झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट विधिवत् भन्सार जाँचपास गराएर नेपाल भित्रिएको किराना सामान चारआली प्रहरीले नियन्त्रणमा लिएर पुनः भन्सार कार्यालयमा बुझाएपछि झापाका केही व्यापारीले आपत्ति जनाएका छन् ।
बुधबार साँझ भारतबाट खरिद गरी ल्याइएको सामान मेची भन्सार कार्यालयमा भन्सार गराएर प्रज्ञापनपत्रसहित बिर्तामोडतर्फ ढुवानी गर्ने क्रममा चारआली चोकमा प्रहरीले चेकजाँचका क्रममा नियन्त्रणमा लिएर पुनः भन्सार बुझाएको हो ।
व्यवसायीका अनुसार चारआलीमा चेकिङमा खटिएका प्रहरीले सामान नियन्त्रणमा लिएपछि आफूहरूले “भन्सार गरेको सामान हो, प्रज्ञापनपत्र छ” भन्दै जानकारी गराएका थिए । तर प्रहरीले प्रज्ञापनपत्र हुँदाहुँदै पनि भोलि लिएर आउनु, अहिले हेर्न भ्याइँदैन भन्दै सामान बरामद गरेका थिए ।
अनिशा थापा, काली, कबिता चौहान लगायतले भन्सार कर बुझाएर ढुवानी गरेको सामग्री प्रहरीले नियन्त्रणमा लिएर पुनः भन्सार बुझाएको भन्दै उनीहरूले आपत्ति जनाएका छन् ।
उनीहरूका अनुसार प्रहरीले आफूहरूलाई सामान फिर्ता पाउनका लागि ‘लाइन मिलाउनुपर्ने’ प्रस्ताव गरेको थियो । “हामीलाई सधैंका लागि लाइन मिलाउने भए लानु, नत्र कुनै पनि सामान पाउँदैनौं भने।”
उनीहरूले MCH02 2026R70935, MCH02 2026R70926, MCH02 2026R70959 पाँच वटा भन्सार प्रज्ञापनपत्र र नेपाल बैंकमा बुझाएको नगदी भुक्तानी बिलसहित प्रहरीलाई देखाउँदा प्रहरीले भोलि बिहान आउनु भनेर फर्काएको थियो ।
भोलिपल्ट बिहान भन्सार गरिएको कागजात लिएर उनीहरू चारआली प्रहरी चौकी पुगे पनि त्यहाँबाट सामान धुलाबारी पठाइएको र प्रहरीले धुलाबारी जान भनेको थियो ।
यता धुलाबारी प्रहरीका अनुसार बरामद समयमा नै कागजात देखाउनुपर्ने भन्दै सामान फिर्ता नदिई मेची भन्सार कार्यालयमा बुझाउँदै ती व्यक्तिहरूलाई भन्सार नै जान भनेको थियो ।
यता आफूहरूले राजस्व तिरेको सामान प्रहरीले जफत गर्न नमिल्ने र फिर्ता पाउनुपर्ने माग राख्दै भन्सार पुगेका उनीहरूलाई प्रहरीले बुझाएपछि फिर्ता दिन नमिल्ने भन्दै फर्काइएको जानकारी प्राप्त भएको छ ।
चारआली प्रहरीको बदमासी, राजस्व तिर्नेलाई हैरानी, सुटुक्क सेटिङ मिलाउने तस्करीलाई छुट
यो तथ्य पुष्टि हुने आधार र प्रमाण हामीलाई ती व्यवसायीहरूले नै उपलब्ध गराएका थिए । यसअघि पनि चारआली प्रहरीले सादा पोशाकमा प्रहरी खटाएर तस्करहरूसँग असुली गर्ने गरेको आरोप खेप्दै आइरहेको छ । अहिले पनि सोही क्रम जारी रहेको पाइएको छ । चारआली प्रहरीले बरामद गरिएका सामानमध्ये आधा सामान मात्रै मेची भन्सारमा बुझाएर सेटिङमा रहेका व्यापारीको सामान भने चारआली ट्राफिक बिटमा लुकाएको थियो । बिटमा लुकाएको सामान भोलिपल्ट सुटुक्क सेटिङवालाहरूलाई जिम्मा लगाएर दमक पठाएको थियो । त्यसको प्रमाण समेत हामीले फेला पारेका छौँ ।
