Purbi Garjan

पूर्वाधार विकास: पाँच वर्ष भित्रै देशको नमुना बन्न सक्छ मेचीनगर

Advertisement

प्रविण अधिकारी

मेचीनगर । पूर्वाधार विकास भनेको मुलतः कुनै पनि देश, क्षेत्र वा कुनै पनि भूगोलको आर्थिक, सामाजिक, राजनीतिक, भौगोलिक अवस्था कस्तो छ भनेर जनाउने आधार हो । कुनै सहर वा अन्य क्षेत्रमा सेवा प्रदान गर्ने सुविधा र प्रणालीहरूको सेट हो र यसको अर्थ व्यवस्था, घरपरिवार र फर्महरूको कार्यका लागि आवश्यक सेवा र सुविधाहरू समावेश गर्दछ ।

कुनै पनि देश विकासको आधार भनेको पूर्वाधार विकासलाई नै मान्न सकिन्छ । जनचाहना अनुसारको पूर्वाधार विकास सँगै औधोगिक क्रान्ति गर्ने हो भने त्यसले अर्थतन्त्रको नयाँ आधार स्तम्भ खडा गर्दछ । यस्तै मेचीनगर नगरपालिका भित्र आफ्नै स्रोतको उपयोगबाट बलियो अर्थतन्त्र र दिगो विकासको खाका तय गर्न सकिन्छ । भौगोलिक दृष्टिकोणले हेर्दा मेचीनगर समथर फाँटमा रहेको र प्रकृतिको बरदान भन्दा फरक पर्दैन । हात्तीका लागि प्रख्यात बाहुनडाँगी यसै नगरभित्र पर्छ । जहाँ प्रायःजसो दिउँसै हात्ती हेर्न पाइन्छ । तर त्यसका लागि आवश्यक मापदण्डअनुसार भौतिक पुर्वाधार विकासमा नगरले ध्यान पुर्‍याउन पर्ने देखिन्छ। उसैपनि मेचीनगर आजभन्दा करिब २५ वर्ष अगाडी नै पुर्वी नेपालको औधोगिक तथा व्यापारिक केन्द्रको रूपमा चिनिएको स्थान हो । पुर्वी नेपालको प्रमुख भन्सार नाका समेत रहेको यश क्षेत्र भारत तथा बंगलादेशसँग व्यापार गर्ने नाका पनि हो ।

यस नगरपालिकामा हिन्दू, किरात, बुद्ध, श्रीकृष्ण प्रणामी, मुस्लिम, शैव, वैष्णव, साई, यशु तथा मानव धर्म मान्नेको वाहुल्य पाइन्छ। नेपाल अधिराज्यमा मात्र नभएर विश्वमै लोपोन्मुख किसान जाती यो नगरमा मात्र बसोबास गरेको पाइन्छ। यस बाहेक यहाँ धिमाल, दनुवार, मेचे, थारू चौधरी, सुनुवार, राई, लिम्बु, भोटे, तामाङ्ग, शेर्पा, नेवार, मगर, गुरुङ्ग, भुजेल, राजवंशी, जोगी, ब्राम्हण, क्षेत्री, माझी र कुमाल जातिको बसोवास रहेको छ। उल्लेखित विभिन्न जात जाति भाषाभाषीहरुको कला संस्कृतिको प्रवर्द्धन गर्न आवश्यक पुर्वाधार विकासमा नगरले ध्यान पुर्‍याउने हो भने यो पनि नगरको आम्दानीको स्रोत बन्न सक्छ।

मेचीनगरमा प्रख्यात अनि ऐतिहासिक धार्मिक पर्यटकीय स्थल कृष्ण थुम्की , पातालगङ्गा, बौद्ध गुम्बा, विश्वनाथ मन्दिर, पञ्चमुखी हनुमान मन्दिर, दुर्गा मन्दिर, काली मन्दिर, पशुपतिनाथ मन्दिर, कृष्ण प्रणामी मन्दिर जस्ता थुप्रै धार्मिक तथा पर्यटकीय स्थलहरु छन् । नगरले यी स्थलहरुको मर्मत सम्भार र भौतिक पुर्वाधारलाई सुविधा सम्पन्न बनाउनतर्फ ध्यान दिन जरुरत देखिन्छ ।

