प्रिय मोनालिसा,
म तिमीभन्दा टाढाको भूगोलमा आइपुगेको छु । अनगिन्ती सम्झना र अलौकिक प्यार, । तिमीप्रतिको अमूर्त र अतुलनीय प्रेमभावलाई उतार्ने दुस्साहस गरेको छु । तिमी र मबीचको प्रगाढ प्रेमलाई शब्दमा उतारेर कतै हाम्रो पिरतीको अवमूल्यन पो गरेँ कि भन्ने डर पनि लागेको छ । तर मलाई थाहा छ, यो पढेपछि तिमीले अनौठो आनन्द महसुस गर्नेछौ ।

तिम्रो प्रेमलाई मैले कसरी ग्रहण गरेको रहेछु, कति अनुभूत गरेको छु भन्ने पढ्न पाउँदा तिमी खुशीले पक्कै गदगद् हुनेछौ । प्रेमलाई विशुद्ध रुपमा अनुभूत गर्न मैले तिमीबाटै सिकेको हुँ । प्रेमलाई परिभाषित होइन, अनुभूत गर्नुपर्छ भन्ने ज्ञान तिमीले नै त सिकाएको हौ । तिम्रो प्रेमको तुलना अरु कुनै व्यक्ति वा वस्तुसँग हुन त सक्दैसक्दैन नै । र, यस्तो विशिष्ट प्रेमभावलाई तुलना गर्न मेरो आत्माले पनि अनुमति दिँदैन ।

म यो पवित्र प्रेमलाई कुनै वस्तु या भावसँग तुलना गरेर बिटुल्याउने हर्कत राख्दिन पनि । मलाई थाहा छ, तिमीले यसलाई राम्ररी बुझेकी छौ । संसारभर प्रेमका कयौँ उपमाहरु सिर्जिएका छन् । प्रेमका पूजारीहरुले प्रेमलाई संसारका अमूल्य, अटल र कहिल्यै अस्तित्व नाश नहुने अजरअमर वस्तुहरुसँग तुलना गरेको पढेको छु, सुनेको छु । तर मेरा निम्ति तिमी एक अतुलनीय अनुभूति हौ । प्रेमको एउटा पूर्ण स्वरुप हौ । हाम्रो प्रेम कसरी यस्तै अमूर्त रितले हुर्कँदै आएको छ भन्ने हामी दुवैले महसुस गरेका छौँ ।

तिमीसँगको भेट र चिनजान मेरो लागि एउटा अनौठो संयोग साबित भएको छ । पाहिलो भेटघाट र चियागफले हामीलाई एकअर्कामा चियामा चिनी घुलेझैँ घुलाउँदै लगेको छ । तिमीसँगको संगतले मेरो जीवन कति प्रेमिल भएको छ भन्ने कुरा म महसुस मात्र गर्न सक्छु, व्याख्या गर्न भने हिम्मत नै गर्दिन । तिमी मलाई कति मन पराउँछौ भन्ने मैले गहिरो महसुस गरेको छु । म खुशी भएको तिमीलाइ कति मनपर्छ, हगि । म स्वतन्त्र भएको, प्रफुल्ल भएको क्षण तिमी कत्ति रमाउँछौ, त्यो मैले मस्तले नियालेको छु । त्यसो त तिमी मलाई असाध्यै मनपर्छ भन्ने कुरो पनि तिमीले राम्ररी बुझेकी छौ ।

तिमी मलाई कति प्रेम गर्छौ भन्ने कुरा न शब्दले व्याख्या नै गर्न सकिने रहेछ, न त अङ्कले गुन्न नै सकिने रहेछ । तिमी नै एउटा पूर्ण प्रेमको प्रतिमूर्ति हौ । तिमी अर्थात प्रेम एउटा त्यस्तो अनुभुति रहेछ जसलाई म अनुभूत गर्नुमा मात्रै न्यायोचित ठान्छु । शब्दमा उतार्दा त्यो सग्लो भाव टुक्रिन्छ कि भन्ने डर लागेको छ । यसो भनिरहँदा मैले तिमीलाई फकाएको नसम्झ । मेरा निम्ती तिमी त्यो अद्भूत चिज हौ जसलाई फकाउनै पर्दैन । प्रेमले हामीलाई यति तरल बनाएको छ कि हामी एकअर्कामा सजिलै मिल्छौँ, मिसिन्छौँ । मैले जे ओकल्छु, तिमी त्यसलाई ठ्याक्कै त्यसरी नै बुझ्छौ ।

मलाई बोध छ तिमी ममा त्यसरी घुलेको छौ जसरी म तिमीमा मिसिएको छु । तिमी भन्नु म र म भन्नु नै तिमी भएको कुरा तिमीले नै त बुझाएको हौ । तिमी कति महान छौ, है । प्रेमले लपक्कै भिजेका हामीलाई थप प्रेम गर्न कुनै घडी चाहिँदैन नै । हरेक दिन अझ धेरै माया गर्ने प्रण गरेका हामीलाई हरेक दिन थप प्रेमिल भएको महसुस हुन्छ । मेरो निम्ति तिमी नै एउटा विशुद्ध प्रेम हौ ।

