Skip to main content

Purbi Garjan

झापा कपको उपाधिका लागि सोमबार चर्च ब्वाइज र एनआरटी भिड्दै

बिर्तामोड। झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी प्रथम झापा कपको उपाधिका लागि भोलि चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम ९एनआरटी० खेल्दै छन् ।

फाइनल खेलको अघिल्लो दिन आज खेलमैदानमा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुबै टिमले उपाधि जित्ने दाबी गरेका छन् ।
ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज र छैटौँ स्थानको एनआरटी १० दिनपछि पुनः उपाधि होडमा रहेका छन् । इलाम गोल्डकपपछि उनीहरु छिमेकी जिल्ला झापामा झापा कपको फाइनलमा खेल्दै छन् ।

झापा कपको पहिलो चरणमा गोर्खा ब्वाइज स्पोर्टस् क्लबलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको चर्च ब्वाइजले फाइनल प्रवेशका लागि सिरहाको सलहेश फुटबल क्लबलाई पराजित गरेको थियो ।

त्यस्तै, चित्लाङ फुटबल क्लबलाई रोक्दै अन्तिम चारमा प्रवेश गरेको एनआरटी इटहरीको राष्ट्रिय जागृतिलाई टाइब्रेकरमा पछि पार्दै फाइनल पुगेको हो ।

प्रि–म्याच कन्फ्रेन्समा चर्च ब्वाइजका टिम कप्तान कमल श्रेष्ठ र प्रशिक्षक सुमन श्रेष्ठले फाइनलको उपाधि हात पार्ने दाबी गरेका छन् । बेन्चमा रहेका अनन्त तामाङ प्लेइङ ११ मा रहने प्रशिक्षक श्रेष्ठले बताए । इलामको हारको बदला लिनेगरी खेल खेल्ने उनको भनाइ थियो ।

एनआरटीका कप्तान अञ्जन विष्ट र प्रशिक्षक जीवन सिंकेमानाले पनि उपाधि आफ्नो टिमले जित्ने दाबी गरेका छन् । आफ्नो टिम सन्तुलित रहेको र खेलाडीहरु युवा तथा एकताबद्ध रहेकाले बलियो रहेको प्रशिक्षक सिंकेमानाले बताए । प्रिम्याच कन्फ्रेन्सको सहजीकरण प्रतियोगिता संयोजक केशवराज दाहालले गरेका थिए ।

यसअघि, यही रंगशालामा गत वर्ष फागुनमा भएको छैटौँ झापा गोल्डकपमा चर्च ब्वाइजले बाइमा रहेको एनआरटीलाई पहिलो चरणमै रोकेको थियो ।

छैटौँ झापा गोल्डकपको च्याम्पियन चर्च ब्वाइज यही मंसिर अन्तिम साता भएको इलाम गोल्डकपमा भने एनआरटीसँग फाइनलमा पराजित भएको थियो । एनआरटीले चर्च ब्याइजलाई ३–० गोलअन्तरले पराजति गर्दै उपाधि जितेको थियो ।
त्यस्तै, सहिद स्मारक ए डिभिजन लिगमा चर्च ब्वाइज हाबी देखिएको थियो । लिगको छैटौँ चरणमा चर्च ब्वाइज र एनआरटीले २–२ गोलको बराबरी खेलेका थिए । १५ औँ चरणमा चर्च ब्वाइजले एनआरटीलाई ४–१ गोल अन्तरले हराएको थियो ।
चर्च ब्वाइजमा लिगताकाका खेलाडी अनन्त तामाङ मात्र रहेका छन् भने त्यो बेलाका गोलकर्ता अञ्जन विष्ट हाल एनआरटीमा आवद्ध छन् ।

चर्च ब्वाइज बि डिभिजन जितेर ए डिभिजन च्याम्पियन बनेको ललितपुरे टोली हो भने ९१ वर्षको इतिहास बोकेको एनआरटीले पाँचपटक शीर्ष लिग जितेको छ ।
प्रिम्याच कन्फ्रेन्समा झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङले झापा कपका विषयमा उठेका प्रश्नको जवाफ दिएका थिए ।
प्रतियोगितामा नेपाल र भारतका १० टिमको सहभागिता रहेको थियो । आयोजक झापा–११ सहित भारतको जिटिए दार्जिलिङ, गोर्खा ब्वाइज रुपन्देही, एलएक्स सिटी मोरङ, राष्ट्रिय जागृति क्लब इटहरी, सलहेश युथ क्लब सिरहा, त्रिभुवन आर्मी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, एनआरटी क्लब काठमाडौँ र चित्लाङ एफसी काठमाडौँ सहभागी भएका थिए ।

प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार नगद पाउनेछन् । प्रतियोगिताको उच्च गोलकर्ता एकजना तथा उत्कृष्ट गोलकिप्पर एकजनालाई ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

त्यस्तै, प्रतियोगिताको एक उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घोषणा गरेर नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट एकजना खेलाडीलाई मस्ट भ्यालुएवल खेलाडी घोषित गरेर नगद १ लाख रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।

प्रतियोगितालाई रोमाञ्चक बनाउँदै प्रोत्सहान गर्न बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन एकजना भाग्यशाली दर्शकलाई हिमस्टार टिभी प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali