मेचीनगर। मेचीनगर नगरपालिकाको पहलमा नगरभित्रका दुई वटा मुख्य सडक विश्व बैंकको सहयोगमा निर्माण हुनेभएपछी यतिबेला विशेषगरी सामाजिक सञ्जालमा राजनीतिक दलका नेताकार्यकर्ताको जुहारी चलेको छ।

दुई दिनअघि नेपाली काङ्ग्रेसका महामन्त्री एवम् यसै क्षेत्रका संघीय सांसद विश्वप्रकाश शर्माले ” मेचीनगरवासीका लागि खुसीको खबर” शिर्षकमा एउटा स्टाटस लेख्दै नगर भित्र मुख्य दुईवटा सडक निर्माण हुने बताएपछि उनका समर्थकहरु वास्तविकता बुझ्नतर्फ नलागी सोही स्टाटस कोड गर्दै विश्वप्रकाश शर्मालाई धन्यवाद व्यक्त गर्दै प्रचारप्रसारमा उत्रिए र विश्वप्रकास शर्माले पारिदिएको योजना सम्म भन्न भ्याए भने केहि अनलाइनले त शर्माको पहलमा सडक निर्माण हुँदै भनेर समाचार समेत लेख्न भ्याए। तिनै कार्यकर्ताका कारण यतिबेला शर्मा आलोचित भैरहेका छन्,।

विश्व बैंकको सहयोगमा मेचीनगर वडा नंं ९ र १० जोड्ने धुलाबारी मोडदेखि धुलाबारी बजार हुँदै थोप्लेबिरान सामुदायिक वन समूहको कार्यालयसम्मको ५ दशमलव ३ किलोमिटर र मेचीनगर ६ को काँकरभिट्टास्थीत भट्टराई चौकदेखि मेचीनगर ४ को बाहुनडाँगी बजारसम्मको ८ दशमलव ५ किलोमिटर बाटो निर्माण हुने भएपछि नगरवासीमा खुसियाली छाउनु स्वभाविक नै थियोे।

तर जब यो योजना कसले पार्यो भन्ने प्रसङ्ग सामाजिक सञ्जालमा चर्कियो तब यसको वास्तविकता बुझ्न हाम्रो टिम लागि पर्यो । हाम्रो समाचार अगावै मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले विज्ञप्ति नै जारी गरेर यो योजना नगरपालिकाको पहलमा भएको स्पस्ट पारिसकेपछि फेरि एमालेका नेताकार्यकर्ता काङ्ग्रेसी नेताकार्यकर्तालाई व्यंग्य गर्दै सामाजिक सञ्जाल तताइरहेका छन्, भने अर्कोतिर नेपाली काङ्ग्रेसका कार्यकर्ता अझै त्यसको डिफेन्समा उत्रिएका छन्,।

यसको वास्तविकता भने यस्तो छ। स्थानीय तह निर्वाचन २०७९ बैशाख ३० गते पश्चात गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा निर्वाचित जनप्रतिनिधिले कार्यपालिकाको बैठकको निर्णयबाट मेचीनगर भित्र शहिद मार्ग, सुर्योदय मार्ग र आम्दा झापा रिंगरोड छनौट गरेको थियो । अति नै आवश्यक रहेको उक्त मुख्य सडकको स्थानीय तहको हैसियतले मेचीनगर नगरपालिकाले सम्भाव्यता अध्ययनका लागि सम्झौता समेत गरेको थियो । फलस्वरुप दुई वटै सडकमा अहिले विश्व बैंकले रकम बिनियोजन गरि निर्माणको प्रक्रिया अगाडी बढाउने निर्णय गरेपछि राजनीतिक दलले आफु श्रेय लिन होडबाजी चलाइरहेका छन्, जुन दुखद कुरा हो। जुनकुरा नगरप्रमुखको सचिवालयले विज्ञप्तिमार्फत स्पस्ट पारिसकेको छ ।

सडक निर्माणका लागि विश्व बैंकले ७८ लाख अमेरिकी डलर अर्थात नेपाली रुपैया एक अर्ब ३ करोड सहयोग उपलब्ध गराउने भएको छ । यसै साता ठेक्का प्रक्रियामा जाने यी दुई सडक निर्माण निर्माणका लागि २०८२ असार ३१ सम्मको अवधी रहने बताइएको छ ।

विकास निर्माणका गतिविधि चाहे स्थानीय ,प्रदेश या संघीय सरकार जोसुकैले गरोस्, त्यसको खुलेर तारिफ गर्नुपर्छ। कुनै पनि दिगो विकास निर्माणका योजनाहरुलाई सवल र सहज ढंगले कार्य सम्पादन गर्नमा स्थानीय सरकारको मुख्य भुमिका हुने गर्दछ। तर हाम्रो गलत परिपाटी र आम उपभोक्ता र जनता हुनुभन्दा पहिले एकाध पार्टीको कार्यकर्ता भएर लागि पर्दै गर्दा र नेताकार्यकर्ताको फगत वाहा वाहाईमा नेतृत्व रमाउँदा धेरै विकासे योजनाहरु अलपत्र परेका कयौं उदाहरण मेचीनगर भित्रै देखिन्छन् ,।

तर, सस्तो लोकप्रियता लिने होडमा अलपत्र पर्ने विकासे योजनाहरुका बारेमा न नेतृत्वको ध्यान पुगेको छ न,त नेतृत्वको फेसबुक स्टाटसमा ताली बजाउने अन्धभक्त कार्यकर्ताहरुको नै पुगेको छ। पछिल्लो समय नगरपालिकाले सो सम्बन्धमा विज्ञप्ति जारी गरिसकेपछि देशकै शिर्ष नेतृत्वमा रहेका शर्माले आफ्नै मतदाताहरुबाट आलोचना खेपिरहेका छन्,। शर्मा निर्वाचित हुनु भन्दा अगावै नगरपालिकाले प्रक्रिया अगाडी बढाएको योजना अहिले शर्माले एकलौटी जस लिन खोजेको भन्दै आलोचना बढिरहेको छ। यस्ता विषयमा समयमै नेतृत्वको ध्यान नपुग्दा यसअघि झैँ यो गौरवको योजना अलपत्र नपार्न र मिलेर समयमै यो योजनाहरु अगाडि बढाउनुपर्ने देखिन्छ।

Facebook Comments Box