Skip to main content

Purbi Garjan

झापा बाढीको जोखिममा, १२९ मिलीमिटरसम्म वर्षा

झापा, १८ साउन । अविरल वर्षासँगै झापाका विभिन्न स्थानमा बाढीको जोखिममा परेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्ला २४ घण्टामा अनारमनी, चन्द्रगढी र केचनालगायत स्थानमा एक सय २९ मिलीमिटरसम्म वर्षा मापन गरिएको छ । यसले कचनकवल, बारदशी, झापा, गौरीगञ्ज र कन्काई नगरपालिकाका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

बाढी सतर्कता प्रणालीअन्तर्गत बारदशी गाउँपालिका–३ को भागडुब्बा र कचनकवल गाउँपालिका–५ को पिनडालबारीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणको सहयोगमा जडान गरिएका साइरन बज्न थालेको जनाइएको छ । साइरनले बासिन्दालाई समयमै सुरक्षित स्थानतर्फ जान सघाउने अपेक्षा गरिएको छ ।

त्यस्तै, साइरन प्रणाली झापा गाउँपालिकाको कुवाडी र गौरीगञ्ज गाउँपालिका–५ को कुञ्जीबारीमा समेत सञ्चालनमा छन् । झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जु थपलियाले भने, “साइरनले बाढीको खतरा टाढैबाट जानकारी गराउँछ । हामीले सचेतना र पूर्वतयारीमार्फत जोखिम न्यूनीकरणमा ध्यान दिइरहेका छौँ । स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्ने योजना पनि सक्रिय रूपमा कार्यान्वयनमा छ ।”

कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगर क्षेत्रमा रहेको कनकाई नदीको सतह उच्च रहेको र आसपासका क्षेत्र सतर्क अवस्थामा रहेको बताए । उनले भने, “नदीको बहाब निरन्तर बढिरहेकाले नगरपालिकाको विपद् व्यवस्थापन समिति सक्रिय छ । आवश्यक परेमा तत्काल उद्धार, राहत र स्थानान्तरण कार्य गरिनेछ ।”

झापाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीका अनुसार जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, स्थानीय तहसँगको समन्वयमा उच्च जोखिममा रहेका स्थानको तत्काल अनुगमन, आवश्यकतानुसार उद्धार तथा राहतको तयारी गरिएको छ । बाढी प्रभावित क्षेत्रमा स्वयंसेवक परिचालन गरेर जनतालाई सुरक्षित स्थानमा जान अनुरोध गरेको स्थानीयवासी हरि राजवंशीले बताए।

भारी वर्षासँगै एसियन हाइवेअन्तर्गत मेचीनगर नगरपालिकाभित्रको कालीखोलाको डाइभर्सन, इलिफेन्ट क्रसिङ डाइभर्सन र माई नदी पश्चिमको भालुखोलाको डाइभर्सनमा क्षति पुग्न सक्ने उच्च सम्भावना रहेकाले एसियन हाइवे आयोजनाले समेत आफ्ना कर्मचारी र जेसिभी र स्काइभेटरलाई समेत तयारी अवस्थामा राखेको आयोजना प्रमुख इञ्जिनियर सुनिलबाबु पन्तले बताए ।

मेचीनगर नगरपालिकाभित्र पर्ने कालीखोलाको डाइभर्सनमा हुनसक्ने जोखिमलाई ध्यान दिएर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले आयोजनासँग समेत आवश्यक परामर्श गरिएको, राहत र उद्धारको टिम तयारी अवस्थामा रहेको बताए । उनले भने, “सडक डाइभर्सन क्षेत्रमा बाढी बसेको अवस्थामा एसियन हाइवे परियोजनासँग सहकार्य गरी उद्धार टोली तयार भएको र मर्मत तथा वैकल्पिक आवागमन सुनिश्चित गर्न इञ्जिनियरिङ टोली परिचालित गरिएको छ ।”

विशेषज्ञहरूले बाढीको सम्भावित जोखिम क्षेत्रहरू कचनकवल, झापा, बारदशी, गौरीगञ्ज, कन्काईलगायतका तटीय र नदी छेउका बस्तीमा बसोबास गरिरहेका नागरिकलाई तत्काल सतर्कता अपनाउन सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

दोस्रो महिला झापा गोल्डकप : पोखरालाई हराउँदै झापा -११ सेमिफाइनल प्रवेश

दोस्रो महिला झापा गोल्डकप : पोखरालाई हराउँदै झापा -११ सेमिफाइनल प्रवेश

झापा । दोस्रो  एक्स्ट्रिम झापा महिला गोल्डकपको उद्घाटन खेलमा सजिना स्याङताङको ह्याट्रिकको मद्दतले झापा–११ फुटबल क्लबले आरएस पोखरा ...
मेचीनगरमा वडास्तरीय सार्वजनिक सुनुवाइ, विकास निर्माणदेखि शौचालयसम्म उठे प्रश्न

मेचीनगरमा वडास्तरीय सार्वजनिक सुनुवाइ, विकास निर्माणदेखि शौचालयसम्म उठे प्रश्न

मेचीनगर । मेचीनगर नगरपालिकाको आयोजना तथा सामुदायिक विकास मञ्चको सहजीकरणमा बिहीबार वडास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भए...
खुट्टिडाँगी सामुदायिक वनको २७औँ साधारण सभा, आम्दानी बढाउन व्यावसायिक याेजना अघि सारियाे

खुट्टिडाँगी सामुदायिक वनको २७औँ साधारण सभा, आम्दानी बढाउन व्यावसायिक याेजना अघि सारियाे

मेचीनगर । झापाको मेचीनगर–९ स्थित खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूहको २७औँ वार्षिक साधारण सभा कात्तिक १५ गते सम्पन्न भएको छ । ...
झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापा । झापाको सालमारा क्षेत्रबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना युवा पक्राउ परेका छन्। कात्तिक ११...
ne_NPNepali