Skip to main content

Purbi Garjan

बाहुण्डाँगी हात्ती समस्या : नेपाल–भारतका अधिकारीबीच समाधानका लागि छलफल

प्रविण अधिकारी
झापा । पछिल्लो समय पेचिलो बन्दै गएको बाहुण्डाँगी हात्ती समस्या र यसको दीर्घकालीन समाधानका लागि नेपाल–भारतका सम्बन्धित अधिकारीहरूबीच बृहत् छलफल भएको छ। बुधबार भारतको दार्जिलिङ जिल्लास्थित मालबारीमा उक्त छलफल सम्पन्न भएको हो।

छलफलका क्रममा संविधानसभा सदस्य रविन कोइरालाले समस्या समाधानका लागि दिल्ली–काठमाडौं स्तरमा समेत वार्ता हुनुपर्नेमा जोड दिँदै दुवै देशका सम्बन्धित निकायले समन्वयात्मक पहल गर्नुपर्ने बताए।

त्यस्तै, मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले साँझपख भारतीय हात्ती नेपालतर्फ धपाउने गरिएको, रबरको गोली प्रयोग गरिने गरेको भन्ने नेपालतर्फ जनगुनासो रहेकाले यसको यथार्थबारे स्पष्टता आवश्यक रहेको बताए। उनले भारततर्फ हात्ती नियन्त्रणका लागि के–कस्ता प्रयास भइरहेका छन् भन्नेबारे पनि चासो व्यक्त गरे।

नगरप्रमुख बुढाथोकीको जिज्ञासाको जवाफ दिँदै भारततर्फका डिभिजन वन अधिकृत (DFO) प्रमुख देवेश पाण्डेले हात्ती ‘भारतको वा नेपालको’ भन्ने तर्क नै गलत भएको बताए। उनले रबरको गोली हात्तीलाई लक्षित गरी नभई क्युआर्टी टोलीको आत्मरक्षाका लागि प्रयोग हुने स्पष्ट पारे।

उनले भने, “हात्तीलाई छेकेर वा डोर्‍याएर यता–उता पठाउने भन्ने धारणा गलत हो। हात्ती आफ्नै स्वाभाविक मार्गमा हिँड्छन्। भारतमा पनि हात्तीबाट हुने क्षति उच्च छ।” उनले पछिल्लो समय प्रविधिको प्रयोगमार्फत क्षति न्यूनीकरण भइरहेको उल्लेख गर्दै करिब ६० वटा सीसी क्यामेरा जडान गरी कन्ट्रोल रुममार्फत २४ घण्टा निगरानी भइरहेको जानकारी दिए।

उनका अनुसार जोखिम देखिने स्थानमा वन कार्यालय मातहत क्विक रेस्पोन्स टिम (QRT) परिचालन गरिँदै आएको छ। साथै, उनले नेपालतर्फ ढुंगा, इट्टा प्रहार गर्ने तथा भीड जम्मा भएर हात्तीलाई उत्तेजित पार्ने कार्यले क्षति अझ बढ्ने गरेको बताए।

भारतीय पक्षका अधिकांश वक्ताहरूले नेपालले स्थानीय समुदायलाई सचेत गराई हात्तीको पछाडि भीड जम्मा हुन नदिने व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए। साथै, प्रविधिको प्रयोगमार्फत समस्या न्यूनीकरण गर्न दुवै देशले सहकार्य गर्न सकिनेमा उनीहरूले जोड दिएका थिए। उनीहरूले हात्तीका कारण नेपालभन्दा भारतमा बढी मानवीय क्षति भइरहेको पनि बताएका थिए।

छलफलमा नेपालतर्फबाट संविधानसभा सदस्य रविन कोइराला, मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, जिल्ला वन कार्यालय झापाका प्रमुख नथुनी गोहिवार यादव, मेची सब–डिभिजन वन कार्यालय धाइजनका प्रमुख सुरज निरौला, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका पदाधिकारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी भारततर्फबाट डिभिजन वन अधिकृत देवेश पाण्डे, ग्रामीण पर्यटन अभियन्ता राज बसु, एसएसबीका डेपुटी कमान्डर अनिल मेहरा, QRT टोलीका प्रमुख, वन कार्यालयका कर्मचारी तथा हात्ती व्यवस्थापनसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कन्यामको ऐतिहासिक सम्पदा संरक्षणविहीन, राजारानीले रोपेको पहिलो चिया बोट नै मासियो

कन्यामको ऐतिहासिक सम्पदा संरक्षणविहीन, राजारानीले रोपेको पहिलो चिया बोट नै मासियो

निशान निराैला इलाम । पर्यटकीय क्षेत्रका रूपमा चर्चित इलामको कन्याममा रहेका ऐतिहासिक सम्पदाको संरक्षणमा सम्बन्धित निकायले पर्याप्त...
काकडभिट्टामा मध्यरातमा प्रहरीको छापा: गोदामबाट झण्डै २५ लाख बराबरको सामान बरामद

काकडभिट्टामा मध्यरातमा प्रहरीको छापा: गोदामबाट झण्डै २५ लाख बराबरको सामान बरामद

मेचीनगर।  झापाको मेचीनगर नगरपालिका–७ फोहोरमैला क्षेत्रबाट भन्सार छली गरी भण्डारण गरिएको कपडा तथा कस्मेटिक सामान प्रहरीले मध्यरातमा...
हात्तीको दाँत तस्करी मुद्दामा ऐतिहासिक सफलता : मुख्य अभियुक्तलाई ५ वर्ष कैद, ₹५० हजार जरिवाना

हात्तीको दाँत तस्करी मुद्दामा ऐतिहासिक सफलता : मुख्य अभियुक्तलाई ५ वर्ष कैद, ₹५० हजार जरिवाना

प्रशान्त आचार्य बागडोग्रा। संगठित वन्यजन्तु अपराधविरुद्धको लडाइँमा पश्चिम बंगाल वन विभागले ठूलो सफलता हासिल गरेको छ। हात्तीको दाँ...
शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

प्रविण अधिकारी मेचीनगर। झापाको मेचीनगर -६ साठी बिगाहामा रहेको अरुणोदय अङ्ग्रेजी बोर्डिङ स्कुलमा रहेको आवासगृह भित्रको एउटा कोठाम...
ne_NPNepali