Skip to main content

Purbi Garjan

पूर्वाधार विकास : देशकै नमुना बन्न सक्छ मेचीनगर

प्रविण अधिकारी
मेचीनगर । पूर्वाधार विकास भनेको मुलतः कुनै पनि देश, क्षेत्र वा भूगोलको आर्थिक, सामाजिक, राजनीतिक, भौगोलिक अवस्था कस्तो छ भन्ने जनाउने आधार हो । यो कुनै सहर वा अन्य क्षेत्रमा सेवा प्रदान गर्ने सुविधा र प्रणालीहरूको सेट हो, जसले अर्थ व्यवस्था, घरपरिवार र फर्महरूको कार्यका लागि आवश्यक सेवा र सुविधाहरू समावेश गर्दछ ।

कुनै पनि देशको विकासको आधार पूर्वाधार विकासलाई मानिन्छ । जनचाहना अनुसारको पूर्वाधार विकास सँगै औद्योगिक क्रान्ति गर्ने हो भने त्यसले अर्थतन्त्रको नयाँ आधार स्तम्भ खडा गर्दछ ।
यस्तै, मेचीनगर नगरपालिका भित्र आफ्नै स्रोतको उपयोगबाट बलियो अर्थतन्त्र र दिगो विकासको खाका तय गर्न सकिन्छ । भौगोलिक दृष्टिकोणले हेर्दा मेचीनगर समथर फाँटमा रहेको र प्रकृतिको बरदान भन्दा फरक पर्दैन । हात्तीका लागि प्रख्यात बाहुनडाँगी यसै नगरभित्र पर्छ, जहाँ प्रायः दिउँसै हात्ती देख्न सकिन्छ । तर, त्यसका लागि आवश्यक भौतिक पूर्वाधार विकासमा अझ बढी ध्यान दिनुपर्ने देखिन्छ ।

आजभन्दा झण्डै २५ वर्ष अघि नै मेचीनगर पूर्वी नेपालको औद्योगिक तथा व्यापारिक केन्द्रको रूपमा चिनिएको हो । पूर्वी नेपालको प्रमुख भन्सार नाका रहेको यस क्षेत्र भारत तथा बंगलादेशसँग व्यापार गर्ने प्रमुख नाका पनि हो ।
यस नगरपालिकामा हिन्दू, किरात, बौद्ध, श्रीकृष्ण प्रणामी, मुस्लिम, शैव, वैष्णव, साई, यशु तथा मानव धर्म मान्ने विविध समुदायको बसोबास छ । नेपालमा मात्र नभएर विश्वमै लोपोन्मुख किसान जातिको उपस्थिति यस नगरमा पाइन्छ । धिमाल, दनुवार, मेचे, थारू, सुनुवार, लिम्बु, राई, तामाङ, शेर्पा, नेवार, मगर, गुरुङ, भुजेल, राजवंशी, ब्राह्मण, क्षेत्री, माझी, कुमाल लगायतका जातजातिको सांस्कृतिक विविधता यस नगरको समृद्धिको अर्काे सम्भावना हो । तसर्थ, नगरले यस्ता संस्कृति प्रवद्र्धन गर्न पूर्वाधार विकासमा ध्यान दिए आम्दानीको स्रोत समेत विस्तार गर्न सक्छ ।

महिला सीप विकास केन्द्र

मेचीनगरमा प्रख्यात ऐतिहासिक र धार्मिक पर्यटकीय स्थलहरू छन्– कृष्ण थुम्की, पातालगंगा, बौद्ध गुम्बा, विश्वनाथ मन्दिर, पञ्चमुखी हनुमान मन्दिर, दुर्गा मन्दिर, पशुपतिनाथ मन्दिर, कृष्ण प्रणामी मन्दिरजस्ता स्थलहरूको मर्मत सम्भार र सुविधासम्पन्न पूर्वाधार निर्माणमा नगरले अझ बढी प्राथमिकता दिन जरुरी देखिन्छ ।