विशेषतः पुर्वाधार विकासले बलियो अर्थतन्त्रको आयाम भर्छ भन्ने उदाहरण हाम्रो मेचीनगरमा रहेका आाखा अस्पतालहरुलाई मान्न सकिन्छ । जहाँ आँखा उपचारका लागि नेपालका मात्रै नभएर भारत, भुटान , बंगलादेश  लगायतका विभिन्न मुलुकबाट बिरामीहरु आउने गरेका छन् । एकातर्फ सहज उपचार र अर्कोतर्फ सुविधासम्पन्न भौतिक संरचनाहरु भएकै कारण बिरामीहरुको रोजाइमा हाम्रो नगरमा रहेको अस्पताल परेको देखिन्छ । जुन कुरा यो नगरले गर्व गर्न लायक उदाहरणका रुपमा मान्न सकिन्छ । पछिल्लो समय हाम्रै नगरमा ठुला तारे होटलहरु सञ्चालनमा आएका छन् भने केही धमाधम बनिरहेका छन्। जसले गर्दा नगरको आर्थिक स्रोत बढ्दै गएको छ भने अर्कोतर्फ हजारौं युवायुवतीहरुको रोजगारको  केन्द्र समेत बन्न पुगेको छ। यसले एकातर्फ स्थानीय सरकारको अर्थतन्त्र बलियो बनाएको छ भने अर्कोतर्फ युवा जनशक्ति विदेश पलायनमा रोक्न समेत सफल भएको देखिन्छ । यस्ता कार्यहरुमा मुख्यतः पुर्वाधार विकासको स्पष्ट भुमिका र यसले पुर्‍याउने फाइदा को मुल्यांकन गर्न सकिन्छ ।

मेचीनगरलाई देशकै नमुना नगर र आफ्नै स्रोतले धान्न सक्ने नगर बनाउनका निमित्त स्थानीय सरकारले पुर्वाधार विकास र त्यसको सहि सदुपयोग सँगै जनपरिचालन गर्न पहल थाल्ने हो भने अबको केही वर्ष भित्र नै मेचीनगर नगरपालिका देशकै उत्कृष्ट नगरपालिका बन्न सफल हुनेछ। एकातर्फ सुविधासम्पन्न एसियन हाइवेले हाम्रो नगरलाई जोडि सकेको अवस्था छ भने नगरमा गौरवका दुइ ठुला सडक निर्माणका आयोजनाहरु धमाधम निर्माण भइरहेका छन् । अर्कोतर्फ नगरको उत्तरी भेगमा मदन भण्डारी राजमार्गको काम समेत भइरहेको छ।  जसले गर्दा यहाँका जनतालाई सुविधासम्पन्न  सडकले जोडिरहेको महशुस गर्न सकिन्छ । यातायात तर्फ रेलमार्ग सम्मको योजना हाम्रै नगरबाट बन्ने गरिको योजना केन्द्रीय सरकारले गरिरहेकै छ। केन्द्रीय आयोजनाबाट बञ्चित भएका नगरका केहि क्षेत्रमा  स्थानीय सरकारले सम्बन्धित भूगोलको आवश्यक अनुसारको पुर्वाधार विकासको खाका तयार गरेर अगाडि बढ्नुपर्ने देखिन्छ ।

नेपालमा भौतिक पूर्वाधारको क्षेत्रमा जनचाहना अनुसार निर्माण हुन नसक्नु र बनेका संरचनाहरु समेत प्रयोगविहीन हुने गरेका छन् । जसका कारण एकातर्फ ‘राज्यको लगानी बालुवामा पानी’ खन्याए झैँ को परिस्थिति बनेको छ । हाम्रो नगरमा खेलकुदका गतिविधि हरु हुनेमात्र गरेका छैनन्  विभिन्न विदामा त्यतिकै मात्रामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चाको शिखर चुम्न सफल खेलाडीहरु पनि दर्जनौं छन्। अझै महिला क्रिकेटमा त हाम्रो नगरले बेलाबखत एकछत्र राज गर्न पुग्छ। यो कुरालाई मध्यनजर गर्दै  स्थानीय सरकारले नगरमा सुविधासम्पन्न क्रिकेट रंगशाला , फुटबलका लागि सुविधासम्पन्न खेलमैदान निर्माण गर्नुपर्ने देखिन्छ । यदि यो भयो भने विभिन्न देशबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु हाम्रो नगरमा आएर खेल्ने वातावरण बन्ने थियोे । जुन नगरको विकासको कोसेढुंगा बन्ने थियोे । नगरले आफ्नो बजेटमार्फत विषेश प्राथमिकतामा राखेर यहाँको शिक्षा , स्वास्थ्य, कृषि, उद्योग र खेलकुद क्षेत्रमा मात्रै केन्द्रित भएर पुर्वाधार विकासमा ध्यान पुर्‍याउने हो भने पनि अबको पाँच वर्षमा मेचीनगर देशकै नमुना नगर बन्ने निश्चित छ।

