झापा । प्रहरीले झापाको बिर्तामोडबाट बिहिबार ठूलो मात्रामा लागु औषधजन्य प्रतिबन्धित औषधि बरामद गरेको छ । स्थानीयको विषेश सूचनाका आधारमा नेकपा एमालेका सक्रिय कार्यकर्ता तथा पार्टीनिकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ झापाका पदाधिकारी भानुभक्त खरेलले संचालन गर्दै आएको औषधीको गोदाममा छापा मार्दा ठूलो मात्रामा लागुऔषधजन्य प्रतिबन्धित औषधी फेला परेको हो । पछिल्लो समय झापाको बिर्तामोड लागुऔषध प्रयोग कर्ताको हवको रुपमा विकास हुँदै आएको थियो ।
बिर्तामोड–५ का खरेलले धर्मकाँटा रोडका मनकुमार संग्रौलाको घरमा संचालन गर्दै आएको गोदाममा छापा मार्दा हजारौ पत्ता ट्रामाडोल, त्यसको एम्पुल र अन्य लागुऔषधजन्य औषधि बरामद गरिएको हो । गोदाममा नाईट्रोजन ट्याबलेट,पुरुषहरुको यौन क्षमता बढाउने प्रतिबन्धित भियग्रा, तौल बढाउने लगायतका कयौ प्रकारका भारतीय प्रतिबन्धित आौषधि बरामद भएको छ । प्रतिबन्धित औषधी फेला परेको पुष्टि गर्दै इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले त्यसबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
खरेललले प्रहरीलाई समेत सेटिङ मिलाएर बिगत १५ बर्ष अघिबाट प्रतिबन्धित औषधी नेपालभर बेचबिखन गर्ने गरेको तथ्य इखरिपाटीले फेला पारेको छ । करिब ४ बर्ष अघि इलाका प्रहरी कार्यालय अनारमनीले सादा पोषाकमा खटाएका प्रहरीले लागूऔषधको कारोबार गरेवापत खरेलको घरैमा गएर तीन करोड रुपैयाँको डिल गरेको समेत स्रोतले बताएको छ ।
बल बहादुर तामाङ नाम गरेका घुमुवा प्रहरीले सेटीङ मिलाउन भन्दै पटक–पटक गरेर एक करोड रुपैयाँ बुझेको र त्यसैको आडमा खरेलले अवैध कारोबार गर्दै आएको स्रोतको दाबी छ । तामाङले सुरुमा दशलाख रुपैयाँ रकम बुझेर खरेलको लागु औषधको साम्राज्य बिस्तार गर्न सहयोग गरेका थिए ।
खरेलले बिर्तामोडका अन्य केही औषधी व्यवसायीलाई भने ति सादा पोषाकका प्रहरीको सहायतामा फसाएर जेलसम्म पुर्याएको तथ्य समेत फेला परेको छ । खरेलबाट होलसेलमा लागुऔषधजन्य औषधी किनेर खुद्रा बिक्री गर्ने औषधी पसललाई यि नै तामाङले पक्राउ पर्नबाट जोगाउने गरेका थिए । खरेलका छोरा पनि गत बर्ष लागूऔषधजन्य प्रतिबन्धित औषधीको बेचबिखन गरेको आरोपमा पक्राउ परेका थिए । तर, प्रहरीसँगकै सेटिङमा प्रयोगकर्ता मात्रै भएको अनुसन्धान प्रतिबेदन बनाएर मुद्धा कमजोर बनाई छुटाएको स्रोतको दाबी छ ।
इलामको पशुपतीनगरबाट छिराउँथे लागूऔषध
सबैलाई सेटिङ गरेको छु भन्ने खरेलले इलामको पशुपति नाकाहुँदै केरियरमार्फत यस्ता लागूऔषध जन्य औषधी नेपाल भित्र्याउने गरेको खुलेको छ । उनले दैनिक १० कार्टुन ट्रामाडोल र अन्य मनोद्धिपक औषधि ल्याउने गरेका थिए ।
