प्रविण अधिकारी /नुवाकोट। छिमेकी मुलुक भारतको दार्जिलिङ जिल्ला बागडोग्रास्थित गोर्खा समुदायको पाँच सदस्यीय टोलीले रसुवाका बाढी प्रभावित परिवारहरूलाई राहत वितरण गरेको छ। टोलीले नुवाकोटका अस्थायी आश्रय केन्द्रहरूमा बसिरहेका २५० परिवारलाई कुल ८ लाख रुपैयाँ नगद सहयोग वितरण गरेको हो।

इन्द्रकुमार राईको नेतृत्वमा रहेको उक्त टोलीमा चन्दन सिटौला, अनिल गुरुङ, बुद्धि शर्मा तथा नेपाली पत्रकार प्रशान्त आचार्य रहेका थिए। गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण घर, सम्पत्ति र जीविकोपार्जन गुमाएका परिवारलाई तत्काल राहत पुर्याउने उद्देश्यले उक्त सहयोग सिधै प्रभावितहरूलाई हस्तान्तरण गरिएको हो।
२५० परिवारलाई वितरण गरिएको सहयोग बाहेक, पूर्ण रूपमा प्रभावित तथा आफन्त हराइरहेका र काजकिरिया शुरु गरेका २० परिवारका सदस्यहरूलाई जनही १० हजार रुपैयाँ थप सहयोग पनि प्रदान गरिएको थियो।

टोलीलाई विदुर नगरपालिका–४ का वडाध्यक्ष नीलमबाबु ढुंगेलले सहजीकरण गरेका थिए। उनले नुवाकोटका तीन वटा अस्थायी आश्रय केन्द्रमा बसिरहेका प्रभावित परिवारसम्म टोलीलाई पुग्न सहयोग गरेका थिए।
हाल भोटेकोसी र त्रिशूली बाढिका कारण विस्थापितहरू अस्थायी टहरा तथा पालमा बसिरहेका छन्, जहाँ युनिसेफलगायत विभिन्न मानवीय संस्थाहरूले सहयोग गरिरहेका छन्। युनिसेफका अनुसार बाढीबाट ४ जिल्लाका करिब ८४ हजार २७० जना प्रभावित भएका छन्, जसमा ३२ हजार २१ बालबालिका रहेका छन्। हजारौं मानिस अझै अस्थायी आश्रयमा बसिरहेका छन्। 
भदौ १० को विपद्ले भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो। विश्व स्वास्थ्य संगठनका अनुसार, चीनको तिब्बत क्षेत्रबाट आएको पानीको आकस्मिक बहावका कारण भोटेकोशी नदीमा बाढी आएको प्रारम्भिक आकलन गरिएको छ भने घटनाको विस्तृत अध्ययन जारी छ।
मानवीय अवस्था अझै जटिल छ। नेपालका विपद् व्यवस्थापन निकायका अनुसार असोज ३ गतेसम्म ५ हजार ८७५ जना अझै बेपत्ता छन्, जसमा ३ हजार ५१३ जना रसुवाका मात्रै रहेका छन्। हाल २४ वटा आश्रय केन्द्रमा १ हजार ३४२ जना विस्थापित बसिरहेका छन्।
राहत वितरणका क्रममा टोली प्रमुख इन्द्रकुमार राईले नगद सहयोग अहिलेको अवस्थामा सबैभन्दा प्रभावकारी भएको बताए। “यो संकटको समयमा पीडितहरूलाई नगद सहयोग सबैभन्दा आवश्यक छ। उनीहरूले घर, सम्पत्ति र आम्दानीका स्रोत गुमाएका छन्, त्यसैले उनीहरूले आफ्नो आवश्यकताअनुसार खर्च गर्न सकून् भनेर हामीले नगद सहयोग गर्ने निर्णय गरेका हौं,” उनले भने।
राई नेतृत्वको टोलीले १३ दिने कामकाजमा रहेका परिवार, आफन्त हराएर खोजी कार्यमा जुटेका परिवार र अभिभावक विहिन विद्यार्थीलाई विद्यालयमै पुगेर भेटघाट गर्दै आर्थिक सहयोग समेत गरेको छ। 
टोलीले यो कार्य केवल आर्थिक सहयोगमा सीमित नभई पीडामा परेका परिवारसँग ऐक्यबद्धता जनाउने उद्देश्यले गरिएको पनि जनाएको छ।
रसुवाका विस्थापित परिवारहरू अझै पनि हराइरहेका आफन्तबारे जानकारी पर्खिरहेका छन् र अस्थायी बासस्थानमा अनिश्चित भविष्य सामना गरिरहेका छन्। युनिसेफले नुवाकोट, रसुवा र धादिङका आश्रय केन्द्रहरूमा मनोसामाजिक सहयोगसहित विभिन्न मानवीय सेवा पनि प्रदान गर्दै आएको छ।
यस पहलले भारतको बागडोग्रास्थित गोर्खा समुदाय र नेपालका स्थानीय प्रतिनिधिहरूबीचको सहकार्यलाई उजागर गरेको छ, जसले हालैको भीषण बाढीपछि देखिएको सीमापार मानवीय ऐक्यबद्धताको उदाहरण प्रस्तुत गरेको छ।