विडम्बना भन्नुपर्दा नेपालमा पूर्वाधार विकासको आवश्यकता त्यतिबेला मात्रै गरिन्छ जतिबेला नेपाली जनताले चरम दुःखकष्ट भोग्न बाध्य हुन्छन् । २०७२ सालमा नेपालले ठुलो भुकम्प झेल्नुका साथै १० हजार बढी मानिसको मृत्यु भोग्नुप¥यो । त्यतिबेला सबैलाई भौतिक पूर्वाधार विकास नहुँदाको सास्ती, राहत वितरण तथा उद्धार कार्यमा कठिनाई लगायतका समस्या झेल्नुपर्यो । नेपालमा आर्थिक विकासको प्रशस्त सम्भावना पनि नभएको होइन । प्राकृतिक साधन स्रोतको पनि पर्याप्त उपलब्धता छ भने युवा जनशक्ति पनि प्रशस्त छ । तर, आर्थिक विकासले गति लिएको छैन । किन ? किनभने त्यसका लागि चाहिने भौतिक पूर्वाधारको चरम अभाव छ ।

नेपालको अर्थतन्त्रलाई वृद्धि गर्न, स्वदेशमै लाखौं युवाहरुलाई स्वरोजगार अर्थात् उद्यमी बनाउन, देशलाई औधोगिकीकरण गर्न र लाखौं जनतालाई परनिर्भरबाट आत्मनिर्भर बनाउने माध्यम भनेको नै पूर्वाधार विकास हो । तर, हाम्रो क्षेत्रमा पूर्वाधार विकास भन्दा अगावै अन्य कार्यको थालनी गरिन्छ । अव्यवस्थित उत्पादन प्रणाली र पूर्वाधार विकास नहुनुले आज लाखौं युवाहरु विदेशिनु परेको छ ।

राज्यले योजनाबद्ध ढंगले पूर्वाधार विकासलाई ध्यानमा राखेर जनचाहना र सम्बन्धित क्षेत्रका आवश्यकता अनुसार पूर्वाधार विकासलाई अगाडि बढाउनुका साथै राष्ट्रिय राजमार्ग, जलविद्युत् परियोजना, सञ्चार तथा कृषि क्षेत्रमा लगानी र आवश्यकता अनुसारको भौतिक संरचना निर्माणले नेपालको साना र मध्यमस्तरीय उद्योग विकासमा प्रत्यक्ष मदत पुग्दछ ।

नेपालको अर्थतन्त्र उकास्न, युवा तथा दक्ष जनशक्ति पलायन रोक्न, बसाइँसराइ रोक्न र देशलाई विकसित राष्ट्रका रुपमा परिवर्तन गर्न नेपाल जस्तो देशमा असम्भव छैन । प्राकृतिक हिसाबले पनि संसारमै उत्कृष्ट मध्यमा पर्ने नेपालको अर्थतन्त्रको मुल आधार भनेको मुख्यतः कृषि पर्यटन र जलविद्युत नै हो । नेपालमा पर्यटनको प्रचुर सम्भावना छ । तर, विडम्बना त्यति नै मात्रामा छ, जहाँ पूर्वाधार विकास नहुँदा आन्तरिक तथा बाह्य पर्यटकबाट हामीले लिनुपर्ने जति फाइदा लिन सकेका छैनौं । कृषितर्फ झनै ठुलो समस्या छ ।

एकातर्फ राज्यले किसानलाई समयमा मल, बीउ, विजन समेत उपलब्ध गराउन सकेको छैन भने अर्कोतर्फ आधुनिक कृषि प्रणालीको उल्लेख्य मात्रामा विकास हुन नसकेका कारण पनि यो क्षेत्र डामाडोल बनेको छ । पूर्वाधार विकास नहुँदा भौगोलिक विकटता भएका क्षेत्रहरुमा राज्यले समयमा कहिल्यै पनि किसानहरूको माग पूरा गर्न सकेको छैन । बाली लगाउने बेला किसानले मागेको मल बाली भित्र्याउने समयमा पुग्ने गेका कयौं उदाहरणहरु छन् जसमा पूर्वाधार विकास नहुनु नै मुल कारण मानिन्छ ।

