मेचीनगर । मेचीनगर नगरपालिकाको आयोजना तथा सामुदायिक विकास मञ्चको सहजीकरणमा बिहीबार वडास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
मेचीनगर–२ स्थित ज्येष्ठ नागरिक भवनमा आयोजित कार्यक्रममा सहभागी नगरवासीले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, सडकको गुणस्तर, फोहोर व्यवस्थापन तथा काँकरभिट्टास्थित सार्वजनिक शौचालयको अवस्थाबारे प्रश्न र जिज्ञासा राखेका थिए ।
कार्यक्रममा स्थानीय विकास ओझाले विकास निर्माणका योजनाको गुणस्तर परीक्षण, गत आर्थिक वर्षमा सम्पन्न योजनाको अवस्था, विद्यालयको खेलमैदान र नगरपालिकाको भुक्तानी प्रक्रियाबारे प्रश्न उठाएका थिए । उनले काँकरभिट्टाको सार्वजनिक शौचालयको अवस्थाबारे समेत चासो व्यक्त गरे ।
त्यस्तै, मेचीनगर–२ का हरिबहादुर राईले हाटबजार क्षेत्रको फोहोर व्यवस्थापन र पिच सडकको अवस्थाबारे प्रश्न गर्दै कालोपत्रे गरिएको सडक केही वर्षमै भत्किन थालेकोप्रति चिन्ता व्यक्त गरे । ठूला गाडी तथा टिपर सञ्चालनका कारण सडकमा जोखिम बढेको उल्लेख गर्दै उनले सडकको भारवहन क्षमता र एउटै सडक पटक–पटक कालोपत्रे गर्नुपर्ने अवस्थाबारे जिज्ञासा राखे ।
मेचीनगर–५ आदर्श टोलका गुरागाईंले वैदेशिक रोजगारीबाट फर्किएका नगरवासीको अवस्था र उनीहरूका लागि सञ्चालित कार्यक्रमबारे प्रश्न गरेका थिए । नगरस्तरीय आप्रवासी समिट सञ्जाल गठन गरी काम गरिरहेको भए पनि आर्थिक सहयोग प्राप्त नभएको उनको गुनासो थियो ।
सहभागीका प्रश्नको जवाफ दिँदै नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले विधि र प्रक्रियाभन्दा बाहिर गएर कसैले पनि नगरपालिकाबाट भुक्तानी लिन नसक्ने स्पष्ट पारे । उपप्रमुख मीना पोखरेल उप्रेतीले नगरवासीका गुनासा र सुझावलाई ग्रहण गर्दै आगामी कार्यक्रम अघि बढाइने बताइन् ।
कार्यक्रममा उठेका अधिकांश प्रश्नको जवाफ प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले दिएका थिए । नगर शिक्षा प्रमुख होमनाथ भण्डारी, राजस्व प्रमुख प्रेम पराजुली र मेचीनगर–२ का वडाध्यक्ष दीपक बराललगायतले पनि सहभागीका जिज्ञासाको जवाफ दिएका थिए ।
कार्यक्रममा प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख अन्तप्रकाश वस्ती, स्वास्थ्य शाखा प्रमुख सबिता सापकोटा, आर्थिक प्रशासन शाखाका दीपक भट्टराई, कार्यपालिका सदस्य माया प्याकुरेललगायतको आतिथ्यता रहेको थियो ।
सामुदायिक विकास मञ्चका अध्यक्ष सोमराज ढकालले सहजीकरण गरेको कार्यक्रममा गोविन्द न्यौपानेले सिटिजन रिपोर्ट कार्ड प्रस्तुत गरेका थिए ।
यसअघि नगरपालिकामा आयोजित सार्वजनिक सुनुवाइमा नगरवासीको सहभागिता न्यून देखिएपछि नगरपालिकाले वडास्तरमै कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको थियो । सोही योजनाअनुसार पहिलो चरणमा वडा नम्बर १ देखि ५ सम्मका वडावासीलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।