कृष्ण थुम्की मन्दिर

विशेषतः पूर्वाधार विकासले बलियो अर्थतन्त्रको आयाम भर्छ भन्ने उदाहरण मेचीनगरमा रहेका आँखा अस्पतालहरूमार्फत पुष्टि हुन्छ । जहाँ नेपाल मात्र होइन, भारत, भुटान, बंगलादेश जस्ता देशबाट समेत बिरामीहरू उपचारका लागि आउँछन् । सुविधासम्पन्न संरचना र सहज उपचार व्यवस्थाले यस्ता अस्पतालहरू बिरामीको रोजाइमा परेका छन्, जुन नगरको गौरवको विषय हो । पछिल्लो समय मेचीनगरमा ठूला तारे होटलहरू सञ्चालनमा आइसकेका छन् भने केही निर्माणाधीन छन् । यसले नगरको आर्थिक स्रोत वृद्धि मात्र होइन, हजारौँ युवायुवतीको रोजगारीको अवसर समेत सिर्जना गरेको छ ।

तस्बिर स्रोत : मेची नेत्रालय

पूर्वाधारको सशक्त उदाहरण– विश्व बैंकको सहयोग

एकातर्फ सुविधासम्पन्न एसियन हाइवेले नगरलाई जोडिसकेको अवस्था छ भने विश्व बैंकको सहयोगमा दुईवटा प्रमुख सडक निर्माण योजनाहरू तीव्र गतिमा अघि बढिरहेका छन् ।
पहिलो, भद्रपुर–मेचीनगर–काँकरभिट्टा खण्ड निर्माण भइसकेको अवस्था छ । यो सडक पूर्वी भेगको आर्थिक र व्यापारिक केन्द्रलाई सशक्त रूपमा जोड्ने परियोजना हो, जसले स्थानीय तथा अन्तर्राष्ट्रिय यातायातलाई सहज बनाउनेछ ।

एसियन हाइवे काकडभिट्टा

दोस्रो, चारआली–बाहुनडाँगी–बुद्धशान्ति मार्गः नगरको ग्रामीण क्षेत्रलाई शहरी केन्द्रसँग जोडेर सन्तुलित विकास गर्ने लक्ष्यसहितको यो परियोजना सामावेशी पूर्वाधार विकासको उत्कृष्ट उदाहरण बन्नेछ । पछिल्लो समय नगरका गौरवको योजनाका रुपमा विश्व बैंककै लगानीमा काँकरभिट्टा–बाहुनडाँगी सडक र धुलाबारी–खुट्टेडाँगी सडक खण्ड एकैपटक बनिरहेका छन् । जसले नगरको उत्तरी भेगका उत्पादनहरुलाई बजारीकरणका लागि सहज बन्ने देखिन्छ ।

नगरको उत्तरी भेगबाट नै मदन भण्डारी राजमार्ग बनिरहेको छ, जसले नगरमा सडक सञ्जालको व्यापक विस्तार भएको देखिन्छ । यी सडकहरू निर्माण भएसँगै आन्तरिक तथा बाह्य व्यापार, पर्यटन, कृषिजन्य उत्पादनको ढुवानी र जनसहभागिताको दरमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ ।

मेचीनगरको पुर्वी उत्तरी क्षेत्रमा मदन भण्डारी राजमार्ग

खेलकुद पूर्वाधार र सम्भावनाहरू

नगरले खेलकुद क्षेत्रमा विशेष ध्यान दिएर पूर्वाधार विकास गरिरहेको खण्डमा महिला क्रिकेट, फुटबल, एथ्लेटिक्स लगायतका खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आयोजना गर्न सकिन्छ । देशमै चर्चित खेलाडीहरू मेचीनगरले उत्पादन गरेको यथार्थलाई आत्मसात गर्दै सुविधासम्पन्न क्रिकेट रंगशाला र खेलमैदान निर्माण गर्नेतर्फ बजेट केन्द्रित गर्न आवश्यक छ ।

