Skip to main content

Purbi Garjan

तमोर कोरिडोरका पुल निर्माणमा ढिलाइ हुँदा सास्ती भोग्दै यात्रु

पाँचथर, ११ असोज । तमोर कोरिडोर सडकका पुल निर्माणमा ढिलाइ हुँदा यात्रुहरूले सास्ती खेप्दै आएका छन् । खोलाहरूमा अकस्मात् बाढी आउँदा सवारीका साधनहरूले बीच बाटोमै अलपत्र पर्ने गरेका छन् ।

पूर्वी पहाडमा निर्माणाधीन चीन र भारत जोड्ने द्रुतमार्ग तमोर कोरिडोरको मूलघाट गणेशचोक खण्डमा सवारीका साधन सञ्चालन हुन थालेको लामो समय भइसकेको छ । एक सय १० किलोमिटर सडकमध्ये हालसम्म ५४ किलोमिटर कालोपत्र नै भइसकेको छ । तर यस सडकमा पर्ने साँवा खोलाबाहेक अन्यत्र कुनै पनि खोलामा पुल निर्माण हुन सकेको छैन । पुल नहुँदा वर्षायाममा अचानक आउने बाढीका कारण सवारीका साधन गन्तब्यमा पुग्न नपाइबीचमै रोकिने गरेका छन् ।

तमोर कोरिडोर सडकको मुलघाट गणेशचोक खण्डको सबैभन्दा उत्तरमा पर्ने हेंवा खोलामा पुल निर्माणका लागि डिजाइन मात्रै बनेको छ । हेंवा खोलामा पुल तथा डाइभर्सन नहुँदा फिदिमबाट छोटो दूरीमा जिल्लाको हिलिहाङ र याङवरक गाउँपालिकाका विभिन्न वडा तथा यो बाटो हुँदै ताप्लेजुङ जाने यात्रु मर्कामा परेका छन् । यहाँ ४० मिटर लामो पुल निर्माण गर्नुपर्ने डिजाइन बनेको छ ।

बाढीले हेंवा खोलामा कोरिडोरको करिब एक किलोमिटर सडक क्षतिग्रस्त बनाएको छ । यहाँ सडकको मार्ग परिवर्तन गर्नुपर्ने भएकाले पुल निर्माणमा ढिलाइ भएको पुल सेक्टर कार्यालय धरानका प्रमुख सिडिई दीपक झाले जानकारी दिनुभयो ।

तमोर कोरिडोरमा पर्ने बघुवा खोला पुलको ठेक्का स्वामीनारायाण आशिर्वाद जेभीले लिएको छ । जसको अवधि आगामी वैशाक २९ मा सकिने भए पनि काम नै सुरु हुन सकेको छैन । जसको लम्बाइ ४० मिटर रहेको छ ।

स्वामीनारायाण आशिर्वाद जेभीले नै ठेक्का लिएको खम्बुवा खोला पुलमा भने ४० प्रतिशत भौतिक प्रगति देखिएको छ । यहाँ ३८ प्रतिशत वित्तीय प्रगति भएको पुल सेक्टर कार्यालय धरानले जनाएको छ । यस पुलको लम्बाइ पनि ४० मिटर नै रहेको छ ।

सोही निर्माण कम्पनीले ठेक्का लिएको रघुवा खोला पुलमा १५ प्रतिशत भौतिक प्रगति भएको कार्यालय प्रमुख झाले जानकारी दिनुभयो । उहाँका अनुसार यस पुल निर्माणको ठेक्काको अवधि पनि आगामी वैशाख २९ गतेसम्म रहेको छ । यस पुलको लम्बाइ १५० मिटर रहेको छ । बघुवा, खम्बुवा र रघुवा खोला पुलको कूल लागत रु २२ करोड ५२ लाख ७५ हजार ७९० रहेको छ ।

यही असोज २७ गते म्याद समाप्त हुन लागेको छरुवा खोला पुल निर्माणमा हालसम्म ५० प्रतिशत भौतिक प्रगति भएको छभने ४७ प्रतिशत वित्तीय प्रगति भएको छ । यस कार्यको ठेक्का लुम्बिनी–रौताहा–खानी जेभीले लिएको छ । छरुवा खोला नामजस्तै धेरै भङ्गालो फाटिएको खोला हो । जसमा निर्माणाधीन पुलको लम्बाइ १६५ मिटर रहेको छ । जुन यस कोरिडोरमा निर्माण हुने सबैभन्दा लामो पुल भएको झाको भनाइ छ । यस पुल निर्माणको कूल लागत रु १७ करोड २३ लाख ७९ हजार ५४० रहेको छ ।

पानीको मात्रा ठूलो भएका कारण यात्रुहरूलाई सधैँ दुःख दिइरहेको नावा खोलामा पुल निर्माणको हालसम्म भौतिक प्रगति ३० प्रतिशत मात्रै छ । शर्मा सगुन जेभीले ठेक्का लिएको यो पुल निर्माण सम्झौताको म्याद भने ०८३ साल फागुन १२ गतेसम्म छ । नावा खोलामा निर्माणाधीन पुलको लम्बाइ १५० मिटर रहेको छ । यहाँ पुलका पिल्लर निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

तर सोही कम्पनीले सोही समयभित्र सम्पन्न गर्ने गरी ठेक्का लिएका लखुवा खोला र लोरिपा खोलामा भने निर्माणको काम नै सुरु हुन सकेको छैन । लखुवा खोला पुलको लम्बाइ १५० मिटर र लोरिपा खोला पुलको लम्बाइ २० मिटर रहेको छ । लखुवा, लोरिपा र हेंवा खोला पुलको कुल लागत रु ३७ करोड २१ लाख ५३ हजार ६४० रहेको पुल सेक्टर कार्यालयका प्रमुख झाले जानकारी दिनुभयो ।

बजेट अभावका कारण आफूहरूले निर्माण व्यवसायीलाई दबाबमा राखेर काम लगाउन नसकेको झाको भनाइ छ । उहाँका अनुसार गत आर्थिक वर्ष २०८१–०८२ मै निर्माण व्यवसायीले पाउनुपर्ने करिब रु चार करोड रकम अझैसम्म निकासा हुन सकेको छैन । “गत आवकै केही रकम हामीले निकासा दिन सकेका छैनौँ”, कार्यालय प्रमुख झाले भन्नुभयो, “रकमान्तर भएर बजेट थप गर्ने कुरा थियो । तर भनेअनुसार भएन ।”

बजेट कम भएका कारण कार्यालयले ठेक्का परिचालन गर्ने बजेट उपलब्ध गराउन नसक्दा निर्माण व्यवसायीले काममा ढिलासुस्ती गरेका हुन् । तर यसको मार भने यात्रुले खेप्दै आएका छन् । विशेषत पाँचथर–धनकुटा सीमावती नावा खोलामा चैतदेखि कात्तिकसम्म पानीको बहाव घटबढ हुने गर्दछ । जसकारण सवारीसाधनको नियमित आवागमन प्रभावित हुने गरेको छ ।

तमोर कोरिडोर सडक योजना कार्यालयका सूचना अधिकारी जयराम अधिकारी सडक बाह्रै महिना सवारी सञ्चालनयोग्य भए पनि पुल निर्माण नहुँदा यात्रुहरूले समस्या भोग्नुपरेको बताउनुहुन्छ । “सडक त बाह्रैमास सञ्चालन गर्न योग्य भएको छ । अब पुल निर्माणमा ढिलाइ हुनुभएन”, अधिकारीले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali