कपिलवस्तु। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जेनजी बिद्रोहले संसदीय व्यवस्थाको असफलता सिद्ध गरेको दाबी गरेका छन् ।नेकपा केन्द्रीय कार्यालय कपिलवस्तुमा सुरु भएको केन्द्रीय समिति बैठकमा बोल्दै महासचिव विप्लवले उक्त कुरा बताएका हुन।
“जेनजी बिद्रोह काङ्ग्रेस, एमाले र माओवादी केन्द्र जस्ता पार्टी र तिनका नेताहरूको मात्रै असफलता होइन”- उनले भने -“यो अन्ततः देशको अर्थ-राजनीतिक व्यवस्थाको असफलता हो, यसले संसदीय व्यवस्था अब संभव छैन भन्ने कुरालाई नै स्पष्ट गरेको छ।”
सम्बोधनको क्रममा महासचिव विप्लवले नेपालमा सत्ता, समाज र राज्यका हरेक निकायमा भएको दलीयकरण, भ्रष्टाचार लगायतका कारणले जेनजी बिद्रोह जन्माएको भएपनि बिद्रोहको परिणाम पश्चगमन र यथास्थितिवादतर्फ मोडिएको बताए।
महासचिव विप्लवले जेनजी बिद्रोहका आन्तरिक एवम् बाह्य आयामबारे चर्चा गर्दै नेपाल अहिले अन्तरास्ट्रिय राजनीति ध्रुवीकरणको चपेटामा परेको बताए।
उनले जेनजी बिद्रोहमा राज्यका अंगहरुको नै कुनै न कुनै रूपमा संलग्नता देखिएको उल्लेख गर्दै नेपालको राज्यका निकायहरुमा बिदेशी सञ्जालको कतिसम्म नियन्त्रण रहेछ भन्ने कुरा खुलासा भएको समेत दाबी गरे।
`बिशिस्ट परिस्थितिको बिशिस्ट कार्यभार´ शीर्षकको दस्तावेज पेश गर्दै महासचिव विप्लवले देश अर्को उथलपुथलको भागिदार बन्न सक्ने बताए।
आइतबार देखि सुरु भएको बैठक मङ्गलबारसम्म सम्पन्न हुने र बैठकमा जिल्ला इन्चार्ज र जनबर्गीय संगठनका प्रमुखहरुले दस्तावेज माथि धारणा राख्ने कार्यक्रम सोमबार बिहान ८ बजे बाट हुने जानकारी दिइएको छ।