सबै चेकप्वाईन्ट पार गरेर बिर्तामोड आईपुगेको औषधी सम्पर्कमा रहेका अन्य कारोवारीलाई खरेलले बाटोबाटै सप्लाई गर्ने र बाँकी रहेको गोदाममा ल्याएर थन्क्याउने गरेका थिए । सात बर्ष अगाडि पशुपतिनगर नाकामार्फत भित्र्याईएको प्रतिबन्धित औषधी दुईवटा पिकअपमा ल्याउँदैगर्दा झापाको बुधबारेमा पक्राउ परेको थियो ।
तर, पक्राउ परेपनि केरियरलाई पिकअप नयाँ किनिदिएर केश सेटल गर्न खोजिएको थियो । त्यतिबेला समेत खरेललाई मुद्धा नचलाई केरियरलाई मात्रै चलाईएकाले केरियर संचालक एक महिला हालसम्म फरार रहेको स्रोतको दावी छ ।
काठमाण्डौ र पोखरासम्म सप्लाई
राजनीतिक आड र प्रशासनको सहयोग पाएका खरेलले बिर्तमोडकै न्यू कलपतरु केरियरबाट काठमाडौ, पोखरा र नेपालगञ्जसम्म लागुऔषधजन्य प्रतिबन्धित औषधी पठाउने गरेको तथ्य फेला परेको छ । खरेलले केरियरलाई समेत झुक्याएर अन्य सामान्य औषधी रहेको बताएर पठाउने गरेका छन् ।
खरेलले लागुऔषधजन्य प्रतिबन्धित औषधिको कारोवार गरेर नै बिर्तामोडमा करोडौको घर घडेरी र गाडी जोडेको तथ्य फेला परेको छ । प्रहरीकै सेटिङमा बर्षौबाट यस्ता गैह्कानुनी धन्दा चलाउनेलाई सामान्यतया सम्पत्ति शुद्धिकरणमा समेत मुद्धा चलाउने चलन छ । तर, यो घटनामा प्रहरीले कुन–कुन मुद्धामा अनुसन्धान गर्छ त्यो भने हेर्न बाँकी छ ।
प्रहरीले खरेलको स्टोरमा काम गर्ने एकजना कामदारलाई पक्राउ गरेको छ । पक्राउ पर्ने २५ वर्षीय विनोद घिमिरे हुन् । औषधी व्यवसायी खरेल भने फरार भएका छन् । खरेलले बिर्तामोडकै धर्मकाटाँ रोडमा सनलाईट फर्मा नामक औषधिको थोक बिक्रि गर्दै आएका छन् । खरेलले औषधिको थोक बिक्रेताको आवरणमा बर्षौबाट सेटिङ मिलाएर लागुऔषधजन्य औषधीको कारोबार गर्ने गरेको स्थानियले बताए ।
के हो ट्रामाडोल ?
ट्रामाडोल एक प्रकारको एनाल्जेसिक हो जुन गम्भीर पीडा कम गर्न डाक्टरको प्रेस्क्रिप्शनमा मात्र प्रयोग गरिन्छ । यो एक ओपिओइड एनाल्जेसिक हो । यसले ओपिओइड रिसेप्टरहरूसँग बाँधेर र मस्तिष्क कोषहरूमा पीडा संकेतहरूको प्रसारणलाई रोकेर काम गर्छ । यसले पीडाको धारणालाई रोक्छ र राहत प्रदान गर्दछ ।
यसले शल्यक्रिया पछिको दुखाइ, फ्र्याक्चरबाट हुने दुखाइ, जलेको चोटपटक, र अन्य समान आघातहरूको उपचार गर्न मद्दत गर्दछ । यो अन्य गैर–स्टेरोइडल एन्टी–इन्फ्लेमेटरी औषधिहरू (NSAIDs) ले दुखाइको उपचार गर्न असफल भएपछि मात्र दिइन्छ ।
ट्रामाडोलको लामो समयसम्म प्रयोगले लागूपदार्थको निर्भरता निम्त्याउँछ । यद्यपि, सिफारिस गरिएको मात्रा लिँदा लत लाग्ने सम्भावना कम हुन्छ । त्यसैले, ट्रामाडोल डाक्टरको निरीक्षणमा मात्र लिनुपर्छ । यो क्याप्सुल, ट्याब्लेट, इंजेक्शन आदि जस्ता विभिन्न रूपहरूमा उपलब्ध छ । समाचार :इखरिपाटी अनलाइनको विशेष सहयोगमा )