नेपालमा पछिल्लो समय जति पनि पूर्वाधारका क्षेत्रमा विकास भएका छन् ती पनि दिगो नभएको विभित्र प्रतिवेदनहरुले पुष्टि गरेका छन् । पूर्वाधार विकासका परियोजनाहरुलाई दिगो बनाउन र समग्र सामाजिक परिवर्तन गर्न समुदायस्तरबाटै आवश्यकता अनुसारको जनसहभागिता गराउन नसक्नु प्रमुख समस्याका रुपमा मान्न सकिन्छ । विकास क्षेत्रमा लगानी बढ्दा स्वतः स्थानीय जनसहभागिता पनि बढ्न जान्छ र समुदायस्तरमा नै सकारात्मकता र सृजनात्मक वातावरण निर्माण हुन्छ । यसरी स्थानीय तहमा पूर्वाधार परियोजनाप्रति अपनत्व बढ्दा विकास निर्माणका कार्यहरु दिगो हुन जान्छ ।

नेपाललाई इतिहासदेखि अहिलेसम्म पनि कृषि प्रधान देश मानिन्छ । तर, आज नेपालको कृषि क्षेत्र र किसानका समस्याहरुसँग राज्य टाढा देखिन्छ । एकातर्फ पहाड तथा हिमाली क्षेत्रमा हेर्ने हो भने पूर्वाधार विकासको अभाव सँगै  अव्यवस्थित सहरीकरण र बसाइँसराइका कारण हजारौं हेक्टर खेतीयोग्य जमिनहरु बाँझै अवस्थामा छन् भने अर्कोतर्फ तराई क्षेत्रमा बढ्दो सहरीकरण र प्लटिङका कारण खेतीयोग्य जमिन सकिँदै गएको देखिन्छ । राज्यले भौगोलिक अवस्था र जनचाहना अनुरुपको पूर्वाधार विकास गर्न नसक्नु, भएका विकास पनि दिगो नहुनुले आर्थिक विकासमा सकारात्मक नतिजा हात पार्न सकेको देखिन्न ।

पूर्वाधार विकास नै कुनै पनि देशको अर्थतन्त्रको हिस्सा अर्थात देश विकासको आधार बन्न सक्छ भन्ने उदाहरण आज विश्वका थुप्रै देशहरुलाई मान्न सकिन्छ । आजभन्दा झन्डै ६०÷६५ वर्ष अगाडि युद्धग्रस्त देश दक्षिण कोरियालाई खाद्यान्न सहयोग गर्ने नेपाल आज किन यो अवस्थामा पुग्यो भन्ने विश्लेषण र निचोडमा पुग्न जरुरत देखिन्छ । दक्षिण कोरियाको विकासको आधार भनेकै पाँचवर्षे पूर्वाधार विकासको परियोजना बनेको थियोे । कोरियाले सन १९६० का दशक पाँच वर्ष पूर्वाधार विकासमा गरेको ठुलो लगानी नै आज उनीहरुको औधोगिक क्रान्ति र आर्थिक प्रगतिको जरा हो ।

नेपालमा पछिल्लो समय तीन तहका सरकार बनेसँगै पूर्वाधार विकासका क्षेत्रमा उल्लेख्य मात्रामा वृद्धि हुने जनअपेक्षा थियोे । तर, त्यसो हुन नसक्दा जनतामा ठुलो वितृष्णा पैदा भएको छ भने अर्कोतर्फ राज्यलाई समेत अप्रत्यक्ष करोडौं घाटा भएको छ । मेचीनगर नगरपालिका कै अवस्था हेर्ने हो भने पनि पछिल्लो समय यश क्षेत्रमा पूर्वाधार विकासमा लगानी बढेको देखिन्छ । तर, ती विकासे योजनाहरुले निकास नपाउने र बीचमै अलपत्र पर्दा जनताले सास्ती भोग्नुपरेको अवस्था छ ।

एकातर्फ मेचीनगर पर्यटकीय हिसाबले प्रबल सम्भावना बोकेको पूर्वी नेपालको सीमाना हो । यहाँको भौगोलिक अवस्थालाई नियाल्दा महाभारतकालिन ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थलहरु छन्, सयौं प्रजातिका चराचुरुंगीहरु छन् । हात्ती, मृग लगायतका विभिन्न प्रजातिका  जंगली जनावरहरु, नेपालको इतिहास सँग जोडिएको सिमानाका मेची खोला र जङ्गे पिलर हेर्न हजारौं आन्तरिक तथा बाह्य पर्यटकहरुलाई ल्याउन सकिन्छ । तर, त्यहाँसम्म पुग्ने सुविधासम्पन्न बाटो, ती क्षेत्रको मर्मत सम्भार तथा पर्यटकहरुलाई आकर्षण गर्ने आवश्यक भौतिक संरचना निर्माण र ती क्षेत्रको प्रचारप्रसार लगायतका कार्यमा समयमा ध्यान नपुर्‍याउँदा नगरले ठुलो आर्थिक क्षति बेहोर्न बाध्य छ ।

