शाहस भट्ट
काठमाडौं
– नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले समाजवादी अभियानको रुपमा निर्वाचनलाई प्रयोग गर्ने नीति अघि सारिएको बताएका छन् ।मंगलबार नवौं केन्द्रीय समितिको पाँचौ पूर्ण बैठकका निर्णयहरु सार्वजनिक गर्दै विप्लवले पुरानो स्क्ुलिङलाई भत्काएर चुनावलाई समाजवादी अभियानका रुपमा प्रयोग गर्नुपर्ने बताएका हुन् ।

विप्लवले नेपालमा ६५ प्रतिशत जनताहरु समाजवादको पक्षमा रहेकाले कम्युनिस्ट, समाजवादी, देशभक्त शक्ति, लोकतन्त्रवादी र चार मित्रवर्ग र चार मित्र शक्ति अनि ६ मित्रसमुदाहरुलाई साथमा लिएर समाजवादी अभियानमा लाग्नु पर्ने बताए । उनले भने, ‘हाम्रो केन्द्रीय समितिको बैठकले ४ मित्रवर्ग, ४ मित्र शक्ती र ६ मित्रसमुदायको पहिचान गरि सहकार्यको अवधारणा अघि सारेको छ। यी शक्तिहरुलाई साथमा नलिएर एक्लै समाजवादमा पुग्न नसकिने पार्टीको विश्लेषण छ।’

उनले आफ्नो पार्टीले एकीकृत जनक्रान्तिलाई स्थापित गर्न क्रान्तिका सबै बाटोहरु खुल्ला गरि बिगतदेखि नै सफल प्रयोग गर्दै आएको जिकिर गरे । निर्वाचन बहिस्कारमा लाखौं जनताको सहभागी भए पनि पछि पार्टी र जनताको सम्बन्ध टुटेको स्मरण गर्दै विप्लवले चुनाव पहिस्कार मात्रै गरेर केही पनि हुने बताए । ‘जनताले बहिस्कार मात्र गरेर हुदैन एकपटक प्रयोग पनि गर्न सुझाव दिएका छन् । त्यही भएर हामी सम्पूर्ण कम्युनिस्ट, समाजवादी, देशभक्त क्रान्तिकारीहरुसँग एकता÷सहकार्यको नीति अघि सार्दै २०८४ को निर्वाचनमा सबैसँग सहकार्य गर्दै समाजवादका निम्ति समाजवादी अभियानको रुपमा प्रगोग गर्ने सोचमा पुगेका छौं’, उनले भने ।

निर्वाचन प्रयोग भन्ने बित्तिकै संसदीय भासमा फस्ने भन्ने नभएको बताउँदै विप्लवले निर्वाचन प्रयोग पनि एकीकृत जनक्रान्तिको निरन्तरता भएको जानकारी दिए । ‘यो हामीले भनेको ५ प्रयोग मध्यको अर्को प्रयोग हो । हामीले २० औं सताब्दीको प्रयोग र बिचारलाई मात्र सबथोक ठान्नु हुन्न २१औं सताब्दीको नयाँ दृष्टिकोणलाई ब्यवहारमा ल्याउनु पर्छ।’, उनले भने, ‘निर्वाचन प्रयोग क्रान्तिकै एउटा मोर्चा हो तर सबथोक होइन, नेपालमा नेपाली विशेषताको समाजवाद ल्याउन विभिन्न बाटोहरु छन् । संविधान संसोधन गरेर जान सकिन्छ त्यो भएन भने जनमत सङ्ग्रह, लाखौं जनसमुदायलाई लिएर सडकबाट स्थापित गर्न सकिन्छ । त्यसैको तयारीको एउटा रुप निर्वाचन प्रयोग हो।’

नेपाल अहिले भुराजनीति चपेटामा पिल्सिदै गएकाले देशमा गम्भीर संकट पैदा भएको बताए । उनले अहिले नेपालमा बल प्रयोग गरेरै भएपनि एमसीसी कार्यन्वयन गर्ने षड्यन्त्र भैरहेकाले त्यसको विरुद्ध सरकारलाई दवाब सिर्जना गरेर यसलाई नेपालको कानुनको दायरामा ल्याउनु पर्ने बाताए । उनले भने, ‘बिगतमा हाम्रो पार्टीले एमसीसीको बिरुद्ध निरन्तर आन्दोलन संघर्ष गर्यो । आन्दोलनमा सयौं युवाहरु घाइते भए । त्यसले एउटा खालको दवाब त सिर्जना गर्यो तर हाम्रो आन्दोलनप्रति लक्षित गर्दै गलत भास्य प्रयोग भयो । त्यसैले अहिले हाम्रो पार्टीले एमसीसी लगाएतका राष्ट्रघाती सम्झौताको बिरुद्ध कानुनी तवरले दवाब सिर्जना गर्ने निर्णय लिएको छ । यदी यताबाट सम्भव भने, हाम्रा कुरा सुनिएन भने, अर्को कठोर संघर्षको पाटो छ्दैछ।’

नेपालमा अहिले साम्राज्यवादले योजनावद्ध ढङ्गबाट कम्युनिस्टहरुलाई जनतालाई, समाजवादी विचारलाई हराउन नसकेपछि धर्म अगि सारेर जनतालाई भौतिकवादी र कम्युनिस्टहरुको बिरुद्ध साम्राज्यवाद लागेको आरोपसमेत लगाए । नेकपाका स्थायी समिति सदस्य तथा प्रचार विभाग इन्चार्ज अनिल सीले संचालन गरेको कार्यक्रमा नेकपाका स्थायी समिति सदस्य विषम सी, शिलु सी, रणवीर सी, सुशील सीको आतिथ्यता रहेको थियो भने पोलिट ब्युरो सदस्यहरु कृति सी, माइला सी, आस्था सी  लगायत युप्रै केन्द्रीय सदस्य तथा प्रतिनिधि समिति सदस्यहरुको आतिथ्यता रहेको थियो।  

Facebook Comments Box