पूर्वाधार बिना विकास सम्भव छैन

२०७२ सालको विनाशकारी भूकम्पपछि मात्र पूर्वाधार विकासको महत्व व्यापक रूपमा महसुस गरियो । राहत तथा उद्धारमा देखिएको ढिलाइ, पहुँचको अभाव र लगानीको उपयोगविहीनता ‘राज्यको लगानी बालुवामा पानी’ भएको स्पष्ट उदाहरण बनेका थिए । आज, नेपालसँग पर्याप्त प्राकृतिक स्रोत र युवा जनशक्ति भए पनि ती स्रोतहरूको अधिकतम उपयोग पूर्वाधार विकासबिनाको सम्भव छैन । कृषि, जलविद्युत, पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य, सञ्चार लगायतका क्षेत्रमा पूर्वाधारको अभावले विकासलाई अवरुद्ध बनाइरहेको छ ।

बजेट पर्खिरहेको कडभिट्टा खेलमैदान

मेचीनगरमा भइरहेको सुधार

पछिल्लो समय मेचीनगरमा विभिन्न पूर्वाधारमा लगानी भइरहेका छन्– शिक्षा, स्वास्थ्य, सडक, जलस्रोत, कृषि, उद्योग र पर्यटन । तर, केही आयोजना भने बीचमै अलपत्र छन्, जसले जनअपेक्षालाई चोट पु¥याइरहेका छन् । यस्ता योजनाहरूलाई दीगो बनाउनेतर्फ समुदाय स्तरको जनसहभागिता र निगरानी आवश्यक छ ।

अवसरको सदुपयोग गरौं

– मेचीनगर सीमावर्ती नगर हो, जहाँ भौगोलिक रूपमा ऐतिहासिक धार्मिक स्थलहरू, जैविक विविधता, पर्यटक आकर्षणका स्रोतहरू प्रशस्त छन् ।
–कृषिमा पनि यहाँका किसानले उत्पादनमा अग्रणी भूमिका खेलेका छन्, तर कृषि उपकरण, क्वारेन्टाइन सुविधा, बजारीकरणको पूर्वाधारको अभावमा उनीहरू पछि परिरहेका छन् ।

निष्कर्ष

यदि नेपालले आफ्नै जनशक्ति, स्रोत र विशेषता अनुसारको पूर्वाधार निर्माणमा दीर्घकालीन योजना लागू गर्न सक्यो भने मात्र ‘सुखी नेपाली, समृद्ध नेपाल’को सपना साकार हुन सक्छ । र, मेचीनगर नगरपालिका, जसले भौगोलिक, सामाजिक, आर्थिक सबै दृष्टिकोणले सम्भावनाको गाथा बोकेको छ– त्यो नगरपालिका जसले भौतिक पूर्वाधारमा ध्यान दिने हो भने अबको केही वर्षभित्र देशकै नमुना बन्न सक्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

जोरसिमल चेकपोस्ट बाट सशस्त्र प्रहरीले समात्यो पिकअप सहित तस्करीको सामान

जोरसिमल चेकपोस्ट बाट सशस्त्र प्रहरीले समात्यो पिकअप सहित तस्करीको सामान

झापा, मेचीनगर । झापाको मेचीनगर नगरपालिका–७ जोरसिमल क्षेत्रबाट सशस्त्र प्रहरीले अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याइएको सामानस...
इक्यान झापाको अन्तरक्रिया कार्यक्रम सम्पन्न, विविध विषयमा छलफल

इक्यान झापाको अन्तरक्रिया कार्यक्रम सम्पन्न, विविध विषयमा छलफल

बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाको आयोजनामा झापाको बिर्तामोडमा एकदिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । ...
भान्सामा खाना पकाउँदै गरेकी महिलाको सर्पको टोकाइबाट मृत्यु

भान्सामा खाना पकाउँदै गरेकी महिलाको सर्पको टोकाइबाट मृत्यु

दमक, झापा। झापाको कमल गाउँपालिकामा सर्पदंशका कारण एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार कमल गाउँपालिका–३ बस्न...
बाहुण्डाँगी हात्ती समस्या : नेपाल–भारतका अधिकारीबीच समाधानका लागि छलफल

बाहुण्डाँगी हात्ती समस्या : नेपाल–भारतका अधिकारीबीच समाधानका लागि छलफल

प्रविण अधिकारी झापा । पछिल्लो समय पेचिलो बन्दै गएको बाहुण्डाँगी हात्ती समस्या र यसको दीर्घकालीन समाधानका लागि नेपाल–भारतका सम्बन्...
ne_NPNepali