तिमीलाई आराम भएको, न्यानो भएको, तिमी तन्दुरुस्त भएको, हर्ष्विभोर भएको देख्दा म आफैँलाई बिर्सिन्छु । त्यो पूर्ण विस्मृतिको क्षणमा तिमीलाई अनुभूत गर्दा म चङ्गा भएको महसुस गर्छु । तिम्रो सुस्वास्थ्य र खुसीको लागि जस्तोसुकै तपस्या गर्न पनि म तयार छु । मैले माथि नै भनेँ नि, तिमी खुसी भएको देख्दा मेरो खुसी दोब्बर भएर आउँछ, तिमी स्वस्थ भइरहँदा ममा स्फुर्ति बढ्छ,तिमी हाँसेको बखत मेरो चेहरामा १ हजार वाटको चमक आउँछ । त्यसो त मेरो ससाना प्राप्तिहरुमा तिमी गदगद भएको बखत म कपासझैँ उडेको महसुस गर्छु ।

म स्वतन्त्र भएको, निर्धक्क बोलेको, आत्मविश्वासका साथ काम गरेको तिमी कत्ति मन पराउँछौ । प्रेम कति सशक्त हुँदोरहेछ भनेर मैले तिमीबाट सिकेको छु ।

तिमी कति अद्भुत छौ, है । मेरो चन्चल स्वभाव, अस्थीर आवेग सहर्ष स्वीकार्छौ । मेरो अनुहारको भावलाई एक झोक्कामै बुझेर त्यसै अनुरुपले स्वतन्त्र छोडिदिन्छौ । प्रेमसागरमा चुर्लुम्मै डुबाएर पनि स्वतन्त्रताको उच्चतम आभास दिलाउँछौ ।

प्रेमको त्यो उर्जाले जे पनि सम्भव तुल्याउने रहेछ भनेर मैले तिमीसँगको सङ्गतमा अनुभूत गरेको छु । प्रेम त्यस्तो शक्ति रहेछ जसले निभ्नै लागेको शरिरमा प्राण भर्न सक्दो रहेछ, उराठलाग्दो खडेरीमा वर्षात ल्याउनसक्दो रहेछ । म चकित छु । तिमीले मलाई कति सशक्त, दृढ र धीर हुन सिकाएकी छौ । असाध्यै खुशी छु तिमीलाई अनुभूत गर्न पाएकोमा । आफूलाई संसारकै एउटा भाग्यमानी ठानेको छु तिमीलाई, तिम्रो अनुरागलाई हरपल महसुस गर्न पाएकोमा । तिम्रा हरेक अनुभूतिहरुले मलाई तिमीमै मिसाएको छ । तिम्रा हरेक अनुभूतिहरुको तरङ्गले मलाइ सक्रिय तुल्याइराखेको छ । तिमीसँगको प्रेमिल उठबसले मैले कयौँ ज्ञान लिएको छु । तिम्रो एक शब्दमा मैले कत्रो उर्जा भेटेको छु । नसिकाएरै सिकाउने, नबुझाएरै बुझाउने तिम्रो अद्भुत कलामा मैले अनौठो गुरुत्व भेटेको छु । हरेक क्षण म भगवानप्रति आभारी छु, आफ्नो अन्तरहृदयको प्रेम पाएकोमा । तिमीप्रति हरक्षण कृतज्ञ छु । बिन्ती मेरो कृतज्ञतालाई स्वीकार ल । छाती ठोकेरै भन्छु, यो संसारमा मलाई तिमीले जति कसैले बुझेको छैन । तिमीले जति अरुले बुझ्नै सक्दैन । र, कसैले नबुझोस् पनि । मलाई पनि तिमीले मात्रै बुझेको मनपर्छ । तिमीले मात्र चिनेको मनपर्छ ।

तिमीलाई महसुस गर्न म औधी मन पराउँछु । तिम्रा हरेक गतिविधिहरु एकटकले हेरिरहनुमा मलाई असीम आनन्द मिल्छ । सोचेको थिएँ म कति धेरै भावनाहरु कोर्छु होला भनेर । यो लेखिरहँदा मलाइ तिमी मभित्रै बगिरहेको अनुभूत भइरहेको छ । अमूर्त भावहरुलाई शब्दको सहायताले ओकलिरहँदा कतै मभित्रको तिमी त्यो चिसो ठण्डीमा कठ्याङ्ग्रिन्छौ कि भन्ने डर लागिरहेको छ । यो कोरिरहँदा मेरा हातहरु थर्थराइरहेका छन् । म तिमीलाई आफैभित्र जग्जगाउन चाहन्छु, ढकमक्क फुलेको तिमीलाई म आफूमात्रै महसुस गर्न चाहन्छु ।

मैले भनेँ नि मेरो एउटा ठूलो स्वार्थ छ, तिमीलाई निस्वार्थ प्रेम गर्ने । न त कुनै प्रस्ताव, न त कुनै लोभ र लालचले हामीलाई तान्यो । तान्यो त केवल प्रेमको लहरोले, बाँध्यो त केवल प्रीतिको डोरीले । एकअर्काप्रति नूतन प्रेमभाव, निस्वार्थ माया गर्ने एउटै स्वार्थ, यो समर्पण यस्तै रहिरहोस् । प्रेमको यो मिठो संयोग यस्तै ताजा रहिरहोस् । एकअर्काप्रतिको यो अनुराग यस्तै मग्मगाइरहोस् ।

असीम प्यार, मोनालिसा । प्रकाश अधिकारी ,इलाम

grace