झापा । झापाको सालमारा क्षेत्रबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना युवा पक्राउ परेका छन्।
कात्तिक ११ गते दिउँसो १२ः३० बजे झापा गाउँपालिका–१ सालमारामा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टा, झापाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा झापा गाउँपालिका–१ सालमारा निवासी ३० वर्षीय सलमान मिया र ३६ वर्षीय नसिम अक्तर मिया रहेका छन्।
प्रहरीका अनुसार भारतको कुत्तुवाभिट्टाबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शङ्का लागेर जाँच गर्ने क्रममा सलमान मियाले लगाएको कुर्ताको दाहिने खल्तीमा रहेको साबुनको रातो रङको बट्टाभित्र सेतो प्लास्टिकमा पोका पारी राखिएको खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ फेला परेको थियो।
उक्त पदार्थ प्लास्टिकसहित १६६ ग्राम ३४० मिलिग्राम र प्लास्टिकबाहेक १५० ग्राम १४० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरू सवार मे ७ प ३ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल, बीआर ३७ एए ५३८० नम्बरको होन्डा साइन मोटरसाइकल र दुई थान मोबाइल सेटसमेत बरामद गरेको छ।
उनीहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले दुई राउन्ड हवाई फायरसमेत गरेको जनाइएको छ। पक्राउ परेका दुवै जनालाई बरामद सामग्रीसहित आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कुमरखोद, झापामा बुझाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।