एकातर्फ गुन्द्रुकलाई ब्रान्डिङ गरेर विभिन्न देशमा निर्यात गर्ने हाम्रो किसान दाजुभाइहरुले आवश्यक उपकरणहरु प्राप्त गर्न नसक्नु उत्पादित उपभोग्य सामाग्रीले बजार नपाउनु, नगरमा किसानलाई आवश्यक खाद्य क्वारेन्टाइनको अभाव हुनु लगायतका यावत समस्याहरु छन् । यदि नेपालमै बैज्ञानिक शिक्षा प्रणाली, रोजगार र जीवनस्तरको अवसर जनतालाई प्रदान गर्ने हो भने सोही अनुसारको पूर्वाधार विकास निर्माण गर्न जरुरत छ । जसले लाखौं युवा जनशक्तिलाई रोजगार प्रदानगरि जनशक्ति विदेश पलायन हुने क्रम अन्त हुन सक्छ ।

कुनै पनि देश अथवा क्षेत्रमा पर्याप्त पूर्वाधार विकास हुने हो भने त्यसले त्यहाँका जनता र सरकारको मात्रै प्रगति गर्दैन बरु त्यसले निर्यात गर्ने समेतको हैसियत राख्दछ । अझ नेपाल जस्तो देशले आफ्नो बजेट मार्फत  बन्दरगाह, राजमार्गको विस्तार, भन्सार व्यवस्थापन, विद्युत् तथा संचार सेवा, कृषि तथा उद्योग क्षेत्रमा लगानी बढाउँदै दिगो पुर्वाधार विकासमा ध्यान दिनुपर्ने देखिन्छ । जसले गर्दा सिंगो नेपाल र नेपालीको उज्ज्वल भविष्यको सुनिश्चितता र दिगो अर्थतन्त्रको जग बन्न सक्छ ।

पछिल्लो समय विश्वका कयौं विकसित देशहरु अर्थतन्त्रको प्रतिस्पर्धामा छन् भने उनिहरुले त्यसको आधार पूर्वाधार विकासलाई नै मानेर तिव्रता दिइरहेका छन् । विभिन्न कालखण्डमा युद्धग्रस्त बनेका कोरिया, जापान लगायतका मुलुकहरु पनि आज विकसित राष्ट्रको रुपमा चिनिनुका पछाडि पूर्वाधार विकासलाई मान्न सकिन्छ । तसर्थ यदि नेपालले साँच्चै अर्थतन्त्रको जग बलियो बनाउन, लाखौं युवाहरूको विदेश पलायन रोक्न र सुखी नेपाली समृद्ध नेपालको सपना साकार पार्नु छ भने दिगो र प्रत्यक्ष प्रभावकारी पूर्वाधार विकासमा ध्यान दिन जरुरत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बीआरआईबारे भ्रम पार्नु हुँदैन : विप्लव

बीआरआईबारे भ्रम पार्नु हुँदैन : विप्लव

शोभराज बराल काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)बारे भ्रम पार्न दिन नहुने ब...
ताप्लेजुङ : पहिरोले तापेथोक बजार जोखिममा

ताप्लेजुङ : पहिरोले तापेथोक बजार जोखिममा

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको तापेथोक बजार माथिबाट झरेको पहिरोका कारण जोखिम परेको छ । बि...
दुबई सडक दुर्घटनामा परी मोरङकी एक युवतीको मृत्यु

दुबई सडक दुर्घटनामा परी मोरङकी एक युवतीको मृत्यु

झापा । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा सडक दुर्घटनामा परी मोरङकी एक युवतीको ज्यान गएको छ । दुबईको अलुकजमा रहेको सर्भ यु कम...
खबरमञ्च साप्ताहिक नवौं वर्षमा प्रवेश

खबरमञ्च साप्ताहिक नवौं वर्षमा प्रवेश

मेचीनगर । झापाको मेचीनगर–७, इटाभट्टाबाट प्रकाशित हुने खबरमञ्च साप्ताहिक आजबाट नवौं वर्षमा प्रवेश गरेको छ । साताको प्रत्येक बिहीवार...