कपिलवस्तु – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पोलिटब्युरो बैठक कपिलवस्तुस्थित केन्द्रीय कार्यालयमा बिहीबार सुरू भएको छ। बैठक महासचिव विप्लव सीको अध्यक्षतामा प्रारम्भ भएको हो। बैठक प्रारम्भ गर्दै महासचिव विप्लवले राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन्। स्थायी समिति सदस्य अनिल सीका अनुसार महासचिवले प्रस्ताव प्रस्तुत गरेसँगै बैठक स्थगित भई शुक्रबार बिहान ८ बजे पुनः बस्ने भएको छ। उनका अनुसार शुक्रबारदेखि पोलिटब्युरो सदस्यहरूले प्रस्तावमाथि धारणा राख्ने प्रक्रिया सुरू गर्नेछन्। गम्भीर विषयमा विस्तृत छलफल हुने भएकाले बैठकलाई केही दिनसम्म निरन्तर सञ्चालन गर्ने केन्द्रीय कार्यालयको योजना रहेको पनि अनिल सीले जानकारी दिएका छन्।