Skip to main content

Purbi Garjan

छ महिनादेखि मिटर छैन, कोशीका हजारौँ उपभोक्ता विद्युत् सेवाबाट वञ्चित

विराटनगर –  कोशी प्रदेशमा छ महिनादेखि विद्युत् मिटरको अभाव हुँदा हजारौँ नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् । नेपाल विद्युत् प्राधिकरणले माग अनुसारको मिटर उपलब्ध गराउन नसक्दा कोशी प्रदेशका १४ जिल्लाका १२ हजारभन्दा बढी परिवारले विद्युत् जडानका लागि दिएको आवेदन त्यत्तिकै थन्किएको हो ।

छ महिनाअघिदेखि कोशीमा विद्युत् मिटरको अभाव सुरु भएको हो, अहिले समस्या झन् बढ्दै गएकाले प्राधिकरणका कर्मचारी उपभोक्ताको चर्को दबाबमा छन् ।

प्राधिकरणको कोशी प्रादेशिक कार्यालय विराटनगरका अनुसार हाल दर्ता भएका १२ हजारभन्दा बढी आवेदनमध्ये अधिकांश ‘सिङ्गल फेज’ मिटरका हुन् । दुई महिनाअघि प्रदेशभर वितरण गर्नका लागि दुई हजार पाँच सय थान मिटर प्राप्त भएको थियो । मागको तुलनामा थोरै सङ्ख्यामा मिटर प्राप्त भएका कारण सबैलाई मिटर उपलब्ध गराउन सक्ने अवस्था नबनेको प्राधिकरणले जनाएको छ ।

विद्युत् मिटरको अभावको सबैभन्दा ठुलो मारमा किसान परेका छन् । हिउँदे बाली लगाउने समयमा सिँचाइका लागि मिटर माग गरेका किसानले अहिले बर्खे धान खेती गर्ने बेलासम्म पनि मिटर पाउन सकेका छैनन् । मौसम विभागले यस वर्ष सुक्खा लाग्न सक्ने र कम वर्षा हुने प्रक्षेपण गरिरहेका बेला किसान सिँचाइको वैकल्पिक प्रबन्ध मिलाउन हतारिएका छन् ।

प्राधिकरणले किसानको समस्या बुझ्न नचाहेको जस्तो देखिएको मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेलले बताउनुभयो । आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यतामा रहेका किसान सिँचाइका लागि मिटर माग्दै दैनिक प्राधिकरणका शाखा कार्यालय धाउने समस्या उदयपुरको बेलका नगरपालिकामा पनि देखिएको छ ।

उदयपुरको बेलका नगरपालिका–९ का वडाध्यक्ष भरत घिमिरेले प्राधिकरणले नागरिकलाई आधारभूत सेवाबाट वञ्चित गरिरहेको आरोप लगाउनुभयो । उहाँका अनुसार बेलकामा मात्रै करिब आठ सय मिटरको माग छ । वडाध्यक्ष घिमिरेले तत्काल मिटर उपलब्ध गराउन निरन्तर दबाब दिइरहेको बताउनुभयो ।

मिटरको समस्या घरायसी प्रयोगमा मात्र सीमित छैन । औद्योगिक क्षेत्रमा पनि मिटर जडान कार्य रोकिएको छ । प्राधिकरणसँग उद्योगमा जडान गर्ने मिटर स्टक भए पनि त्यसका लागि आवश्यक पर्ने मिटरिङ युनिटको अभाव छ । उक्त सामग्री चीनबाट आयात गर्ने प्रव्रिmयामा रहेकाले तत्काल उद्योगलाई पनि मिटर दिन नसकिने अवस्था रहेको प्राधिकरणका कोशी प्रादेशिक कार्यालयका निर्देशक कमल आचार्यले जानकारी दिनुभयो ।

निर्देशक आचार्यका अनुसार यो समस्या कोशी प्रदेशको मात्र नभएर देशव्यापी हो । आचार्यले भन्नुभयो, “मिटर खरिदको सबै काम केन्द्रबाट टेन्डर प्रक्रियामार्फत हुने भएकाले प्रदेश तहबाट यसको समाधान खोज्न सकिने अवस्था छैन । हेटौँडामा एउटा लट मिटर आएको खबर छ, थप मिटर आउने प्रक्रियामै रहेकाले अब यो समस्या धेरै लामो समय रहँदैन कि भन्ने आशा छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

निशान निराैला इलाम। इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार बिहान ...
अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
ne_NPNepali