऐच्छिक शिक्षा विषय पढाउथे । पूजाले भनिन्, ‘ हामिलाई कक्षा कोठामा गएर पडाउने सबै सरहरूको इच्छा सबै विद्यार्थी पास हुन् । जान्ने हुन् भनेर मेहनतका साथ पढाउनुहुन्थ्यो,’ उनले भावुक हुँदै भनिन् ‘हाम्रो विद्यालयको नतिजा यो स्तरको आउँछ भनेर मैले सोचेको पनि थिइन । एसईईको परिक्षाको नतिजामा सरहरुको दोस होइन । हाम्रो दोस हो ।’
‘साथीहरुले सरले दिएको गृहकार्य गर्नुभएन । सरले पढाएको पाठ दोहोर्याएर आफै पढेर बुझ्ने प्रयास गर्नुभएन । बचेको समय कितावमा के छ भनेर अध्ययन गर्नुभएन । फलस्वरुप यस्तो नतिजा आएको हो,’ उनले भनिन् ‘ यसमा सर गुरुआमाको के दोस ।’
साथीहरुले आफ्नो भविष्य को बारेमा सोचेको थियो भने विद्यालयको नतिजा यस्तो हालतमा नआउने उनले बताइन् । ‘मेरै साथीले पढ्न ध्यान दिनुभएन । आ—पास भइहालिन्छ त नि भनेर हल्का रूपमा लिनुभयो । अघिल्ला वर्षको नतिजालाई जस्तै ठान्नुभयो । जसका कारण हामी सबै फेल भयौँ,’ उनले भनिन् । उनले २ दशमलव ७६ जिपिए प्राप्त गरेर शिवसताक्षी नगरकै एक मात्र नमुना विद्यालयबाट उत्तीर्ण भइन् । यो नतिजामा उनलाई पनि चित्त बुझेको छैन ।
एउटा सामुदायिक त्यो पनि नगरकै ठुलो नमुना विद्यालयबाट आफै मात्र एसईईमा उतिर्ण हुँदा उनि निक्कै अचम्बित भएकी छन् । ‘सरले जतिलाई कक्षा कोठामा पढाउनु भयो सबैले बरावरी ज्ञान लिएका हौं । म मात्र पास हुँदा आश्चर्य लागेको छ, उनले भनिन् ।
यतिबेला सामाजिक सञ्जालका स्थानिय प्रयोगकर्ताले फेसबुकमा उनको तस्विर राखेर बधाई दिन थालेका छन् । उनि स्थानिय प्रयोग कर्ताको फेसबुकको वालमा यतिबेला सजिन थालेकी छन् । उनलाई भेट्न र बधाई तथा शुभकामना दिन घरै सम्म पुगेर माला, खादा लगाईदिने सामाजिक अभियन्ता, राजनीतिक कर्मी, शिक्षकहरुको भिड लाग्न थालेको छ ।
शिक्षासँग जोडिएका सरोकारवाला निकायले पूजालाई सम्मान गर्नुपर्ने बताएका छन् । कतिपयले स्थानीय सरकारले उनलाई छात्रवृद्धि प्रदान गरि उच्च शिक्षाका लागि प्रोत्साहन दिनुपर्ने बताउन थालेका छन् ।
उनले विद्यालयकै सर संग दुई महिना विज्ञान, गणीत र अङग्रेजी विषयमा ट्युसन कक्षा लिएकी थिईन् । ट्युसनमा पनि हामी २५ जना जति साथी संगै पढ्ने गरेको उनले बताएकी छन् ।
पूजाकी आमा तरकारीको व्यापार गर्छिन् । पैकारी बाट किनेर ल्याएर स्थानिय बजारमा बेच्छिन् । त्यहीँबाट कमाएको नाफाले दुई छोरी र एउटा छोरा लाई पढाउँथिन् । उनकी जेठी छोरीले पनि कक्षा १२ नियमित उत्तिर्ण गरेकी छन् भने छोरा बैदेशिक रोजगारीमा छन् । उनका अनुसार व्यापारबाट कमाएको पैसाले नानीलाई आवश्यक शैक्षिक सामग्री किन्ने गरेको छु ।
विदाका दिनका बजारमा पूजा आफैं तरकारी बेच्न जान्छिन् ।
शिवगञ्ज, बोलोचोक, रंगियाथान, व्याङडाडा र हटिया नभएका दिनको गोधुली बजारमा तरकारीको व्यापार पूजाले गर्छिन् । व्यापारकै क्रममा पनि खाली भएको समयमा पढ्नका लागि किताबहरू बोकेर लैजाने गरेको जनताबजारका प्रकाश श्रेष्ठले बताए । उनले भने, ‘अध्ययन र व्यापार पूजाको बराबर हुन्थ्यो ।’
‘गएको वैशाखमा उनका बुबा उपेन्द्रको मृत्यु भयो । चैत महिनादेखि नै बुबा बिरामी हुनुहुन्थ्यो । बुबा घरमा बिरामी हुँदा मलाई पढाइमा निकै बाधा परेको थियो । तर पनि दुखले पास भएछु ।
अब उच्च शिक्षाका लागि मेरो आमा संग धन छैन । दिदीले पनि दुखले पढ्नुभयो । १२ सके पछि विपन्नताकै कारणले बिचैमा ब्रेक लाग्यो । मेरो त ११ कक्षा भर्ना हुनलाई पनि पैसा छैन । बरु फेल भएको भए, मेरो आमालाई आर्थिक शंकट त पर्ने थिएन्, उनले भनिन् ।








