विनोद सापकोटा
झापा। झापाको शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत बहादुर राईलाई मन्त्रालय फिर्ता पठाउने कार्यपालिका बोर्डले निर्णय गरेको छ ।
नगर कार्यपालिकाको कार्यालयमा बिहीबार बसेको कार्यपालिका बैठक ले पटकपटक विवादमा आएका प्रमुख प्रशासकीय अधिकृतलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाउने निर्णय भएको नगरकार्यपालिकाका प्रवक्ता बहादुर आङ्बोले बताए ।
शिवसताक्षी नगरपालिकामा ‘कन्सल्टेन्सी’ सँगको मिलेमतोमा केही कर्मचारीले सेवाग्राहीलाई घर नक्साको किर्ते प्रमाणपत्र प्रदान गरेका थिए । घर नक्सा किर्ते प्रकरण छानबिनका लागि गठित समितिले गएको बैशाखमा नगर प्रमुखलाई प्रतिवेदन बुझाए पनि प्रमुख प्रशासकीय अधिकृतकै कारण कार्यान्वयनमा आउन सकेको थिएन ।
प्रमुख प्रसाशकीय अधिकृत राईले घर नक्सा किर्ते प्रकरणमा संलग्न कर्मचारीको बचाउ गरिरहेका छन् । नगरकार्यपालिका द्धारा गठित छानविन समितिको प्रतिवेदनका केही बुँदा संसोधन गरेपछि मात्र प्रतिवेदन कार्यान्वयन गर्ने मनस्थितीमा प्रमुख प्रसाशकीय अधिकृत थिए । तर छानविन समिति घटनामा जो कोही संलग्न भएपछि निर्मम कार्वाही गर्ने मोडमा रहेको छ ।
कार्यपालिका बैठकमा छानबिन समितिले दिएको घर नक्सा किर्ते प्रकरणको प्रतिवेदन कार्यान्वयनको विषय विहीबारको बैठकको एजेन्डामै थियो । सो विषय प्रवेश गर्नासाथ कार्यपालिका सदस्यले घर नक्सा किर्ते प्रकरणको प्रतिवेदन अघिल्ला कार्यपालिकाको बैठकको निर्णयअनुसार कार्यान्वयन गर्नुपर्ने भन्दै कुरा उठाए । यसै विषयमा प्रमुख प्रशासकीय अधिकृत एक्कासी जंगिए । उनि एक वडा अध्यक्ष संग भनाभन गर्न थाले । कार्यपालिकाका एक सदस्यले भने,‘ प्रमुख प्रसाकीय अधिकृतले एक वडा अध्यक्षलाई विना प्रमाणको आरोप लगाउन थालेपछि भनाभन सुरु भएको हो ।’
कार्यपालिकाका बैठकमै शिवसताक्षी नगरका जनप्रतिनिधिमाथि प्रमुख प्रशासकीय अधिकृत राईले गरेको व्यवहार र वाक् शैली माथि अन्य जनप्रतिनिधिले प्रश्न उठाएपछि प्रमुख प्रशासकीय अधिकृत अमृत बहादुर राई कार्यपालिका बैठक नै छोडेर बाहिरिएका थिए । एक कार्यपालिका सदस्यले भने ‘प्रमुख प्रशासकीय अधिकृतको यस्तो अराजक शैलि त कार्यपालिका बैठकमा पटक पटक हुने गरेको थियो ।’
बैठकमा प्रमुख प्रशासकिय अधिकृत राईले ६ नम्बर वडा अध्यक्ष माथि घर नक्सा किर्ते प्रकरण छानविन समितिको बैठकमा भएका गतिविधि स्थानिय पत्रकारलाई सूचना दिएको आरोप लगाएका थिए । वडा अध्यक्षले आरोपको खण्डन गर्दे प्रमाण पुर्याउन प्रमुख प्रशासकीय अधिकृतलाई चुनौती दिएपछि राई र वडा अध्यक्ष विच दोहोरा भनाभन भएको बैठकमा सहभागि एक कार्यपालिका सदस्यले बताए । अधिकृत राईले पदिय मार्यादा मिचेर वडा अध्यक्ष माथि अप्रमाणित आरोप लगाएपछि वैठकमा विवाद भएको अन्य कार्यपालिका सदस्यले बताएका छन् ।