व्यवसायीहरूले राजस्व तिरेर सामान लान थालेपछि प्रहरीले अनावश्यक रूपमा चेकिङको बहानामा दुःख दिँदै सामान जफत गरेर भन्सार बुझाउन थालेको र मासिक मिलाउनुपर्ने दबाब दिन थालेको पीडित व्यवसायीहरूले बताएका छन् । यो कुरा प्रहरीले गरेको गतिविधिले समेत पुष्टि गरेको छ ।
कानुन मान्दा प्रहरीबाट नै पीडित भएको गुनासो व्यापारीले गरेपछि हाम्रो टोलीले सम्बन्धित प्रहरी चौकीका इन्चार्ज सई किरण राईसँग जानकारी लिएको थियो । घटनाबारे प्रहरी चौकी चारआलीका इन्चार्ज किरण राईसँग बुझ्दा उनले चेकिङमा खटिएका प्रहरीले सामान जाँच गर्दा राजस्व तिरेको प्रमाणपत्र नहेर्नु गम्भीर त्रुटि भएको बताए । उनले घटनाबारे मातहतका प्रहरीसँग सोधपुछ गरी वास्तविकता बुझ्ने सञ्चारकर्मीलाई बताएका थिए । व्यापारीको दाबीअनुसार नै केही कमजोरी भएको सई राईले स्वीकार गरेका छन् । उनका अनुसार व्यापारीहरूले भन्सारको कागजात लिएर आए पनि आफूले माथिल्लो तहमा सामान बुझाएकाले धुलाबारीमै जान र कागजात बुझाएर सामान लिन भनी पठाइएको थियो ।
तर यता धुलाबारीका इन्चार्ज इन्स्पेक्टर नकुल गौतमले भन्सार कागजात नभएको सामान बरामद गरिएको बताए । उनले भने– “केही व्यापारीहरू कागजात लिएर आएका थिए, तर भन्सार गरेको सामान भए भन्सारमै जान सुझाव दिएको हुँ ।”
यो खबर प्राप्त भएपछि सञ्चारकर्मीको टोलीले घटनाको वास्तविकता बुझ्न चारआलीस्थित ट्राफिक बिट र प्रहरी चौकीमा पुगेर स्थलगत जानकारी लिएको थियो ।
सो क्रममा चारआलीस्थित ट्राफिक बिटमा व्यवसायीले भनेअनुसार एक बोरा भुटेको चना र एक झोला लेज चिप्स फेला परेको थियो । ती सामान त्यहाँ राखिएको अवस्थाको भिडियोसमेत सुरक्षित रहेको छ ।
यसरी प्रहरीका दुई तहका भनाइमा समेत केही अन्तर देखिएको छ । भन्सार तिरेर ल्याएको सामानलाई छली गरेरै ल्याएजस्तो बनाएर प्रहरी भन्सार बुझाएको पीडित व्यापारीको भनाइ छ ।
व्यापारीले भने– “चेकजाँचका क्रममा खटिएका प्रहरी र महिला प्रहरीलाई पटकपटक बिल देखाएका थियौँ । उनले बिल समाउँदै ‘तेरो बिलसिल तैँ राख, सामान ल्याउने भए लाइन मिलाएर ले’ भनेर बिल फालिदिएको” व्यापारीको आरोप छ ।
भन्सार विभागले ‘जाँचपास भएको वस्तुको पुनः जाँच तथा अनुसन्धान कार्यविधि, २०८२’ समेत जारी गरेको छ । भन्सार जाँचपास भएको सामानलाई कुनै अवस्थामा पुनः जाँच तथा अनुसन्धान गर्न सकिने व्यवस्था रहे पनि भन्सार नै गरिसकेको सामान पुनः नियन्त्रणमा लिन पाइँदैन ।








