Skip to main content

Purbi Garjan

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। रातभर अवैध ओसारपसार, साना चालकमाथि कडाइ तर ठूला गिरोहलाई छुट दिने गरेको स्थानीयको आरोप

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टामा सीमा सुरक्षाको जिम्मेवारी सम्हाल्दै आएको सशस्त्र प्रहरी बलको भूमिकामाथि पछिल्ला दिनमा गम्भीर प्रश्नहरू उठ्न थालेका छन्। सीमा सुरक्षा तथा चोरी निकासी–पैठारी नियन्त्रण गर्ने जिम्मेवारी भए पनि नाका आसपासका विभिन्न क्षेत्रहरूबाट रातको समयमा खुलेआम तस्करी भइरहेको पाइएको छ।

मेचीनगरको उत्तर–पूर्वी क्षेत्र तिरिङ, नकलबन्द, तुर्केनी, पिङ्कीठ्याक, मेचीडाँडा, गैरीगाउँ, भान्साखोला तथा सतिघट्टा लगायतका क्षेत्र हुँदै रातभर कपडा, मोटर पार्ट्सजस्ता सामग्री भारतबाट नेपाल भित्रिने क्रम बढ्दो छ।

घटना नम्बर १: अवैध निकासीमा ‘प्रभाव’ को आशंका

नेपालबाट पिकअप गाडीमार्फत चिनियाँ स्याउ, लसुन, सुपारी तथा खरबुजाको बियाँ भारततर्फ अवैध रूपमा निकासी भइरहेको पाइएको छ। यसका लागि सम्बन्धित क्षेत्रमा ड्युटीमा रहेका सुरक्षाकर्मीलाई प्रभावमा पारेर काम भइरहेको पाइएको छ। बिहीबार राति करिब ११ बजे तिरिङ क्षेत्रबाट भारततर्फ लैजाँदै गरेको चिनियाँ स्याउसहितको पिकअप समातिएको घटनाले उक्त दाबीलाई थप बल पुर्‍याएको छ। उक्त क्षेत्रमा अहिले ठुलो मात्रामा चाइनिज स्याउ, लसुन, खर्बुजाको बियाँ तथा सुपारीहरु गोदाममा थन्किएको स्रोतको दावी छ। काकडभिट्टाका एक व्यापारीले दुई हप्ता अघिदेखि नै उक्त क्षेत्रबाट काम गरिरहेका र पछिल्लो समय अर्को समूह पनि थपिएपछि ठुलो मात्रामा तस्करी भइरहेको घटना सार्वजनिक भएको हो ।

घटना नम्बर २: कडाइको दाबी, व्यवहारमा कमजोर नियन्त्रण

काकडभिट्टामा सशस्त्र प्रहरी बलको नेतृत्व डीएसपी योगराज थापाले गर्दै आएका छन । उनले तस्करी नियन्त्रणमा कडाइ गरिएको दाबी गर्ने गरे पनि व्यवहारमा प्रभावकारी नियन्त्रण देखिएको छैन। तस्करी समुहले डिएसपी थापाकै कार्यालय अघिबाट लाइन चलाइरहेका छन् । तर थापा भने चुपचाप बस्नुले उनिमाथि स्थानीयले प्रश्न गरेका छन्।

स्थानीयका अनुसार रातभर तस्करी भइरहँदा पनि त्यसप्रति बेवास्ता गरिएको देखिन्छ। करिब एक महिना अघि लाखौँ मूल्यका मोटर पार्ट्स बोकेको स्कर्पियो गाडी ‘सुटुक्क’ छोडिएको घटनाले पनि यसलाई पुष्टि गर्ने आधार दिएको छ। उक्त गाडी मेची खोलाबाट गैरीगाउँ हुँदै अवैध बाटो प्रयोग गरी भन्सार छलेर सामान ओसारपसार गरिएको थियो। सो विषयमा यसअघि सप्रमाण समाचारसमेत प्रकाशित भइसकेको थियो।

