Skip to main content

Purbi Garjan

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय छुट्टै दल दर्ता, झापाकी चञ्चला अध्यक्ष

काठमाडौँ – नेपालको निर्वाचन इतिहासमा पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय छुट्टै दल दर्ता गरेर चुनावमा होमिएको छ।

महिला, दृष्टिविहीन, अपाङ्गता भएका, फरक क्षमता भएका व्यक्तिहरूको सहभागितामा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय छुट्टै दल दर्ता गरेर चुनावमा होमिएको हो। यो पहिलो सहभागिता मात्र होइन, दशकौँदेखि राज्य–राजनीतिबाट वञ्चित गरिँदै आएको समुदायको कथा–व्यथा लिएर आएको ऐतिहासिक उपस्थिति पनि हो।

निर्वाचन आयोगमा पहिलो पटक तेस्रोलिंगी अध्यक्ष भएको समावेशी समाजवादी पार्टी दर्ता भएको छ। दल दर्ताको प्रमाण बुझेकै दिन समावेशी समाजवादी पार्टीले निर्वाचन प्रयोजनका लागि निवेदन दिएको छ।

यो दर्तासँगै नेपालको राजनीतिक इतिहासमा पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले आफूलाई “भोट बैङ्क” होइन, “अधिकार र प्रतिनिधित्वको दाबी” सहित स्वतन्त्र राजनीतिक शक्ति बनाउन थालेको सन्देश प्रस्ट रूपमा गएको छ।

कार्तिक २४ गते काठमाडौँमा राष्ट्रिय भेला गरेर तेस्रोलिंगी अधिकारकर्मी, लिड नेपालकी कार्यकारी निर्देशक समेत रहेकी तथा हाल मायाको पहिचान नेपालमा आबद्ध नुमा लिम्बु (चञ्चला)को अध्यक्षतामा गठन भएको २१ सदस्यीय समावेशी समाजवादी पार्टीले २७ कार्तिकमा दल दर्ताको निवेदन दिएको थियो।

उनी स्वयंले विद्यालयदेखि समाज, कार्यालयदेखि राजीनितिको गल्लीसम्म भोगेका गाली–गलौज, अपमान, पहिचान र नागरिकताको सङ्घर्षले यो दल गठनको प्रेरणा दिएको बताउँदै आएकी छन्।

नेपालमा पुरुष र महिला भन्दा भिन्न लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (समलिङ्गी, तेस्रोलिंगी, अन्तरलिंगी, दुईलिंगी) व्यक्तिको पहिचान स्थापित गराएका पहिलो संविधान सभा सदस्य सुनिल बाबु पन्तको पहलमा निर्वाचन आयोगमा दल दर्ता भएसँगै समावेशी समाजवादी पार्टी चुनावमा होमिएको हो। पन्तकै शब्दमा कागजमा लेखिएको पहिचान राजनीतिक प्रतिनिधित्वबिनै निरर्थक हुने भएकाले अब समुदायले आफ्नो आवाज आफैँ उठाउने समय आएको हो।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायबाट २०६४ पछिका चुनावमा एक जनाको पनि प्रतिनिधित्व सुनिश्चित हुन सकेको छैन। दोस्रो संविधान सभा चुनावमा नेकपा एमालेले पन्तको नेतृत्वमा पाँच जनालाई सांसदको उम्मेदवार सुनिश्चित गर्ने प्रतिबद्धता जनाए पनि उम्मेदवारी दर्तामा एक जनालाई पनि सहभागी गराएन। विद्यार्थी जीवनदेखि नै एमालेमा रहेका बद्री पुनलाई समेत टिकट दिइएन। त्यसबेला एमालेले प्रतिबद्धता कार्यान्वयन नगरेर धोका दिएको पन्त सुनाउँछन्।

“छुट्टै दल खोलेर चुनावमा जान पर्दैन, हामी छौँ नि भन्ने दलहरूले हामीलाई प्रयोग मात्रै गरे, भोट बैङ्कको रूपमा मात्रै हेरे,” पन्तको भनाइलाई पुष्टि गर्दै केन्द्रीय सदस्य तथा पहिलो मिस्टर गे हेण्डसम नेपाल विश्वराज अधिकारी पनि भन्छन्, “त्यसपछि नै समावेशी समाजवादी पार्टी गठन गरिएको हो।”

समुदायमा मात्र सीमित नरही समाजसँग हातेमालो गर्दै देशको विकास गर्न आफूहरू अघि सरेको अध्यक्ष चञ्चलाले बताइन्। उनले देशभरका लैङ्गिक अल्पसङ्ख्यकहरूलाई अब चुनावी प्रचारप्रसारमा होमिन आह्वान गरिन्। उनी भन्छिन्, “हामी प्रतिनिधित्व बेच्न होइन, अस्तित्व र पहिचान लिएर राष्ट्रिय राजनीतिमा उभिएका छौँ।”

प्रेस विज्ञप्ति

इतिहास रच्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, अपाङ्गता भएका नागरिक र मनोरञ्जन व्यवसायमा संलग्न महिलाहरूबाट नयाँ राजनीतिक यात्रा

नेपालको निर्वाचन इतिहासमा पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय, अपाङ्गता भएका नागरिक तथा मनोरञ्जन व्यवसायमा संलग्न महिलाहरूले किनाराबाट केन्द्रतिर कदम बढाउँदै राजनीतिक मैदानमा उभिने ऐतिहासिक निर्णय गरेका छौँ।

हामी नेपालका समान अधिकारयुक्त नागरिक हौँ—अरू सबैजस्तै हाम्रा पनि सपना छन्, देशलाई योगदान गर्ने इच्छा छ, र रूपान्तरणकारी परिवर्तन ल्याउने क्षमतामा पूर्ण विश्वास छ।

यस ऐतिहासिक यात्राको अग्रभागमा रहेकी छन्— तेस्रोलिंगी अधिकारकर्मी तथा लिड नेपालकी कार्यकारी निर्देशक नुमा लिम्बु (चञ्चला)

जसलाई राष्ट्रिय भेलाले सर्वसम्मत रूपमा समावेशी समाजवादी पार्टीको अध्यक्ष चयन गरेको हो। त्यसैगरी, पहिलो संविधानसभा सदस्य एवं लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अधिकारका अग्रणी अभियन्ता सुनिल बाबु पन्त यस दलको मूल प्रेरणा शक्ति, नीति तथा दृष्टिकोण निर्माणका मुख्य सूत्रधार रहँदै आएका छन्।
नेपालमा तेस्रोलिंगी, समलिङ्गी, अन्तरलिंगी तथा विविध पहिचानहरूको कानुनी मान्यता स्थापना गर्न निर्णायक नेतृत्व गरेका पन्तकै पहल, मार्गदर्शन र २० वर्षभन्दा बढीको अनुभवले यो दल दर्ता सम्भव भएको हो।

समावेशी समाजवादी पार्टीको दर्ता केवल अधिकारको प्रयोग मात्र होइन; यो दशकौँदेखि पितृसत्तात्मक राजनीति, संरचनागत बहिष्कार र सामाजिक बेवास्ताले थिचिएका समुदायहरूको नयाँ राजनीतिक उद्घोष हो।

हामी दल खोल्दैछौँ केवल अरूले नसमेटेको कारणले होइन, वा “हामीसँग पनि दर्ता गर्ने अधिकार छ” भनेर मात्र पनि होइन— हामीसँग देशलाई नयाँ दिशामा लैजाने दृष्टि, योजना र विकल्प छ।

हाम्रो राजनीतिक प्रवेशका आधारहरू

पितृसत्तात्मक राजनीति, विनाशकारी विकास मोडेल, इमानदारीको अभाव र पुरानै सोचले देशलाई आज जुन सङ्कटमा पुर्‍याएको छ—त्यसको व्यवहारिक विकल्प हामी प्रस्तुत गर्छौँ।

भ्रष्टाचार उन्मूलन, रोजगारी सिर्जना, वातावरण संरक्षण र सबैका लागि समावेशी राष्ट्र निर्माण हाम्रो मुख्य लक्ष्य हो।

हामी मानव–केन्द्रित मात्र होइन, सम्पूर्ण प्रकृति–केन्द्रित स्थायी विकास दर्शनमा विश्वास गर्छौँ।

चीन र भारतले पछ्याइरहेको, पितृसत्तात्मक पश्चिमी १७औँ शताब्दीको प्रकृति-विनाशकारी विकास मोडेललाई त्यागेर मानव र प्रकृतिको मेलमिलाप सुदृढ गर्ने नवीन ‘

‘नेपाली विकास दृष्टिकोण’ प्रस्ताव गर्छौँ।

हाम्रो राजनीति केवल प्रतिनिधित्व देखाउने अभ्यास होइन—हामी देशलाई राम्रो, न्यायपूर्ण र भविष्य–उन्मुख बनाउन आएका छौँ।

लोकतन्त्रको नयाँ दिशा

हामी प्रतिनिधिमूलक लोकतन्त्रबाट क्रमशः सहभागी लोकतन्त्रतर्फ लैजान चाहन्छौँ— जहाँ नागरिकहरू केवल भोट हाल्ने मात्र होइन, नीतिनिर्माण र कार्यक्रम कार्यान्वयनमा प्रत्यक्ष सहभागी हुनेछन्।

हामीलाई विश्वास छ—सहभागी लोकतन्त्र नै भ्रष्टाचार, दण्डहीनता र राजनीतिक दादागिरी अन्त्य गर्ने वास्तविक आधार हो।

हाम्रो प्रतिबद्धता

हामीलाई “भिन्न छौँ” भनेर मात्र भोट नदिनुहोस्।

हामी भिन्न परिणाम दिन सक्छौँ भनेर भोट दिनुहोस्।

हामी यहाँ परीक्षा दिन आएका छौँ— हाम्रो काम राम्रो भयो भने स्विकारिन, राम्रो भएन भने अस्वीकारिन पूर्ण रूपमा तयार छौँ।

पुरुष भएर मात्र नेता राम्रो हुँदैन; महिला भएर मात्र पनि हुँदैन; तेस्रोलिंगी भएर मात्र त झनै हुँदैन।

राम्रो राजनीतिका आधार—क्षमता, इमानदारी, दूरदृष्टि र उत्तरदायित्व हुन्। हामी यही मूल्य बोकेर अघि बढेका छौँ।

हाम्रो आह्वान

देशभरका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिक, अपाङ्गता भएका व्यक्तिहरू, मनोरञ्जन व्यवसायमा संलग्न महिलाहरू, युवा, किसान, मजदुर, बुद्धिजीवी तथा सबै सचेत नागरिकहरूलाई—निर्भीक रूपमा हाम्रो अभियानमा सहभागी हुनुहोस्।

हामीलाई प्रश्न, आलोचना र मार्गदर्शन गर्नुहोस्। र नयाँ नेपालको यात्रामा हातेमालो गरेर अघि बढ्नुहोस्।

यो केवल हाम्रो दलको यात्रा होइन—समावेशी, इमानदार, प्रकृति–मैत्री, न्यायपूर्ण र भविष्य–मुखी नेपालको सामूहिक यात्रा हो।

मिति: २०८२ मंसिर १४ गते

मनिन्द्र सिंह दनुवार

महासचिव

समावेशी समाजवादी पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हात्तीको दाँत तस्करी मुद्दामा ऐतिहासिक सफलता : मुख्य अभियुक्तलाई ५ वर्ष कैद, ₹५० हजार जरिवाना

हात्तीको दाँत तस्करी मुद्दामा ऐतिहासिक सफलता : मुख्य अभियुक्तलाई ५ वर्ष कैद, ₹५० हजार जरिवाना

प्रशान्त आचार्य बागडोग्रा। संगठित वन्यजन्तु अपराधविरुद्धको लडाइँमा पश्चिम बंगाल वन विभागले ठूलो सफलता हासिल गरेको छ। हात्तीको दाँ...
शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

प्रविण अधिकारी मेचीनगर। झापाको मेचीनगर -६ साठी बिगाहामा रहेको अरुणोदय अङ्ग्रेजी बोर्डिङ स्कुलमा रहेको आवासगृह भित्रको एउटा कोठाम...
शिक्षिका रहस्यमय मृत्यु प्रकरण: घटना स्थलमा दुईवटा चिठी भेटियो

शिक्षिका रहस्यमय मृत्यु प्रकरण: घटना स्थलमा दुईवटा चिठी भेटियो

प्रविण अधिकारी मेचीनगर । झापाको मेचीनगर नगरपालिका -६ साठी बिगाहामा रहेको अरुणोदय बोर्डिङ इङलिस स्कुलको भवनभित्र सोमबार सोही विद्...
भन्सार छलीको ३२ बोरा चिनी सहित दुईवटा सवारी सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा  नियन्त्रण

भन्सार छलीको ३२ बोरा चिनी सहित दुईवटा सवारी सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा नियन्त्रण

मेचीनगर। काँकडभिट्टा नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको ठूलो परिमाणको चिनीसहित दुईवटा सवारीसाधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिए...
ne_NPNepali