घर नक्सा किर्ते प्रकरण मा जोसुकै संलग्न भएपनि कारबाही गर्ने अघिल्लो कार्यपालिका बैठकमा निर्णय भएको थियो । जतिबेला उपप्रमुख नरमाया कार्कीको संयोजकत्वमा छानबिन समिति गठन हुँदै थियो । उपप्रमुख कार्की नेतृत्वको छानविन समिति गठन हुन अगाडी वडा अध्यक्ष सन्तकुमार फेउदिनको संयोजकत्वमा छानविन समिति गठन भएको थियो ।
सो समितिले पनि आफ्नो कार्य सम्पन्न गरेर सो को प्रतिवेदन कार्यपालिका बैठकमा नगर प्रमुखलाई बुझाएको थियो । ति दुवै समिति गठन हुन पूर्वको कार्यपालिका को निर्णयलाई टेकेर दोसी देखिएका कर्मचारीलाई कार्वाही गर्ने निर्णय भएको वडा नम्बर ३ का वडा अध्यक्ष भाष्कर न्यौपानले बताए ।
कार्यपालिका बैठकमा प्रतिवेदन कार्यन्वयनका विषयमा पटक पटक वडा अध्यक्षले कुरा उठाउँदा प्रमुख प्रशासकीय अधिकृतले कार्यान्वयन नगर्ने, वडा अध्यक्षका प्रस्ताव लाई बेवास्ता गर्ने र आफू अनुकूलका निर्णयहरू गराउन उद्दत देखिएको वडा नम्बर ८ का वडा अध्यक्ष सन्तकुमार फेउदिनले बताए । घर नक्सा किर्ते प्रकरण को छानबिन समितिको बैठकमा प्रमुख प्रशासकीय अधिकृतले आफुअनुकुलको निर्णय नभएपछि आफैँ बसेको कुर्सीलाई लात्तले हानेर पदीय मर्यादा को यस अघि खिल्ली उडाएका थिए ।
प्रमुख प्रशासकीय अधिकृत राई शिवसताक्षी नगरपालिका ०७९ असार ७ गते हाजिर हुन आएका थिए । उनि आएको एक महिना नपुग्दै वडा नम्बर ८ का वडा अध्यक्ष सन्त कुमार फेउदिन सँग पनि विवाद गरेका थिए । कार्यपालिका बैठकले गरेको निर्णयलाई प्रमुख प्रशासकीय अधिकृतले विभिन्न वहानामा रोक्ने, जनप्रतिनिधि र सर्वसाधरणलाई दुख दिदै आएको आरोप लाग्दै आएको थियो ।
बिहिबारको कार्यपालिका बैठकले प्रमुख प्रशासकीय अधिकृतको कार्यसम्पादन कमजोर तथा सन्तोषजनक नरहेको आरोप लगाएको छ । जनप्रतिनिधि र कार्यपालिका बैठकप्रति नै उत्तरदायी नदेखिएका प्रमुख प्रशासकीय अधिकृत राईलाई मन्त्रालय फिर्ता पठाउने निर्णय भएको कार्यपालिकाका प्रवक्ता बहादुर आङवोले बताए ।
‘आजको बैठकमा दुःखदायी निर्णय भयो । हामीले नसोचेको निर्णय गर्न बाध्य भयौँ । कार्यसम्पादन कमजोर तथा सन्तोषजनक नहुनु र जनप्रतिनिधि र कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृतको प्रस्तुति र वाकशैली गैर जिम्मेवार देखिएका कारण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ताका लागि अनुरोध गर्ने निर्णय भएको छ,’ प्रवक्ता आङ्गवोले भने । यो निर्णयमा कार्यपालिका बैठकको उपस्थिति सङ्ख्याको आधारमा शतप्रतिश कार्यपालिका सदस्यले हस्ताक्षर गरेका छन् ।