मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा लिइएको एक निजी गाडीलाई बिना कारबाही छाडिएको भन्दै सशस्त्र प्रहरीको कार्यशैलीमाथि प्रश्न उठेको छ।
सशस्त्र प्रहरी बल काँकरभिट्टा गुल्मले केही दिनअघि मेची खोलाबाट गैरी गाउँको बाटो हुँदै नेपालतर्फ ल्याइएको मोटर पार्ट्ससहित प्रदेश २–०३–००१ च १४५८ नम्बरको स्कोर्पियो गाडी नियन्त्रणमा लिएको थियो। तर, नियन्त्रणमा लिइएको उक्त गाडीलाई कुनै जरिवाना वा थप कारबाही नगरी छाडिएको पाइएको छ।
स्थानीयका अनुसार नाकामा सामान्य रोजगारी गर्ने सिटी सफारीले थोरै परिमाणमा भन्सार नतिरेका सामान बोकेको भेटिए तत्काल नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाउने गरिएको छ। तर, निजी गाडीमा ठूलो परिमाणमा अवैध सामान भेटिँदा कारबाही नगरी छाडिएको घटनाले सशस्त्र प्रहरीको कानुन कार्यान्वयनमा समान व्यवहार नभएको आशंका बढाएको छ।
यस विषयमा सशस्त्र प्रहरी बल नम्बर २ गण हेडक्वार्टर भद्रपुरका प्रवक्ता मदन रसाइलीसँग जानकारी लिँदा उनले उक्त गाडीबाट करिब २४ हजार रुपैयाँ मूल्य बराबरको मोटर पार्ट्स मात्र बरामद भएकाले गाडीलाई बिना जरिवाना छाडिएको बताएका छन्।
तर, सामानसहित गाडी नियन्त्रणमा लिइएको समयमा पत्रकारहरूको टोलीसमेत घटनास्थलमा पुगेको थियो। स्थलगत रूपमा गाडीबाट बरामद गरिएको सामानसँगै रहेका व्यक्तिले ३६ हजार भारतीय रुपैयाँको बिल देखाएका थिए। सो क्रममा पत्रकारहरूले यति कम मूल्यको सामान किन भन्सार नगरी खोलाबाट ल्याइएको भन्ने प्रश्न गर्दा ती व्यक्तिले बिल कम मूल्यमा बनाइएको स्वीकार गर्दै कानुनी प्रक्रियामा जाँदा मोटर पार्ट्सको भन्सार बढी पर्ने र उक्त सामानको लाखौं मूल्य पर्ने बताएका थिए।
यता प्रवक्ता रसाइलीले भने काँकरभिट्टा गुल्मले मोटर पार्ट्स नियन्त्रणमा लिए पनि गाडीमाथि थप कारबाही आवश्यक नदेखिएकाले छाडिएको स्पष्ट पारे।
चाडपर्व नजिकिँदै जाँदा काँकरभिट्टा नाकाबाट अवैध रूपमा सामान ओसारपसार गर्ने गतिविधि बढ्न थालेको स्थानीयको भनाइ छ। सीमावर्ती क्षेत्रमा साना–ठूला समूह सक्रिय भएर मोटर पार्ट्स, कपडालगायतका सामग्री भन्सार छलेर नेपाल भित्र्याउने गरेको स्रोतको दाबी छ।
नाकामा हुने अवैध ओसारपसार नियन्त्रणको जिम्मेवारी पाएको सशस्त्र प्रहरीले एउटै प्रकृतिका घटनामा व्यक्ति वा सवारीसाधनअनुसार फरक व्यवहार गर्ने हो कि कानुनअनुसार समान कारबाही गर्छ भन्ने विषयमा पनि प्रश्न उठेको छ।
हाल सशस्त्र प्रहरी बल काँकरभिट्टा गुल्मको कमान्ड डिएसपी योगराज थापाले सम्हालिरहेका छन्। चाडपर्वको समयमा सीमाबाट हुने अवैध ओसारपसार नियन्त्रण गर्न सुरक्षा निकायले थप कडाइ गर्ने अपेक्षा गरिएको छ। तर, नियन्त्रणमा लिइएको अवैध सामानसहितको गाडीलाई बिना कारबाही छाडिएको घटनाले सीमा सुरक्षामा सशस्त्र प्रहरीको भूमिकामाथि नै प्रश्न खडा गरेको छ।








