अपेक्षित सहभागिता नजुट्दा गायन–नृत्य प्रतियोगिता औपचारिकतामै सीमित
मेचीनगर । विद्यालयहरूलाई एकताबद्ध गर्दै विद्यार्थीको सिर्जनशीलता र प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्याब्सन मेचीनगरको अन्तरविद्यालय गायन तथा नृत्य प्रतियोगिता अपेक्षित सहभागिता नजुट्दा औपचारिकतामै सीमित बनेको छ । नगरभित्रका अधिकांश निजी विद्यालय सहभागी नहुनु र उत्साहजनक वातावरण नदेखिनुले कार्यक्रमले आफ्नो मूल उद्देश्य नै गुमाएको सरोकारवालाहरूको टिप्पणी छ ।
प्याब्सन मेचीनगरको आयोजनामा शनिबारदेखि धुलाबारीस्थित पासाङल्हामु जेसीज प्रतिष्ठानको सभाहलमा सुरु भएको प्रतियोगिता आइतबार सम्पन्न भएको थियो । तर धेरै सदस्य विद्यालयको अनुपस्थिति, न्यून सहभागिता र कमजोर प्रतिस्पर्धात्मक माहोलले कार्यक्रमको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ ।
सिर्जनशीलता विकास, प्रतिभा पहिचान र विद्यालयबीच सहकार्य प्रवर्द्धन गर्ने भनिएको प्रतियोगिता यसपटक भने कर्मकाण्डी अभ्यासमा सीमित भएको गुनासो उठ्न थालेको छ । सहभागी संख्या न्यून रहनुमा आयोजक पक्षको तयारी, समन्वय र नेतृत्व क्षमतामा कमजोरी देखिएको आरोपसमेत खुलेर आउन थालेको छ ।
विशेषगरी पछिल्लो समय प्याब्सन मेचीनगरभित्र निर्णय प्रक्रिया केही सीमित व्यक्तिमा केन्द्रित हुँदै गएको, सामूहिक छलफलको अभ्यास कमजोर बनेको र सदस्य विद्यालयका सुझावलाई बेवास्ता गरिएको गुनासो व्यापक बन्दै गएको छ । यसले संस्थाभित्र अपनत्व कमजोर बनाएको र विद्यालयहरूको सहभागितामा प्रत्यक्ष नकारात्मक असर परेको सरोकारवालाहरूको भनाइ छ ।
‘कार्यक्रम सबै सदस्य विद्यालयका लागि भनिए पनि निर्णय केही व्यक्तिले मात्रै गर्दा धेरै विद्यालय क्रमशः टाढिँदै गएका छन्,’ एक स्रोतले भन्यो, ‘यस्तो अवस्था कायम रहे संस्थाप्रतिको विश्वास झनै कमजोर हुँदै जान्छ।’
कार्यक्रमका सभापति तथा प्याब्सन मेचीनगरका अध्यक्ष विक्रम क्षेत्रीले भने जिल्ला प्याब्सनको कार्यतालिकाअनुसार नगरस्तरीय प्रतियोगिता सञ्चालन गरिएको स्पष्ट पारे । उनले यसअघि ‘प्याब्सन स्पोर्ट मिट–२०८२’ साताब्यापी रूपमा सफलतापूर्वक सम्पन्न गरिएको दाबी गरे । तर सदस्य विद्यालयको न्यून सहभागिता र त्यसका कारणबारे आत्मसमीक्षा भने गरेनन् ।
कार्यक्रममा मेचीनगरपालिकाका सामाजिक विकास संयोजक हृदय राजवंशी प्रमुख अतिथिका रूपमा उपस्थित थिए । उनले निजी शैक्षिक संस्थाहरूले पठन–पाठनसँगै अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीलाई सक्षम बनाउँदै दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए । तर कार्यक्रमप्रति उठेका आलोचनाबारे उनले प्रत्यक्ष टिप्पणी गरेनन् ।
कार्यक्रममा प्याब्सन जिल्ला सदस्य भोजबहादुर कार्की, जिल्ला सल्लाहकार हरिकुमार अधिकारीलगायतको उपस्थिति रहेको थियो । प्याब्सन मेचीनगरका उपाध्यक्ष सुरेन्द्र न्यौपानेले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन नगर सचिव विमल पौडेलले गरेका थिए ।
सरोकारवालाहरूका अनुसार आगामी दिनमा निर्णय प्रक्रिया समावेशी, पारदर्शी र सहभागितामूलक नबनाइए यस्ता कार्यक्रमहरू थप औपचारिकतामै सीमित हुने र प्याब्सन मेचीनगरप्रतिको विद्यालयहरूको विश्वास अझ कमजोर हुने जोखिम देखिएको छ । अब संस्थाले आत्ममूल्यांकन गर्दै सदस्य विद्यालयको अपनत्व पुनःस्थापित गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न गम्भीर रूपमा उठेको छ ।








