मेचीनगर (झापा), — झापाको मेचीनगर-७ स्थित झापा नेशनल स्कुलका विद्यार्थीहरूले स्थानीय स्रोत साधन प्रयोग गर्दै टेलिस्कोप निर्माण गरेका छन्। विज्ञानमा रुचि राख्ने कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूको टोलीले विद्यालयको प्राविधिक सहयोगमा यो टेलिस्कोप तयार पारेका हुन्।
विद्यालयका प्रधानाध्यापक कमल भेट्वाल र शिक्षकहरूको प्रेरणा एवं सहकार्यमा तयार गरिएको उक्त टेलिस्कोप निर्माणमा लेन्स, पाइप, माउन्ट लगायतका सामग्री स्थानीय रूपमा संकलन गरिएका थिए।
विद्यालयका को-अर्डिनेटर अनुप सुवेदीका अनुसार विद्यार्थीहरूले बनाएको टेलिस्कोपले रातको समयमा चन्द्रमा तथा ताराहरूको अवलोकन गर्न सक्ने क्षमता राख्दछ। उनले यस कार्यले विद्यार्थीहरूमा वैज्ञानिक सोचको विकासमा उल्लेखनीय योगदान पुर्याएको बताए।
बिहीबार विद्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमार्फत विद्यार्थीहरूले आफैंले निर्माण गरेको टेलिस्कोप सार्वजनिक रुपमा प्रदर्शन गरेका थिए। निर्माण कार्यमा विशेष योगदान दिने कक्षा ९ का निर्देश ढुङ्गाना, हार्दिक कट्टेल र एन्जिला आचार्यले पहिलोपटक टेलिस्कोपबाट चन्द्रमा हेर्दा अत्यन्त उत्साहित भएको बताएका छन्।
“हामीले बनाएको टेलिस्कोपबाट चन्द्रमा हेर्दा निकै खुसी लाग्यो। यसमार्फत सौर्यमण्डलका अन्य ग्रहहरूबारे पनि बुझ्ने लक्ष्य छ,” उनीहरूले भने।
प्रधानाध्यापक भेट्वालले आगामी दिनमा यस्ता सिर्जनात्मक परियोजनालाई अझ विस्तार गर्दै जाने र विद्यार्थीहरूको क्षमता अनुसार विद्यालयले निरन्तर सहयोग गर्ने बताए। उनले निर्माण गरिएको टेलिस्कोपलाई नेकपा एमाले प्रदेश कमिटीद्वारा शनिबारदेखि आयोजना गरिने विज्ञान प्रदर्शनीमा पनि सहभागी गराइने जानकारी दिए।
उल्लेखनीय छ, झापा नेशनल स्कुलले यसअघि रोबोटिक्स फेस्टीभलमा समेत सहभागिता जनाइसकेको छ।