घटना नम्बर ३: साना चालक कारबाहीमा, प्रणालीमाथि प्रश्न

गत साताको शनिबार जोरसिमल चेकपोस्टबाट एउटा सिटी रिक्सा ६८ हजार रुपैयाँ बराबरको जुत्ता र पर्दासहित नियन्त्रणमा लिइएको थियो। तर नियन्त्रणमा लिइएको सिटी रिक्सा सहितको सामान सशस्त्र प्रहरीले रिक्साको मुल्य २ लाख र बरामद सामानको ६८ हजार रुपैयाँ मूल्याङ्कन गरी मेची भन्सार कार्यालयमा मुद्दा दर्ता गरेको थियो। अनुसन्धानका क्रममा जुत्ताको भन्सार नभएको र पर्दाको मात्र भन्सार रहेको खुलेको छ। यस घटनाले गम्भीर प्रश्न उठाएको छ—उक्त सामान बिना भन्सार कसरी नेपाल भित्रियो? दैनिक ज्याला–मजदुरी गर्ने सिटी चालकले प्रज्ञापनपत्र जाँच गर्ने क्षमता राख्छन् कि राख्दैनन्? भाडामा सामान बोकेको चालकले आफ्नै सवारी गुमाउनु कति न्यायोचित हो? सिटी चालकमाथि पनि सशस्त्र प्रहरीले स्पष्ट रुपमा विभेद गरेको देखिन्छ । किनभने भाडामा कुध्ने सिटी सफारी चालकलाई व्यापारीहरुले प्रज्ञापनपत्र हातमा थमाएरै सामान पठाएका थिए। तर सशस्त्र प्रहरीले सामान र प्रज्ञापनपत्रमा उल्लेखित विवरण नमिलेको भन्दै सिटी रिक्सा समेत मुद्दामा बुझाइदियो। सशस्त्र प्रहरीका कारण एउटा गरिब व्यक्तिले आफ्नो दैनिक गरिखाने भाँडो गुमाउनुपर्यो। उक्त सिटी रिक्साको किस्ता समेत तिरी नसकेको अवस्थामा प्रहरीले जफत गरेर भन्सार बुझाइदिएपछि सिटी चालकको गुनासो छ – “मैले भाडामा सामान बोकेको हुँ। सामान र भन्सार पेपर नमिलेको भए सामान धनिलाई कारबाही गर्नुपर्थ्यो। मेरो गरिखाने भाँडो किन खोसियो? के गरिबलाई गरिखाने अधिकार छैन ? कारबाही त नाकामा भन्सार नगरी सामान छिराउने प्रहरीलाई गर्नुपर्थ्यो होला नि !”

घटना नम्बर ४: ‘सेटिङ’मा छुटेको आरोप

केही दिनअघि ज्यामिरगढी क्षेत्रबाट ८२ हजार रुपैयाँ बराबरको कपडासहित नियन्त्रणमा लिइएको ७०२९ नम्बरको सिटी रिक्सा पछि मुद्दा अगाडि नबढाई ‘सेटिङ’मै छोडिएको आरोप छ। सोही दिन काकडभिट्टा बसपार्क क्षेत्रमा मेची भन्सारबाट फिटिङ गरेर ल्याइएको कपडासहितको सिटी सफारी पनि नियन्त्रणमा लिइएको थियो। तर पछि आधा सामान मात्र राखी बाँकी सामानसहित सवारी छोडिएको पाइएको छ। लाखौंका सामान बोकेका र स्पष्ट तस्करी मै संलग्न रहेका सिटी रिक्सा छाडेको सशस्त्रले भन्सार पेपर हातमा बोकेर भाडामा सामान लिएर धुलाबारी जाँदै गरेको रिक्सालाई भने प्रज्ञापनपत्र र सामानको परिमाण नमिलेको भन्दै मुद्दा दर्ता गरेर रिक्सा नै जफत गर्नुले उनिहरुको मनोमानी बुझिन्छ ।

दोहोरो मापदण्डको आरोप, छानबिनको माग

यी घटनाहरूले कानुन कार्यान्वयनमा सशस्त्र प्रहरीले दोहोरो मापदण्ड अपनाइएको पुष्टि हुन्छ ।अझ भनौं नाकामा कानुन होइन सशस्त्र प्रहरीको सनक चल्छ। गरिब सिटी रिक्सा सवारी चालक र साना व्यापारीमाथि कडाइ गरिने तर ठूला मूल्यका तस्करीमा संलग्न व्यक्तिहरूलाई उन्मुक्ति दिइने प्रवृत्तिले सशस्त्र प्रहरीको नियतमाथि प्रश्नचिन्ह खडा गरेको छ।

स्थानीयले सशस्त्र प्रहरी बलभित्रै आन्तरिक छानबिन आवश्यक रहेको बताएका छन्। यसअघि पनि सोही क्षेत्रमा ‘सेटिङ’मार्फत विभिन्न सामग्री र सवारी साधन छुटाइएको घटनाहरू बाहिर आइसकेका छन्। तर हालसम्म सम्बन्धित निकायबाट ठोस कारबाही नभएको भन्दै सरोकारवालाले निष्पक्ष अनुसन्धानको माग गरेका छन्।

कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्ने संवैधानिक व्यवस्था हुँदाहुँदै कार्यान्वयनमा देखिएको असमानताले सीमा सुरक्षा संयन्त्रप्रति जनविश्वास कमजोर बन्दै गएको देखिन्छ। अब सशस्त्र प्रहरी बलको नेतृत्व तथा सम्बन्धित निकायले यस विषयमा कस्तो कदम चाल्छन् भन्ने चासो सर्वसाधारणमा बढ्दो छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali