Skip to main content

Purbi Garjan

झापा गोल्डकप : भुटानलाई हराउँदै एपीएफ सेमिफाइनलमा

बिर्तामोड, माघ २८ । सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले हरि कार्कीको ह्याट्रिक मद्दतमा भुटानको रोयल थिम्पु कलेजलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । एकपक्षीय खेलमा एपिएफले खेल अवधिभर भुटानलाई दबाबमा राखेको थियो ।

खेलको छैटौँ मिनेटमै एपिएफले गोलको खाता खोल्यो । एपिएफका स्ट्राइकर प्रदिप लामाले करिब ३० यार्डबाट गरेको लङ रेञ्जर सटले जाली चुमेको थियो । एपिएफको लागि अर्काे गोल कप्तान हरि कार्कीको नाममा रह्यो । उनले खेलको १८ औँ मिनेटमा दिपेश धिमालले डिबक्समा मिलाइदिएको पासलाई गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

एपिएफका लागि तेस्रो गोल पनि कप्तान कार्कीकै नाममा रह्यो । २२ औँ मिनेटमा समिराज थोकरले गरेको प्रहार भुटानका गोलरक्षक टासी नोर्बुबाट रिबाउन्स भएको बललाई सदुपयोग गर्दै कार्कीले टिमको जित निश्चित गरेका थिए ।

खेलको ८३ औँ मिनेटमा गोल गर्दै एपिएफका कप्तान कार्कीले ह्याट्रिक पूरा गरे । भुटानका गोलकिपरबाट रिबाउन्स भएको बललाई डिबक्समा अनमार्क रहेका कार्कीले गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । योसँगै जारी प्रतियोगितामा हालसम्म ह्याट्रिक गर्ने कार्की एक्ला खेलाडी बनेका छन् ।

भुटानको लागि एक मात्र सान्त्वाना गोल पेनाल्टीबाट सम्भव भयो । खेलको ७९ औँ मिनेटमा किन्जाङ तेन्जिङ शेर्पालाई एपिएफका दिपेश धिमालले डिबक्समा फल गरेपछि भुटानले पेनाल्टी पाएको थियो । शेर्पाले नै पेनाल्टीमार्फत गोल गरेका थिए ।

खेलमा एपिएफले आक्रमक तथा भुटानले रक्षात्मक खेल प्रस्तुत गरेका थिए । एपिएफले खेलको ३ मिनेटमै विपक्षी पोष्टमा आक्रमण सुरु गरेको थियो । एपिएफका दिपेश धिमालले गरेको प्रहार भुटानका गोलकिपरले मुस्किलले जोगाएका थिए । १६ औँ मिनेटमा गोलकिपर बिट भइसकेको अवस्थामा समिराज थोकरले गरेको अर्काे प्रहार भुटानका डिफेन्डरले गोल लाइनबाट बचाए ।

सुरुको २२ मिनेटमै तीन गोल खाएको भुटानले खेलको २८ औँ मिनेटमा अग्रता कम गर्ने अवसर पाएको थियो । सोनाम यासेले गोलपोष्ट नजिकै पाएको बललाई सदुपयोग गर्न सकेनन् । त्यस्तै, ७८ औँ मिनेटमा जिग्मे सुल्ट्रिमको फ्रिकिक क्रस बारमा लागेर बाहिरिँदा भुटान स्कोर अन्तर घटाउन चुकेको थियो ।

खेलको प्लेयर अफ द म्याच विजेता टिम एपिएफका ह्याट्रिककर्ता हरि कार्की घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए । बिहीबारको अन्तिम क्वार्टर फाइनल खेल मछिन्द्र एफसी र  एन पेनाङ मलेसियाबीच हुनेछ ।

प्रतियोगितामा बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन टिकट लिएर खेल हेर्ने दर्शकमध्ये एकजनालाई एकथान टेलिभिजन उपलब्ध गराउँदै आएको छ ।

त्यस्तै, पहिलो दिनदेखि फाइनल खेलसम्म टिकट लिएका एकजना दर्शकलाई यामाहाको स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ ।

विधागततर्फ उत्कृष्ट कोच, हाई स्कोरर र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इक्यान झापाको अन्तरक्रिया कार्यक्रम सम्पन्न, विविध विषयमा छलफल

इक्यान झापाको अन्तरक्रिया कार्यक्रम सम्पन्न, विविध विषयमा छलफल

बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाको आयोजनामा झापाको बिर्तामोडमा एकदिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । ...
भान्सामा खाना पकाउँदै गरेकी महिलाको सर्पको टोकाइबाट मृत्यु

भान्सामा खाना पकाउँदै गरेकी महिलाको सर्पको टोकाइबाट मृत्यु

दमक, झापा। झापाको कमल गाउँपालिकामा सर्पदंशका कारण एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार कमल गाउँपालिका–३ बस्न...
बाहुण्डाँगी हात्ती समस्या : नेपाल–भारतका अधिकारीबीच समाधानका लागि छलफल

बाहुण्डाँगी हात्ती समस्या : नेपाल–भारतका अधिकारीबीच समाधानका लागि छलफल

प्रविण अधिकारी झापा । पछिल्लो समय पेचिलो बन्दै गएको बाहुण्डाँगी हात्ती समस्या र यसको दीर्घकालीन समाधानका लागि नेपाल–भारतका सम्बन्...
झापामा विप्लवको नाम जोडेर चन्दा आतंक मच्चाउनेलाई पार्टीद्वारा कारबाहीको चेतावनी

झापामा विप्लवको नाम जोडेर चन्दा आतंक मच्चाउनेलाई पार्टीद्वारा कारबाहीको चेतावनी

झापामा विप्लवको नाम जोडेर चन्दा आतंक : व्यवसायीहरुलाई पार्टीको नाममा चन्दा नदिन विज्ञप्ति जारी, चन्दा उठाउनेलाई कारबाही गरिने पार्...
ne_NPNepali